Trending
Prev Story
Next Story

प्रधानमन्त्रीले प्रस्ताव गरेको त्रिदेशीय संयन्त्र गठनमा भएन ठोस प्रगति

Ekantipur •
October 31, 2026 • 04:31 PM
1
1 reads 0 reactions

परराष्ट्र र वातावरण मन्त्रालयले दुवै छिमेकीलाई पठाइने प्रस्तावमा गृहकार्य गरिरहेका छन् । बेइजिङले जलवायु तथ्यांक साझा गर्न खुला रहेको संकेत गरेको छ भने दिल्लीले क्षेत्रीय संयन्त्रमा सहमति जनाइसकेको छ ।

प्रधानमन्त्रीले प्रस्ताव गरेको त्रिदेशीय संयन्त्र गठनमा भएन ठोस प्रगति

परराष्ट्र र वातावरण मन्त्रालयले दुवै छिमेकीलाई पठाइने प्रस्तावमा गृहकार्य गरिरहेका छन् । बेइजिङले जलवायु तथ्यांक साझा गर्न खुला रहेको संकेत गरेको छ भने दिल्लीले क्षेत्रीय संयन्त्रमा सहमति जनाइसकेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनसहितको ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ (एचसीआरएम) स्थापना गर्ने प्रस्ताव गरेको एक महिना बितिसक्दा पनि यसमा कूटनीतिक रूपमा ठोस प्रगति भएको छैन । दुई मन्त्रालयले अवधारणापत्रमा काम गरिरहेको भए पनि भने नेपालका तर्फबाट दुवै छिमेकीलाई औपचारिक प्रस्तावसमेत पठाइएको छैन ।

परराष्ट्र मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले अवधारणाको मस्यौदा तयारीका लागि सम्बन्धित निकायसँग परामर्श गरिरहे पनि यो अझै तयारीको चरणभन्दा अघि बढेको छैन ।

८ असोजमा न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले त्रिदेशीय संयन्त्रको प्रस्ताव गरेका थिए । प्रस्तावले सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाए पनि भारत र चीनबीचको अस्थिर र अनिश्चित सम्बन्धका कारण त्यसलाई सतर्कतापूर्वक हेरिएको थियो । नेपालको भने दुई छिमेकीसँग तुलनात्मक रूपमा कम द्विपक्षीय समस्या छन् ।

यो प्रस्ताव १० भदौको विनाशकारी भोटेकोशी बाढीपछि आएको हो । बाढीमा १ हजार ५ सय ५० जनाको मृत्यु भएको थियो र ५ हजार ५ सयभन्दा बढी अझै बेपत्ता छन् । सरकारका अनुसार बाढीले ४.७ अर्ब डलरभन्दा बढीको क्षति भएको छ ।

प्रधानमन्त्री शाहले एचसीआरएमको आवश्यकता औंल्याउने क्रममा हिन्दुकुश हिमालय क्षेत्रमा करिब दुई अर्ब मानिस बसोबास गर्ने उल्लेख गर्दै यी पर्वतकहरूले नेपालभन्दा धेरैपरसम्म रहेका जनसंख्यालाई पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जन प्रदान गर्ने जनाए ।

‘हिमालय पृथ्वीको छेउमा रहेको भूभाग मात्र होइन, यो पृथ्वीको जीवन–सहयोग प्रणालीको महत्त्वपूर्ण हिस्सा पनि हो । त्यसैले पहिलो आकस्मिक कदमका रूपमा नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्न हामी प्रस्ताव गर्छौं । यस संयन्त्रमार्फत हामी भू–उपग्रहसम्बन्धी तथ्यांक र विशेषज्ञता साझा गरौं । जोखिमयुक्त हिमतालहरूको अनुगमन गरौं । संयुक्त पूर्वसूचना प्रणालीलाई सुदृढ बनाऔं’ शाहको भनाइ थियो ।

उनले विपद्का बेला सीमापार सहयोगका लागि समन्वय गर्न र हिमालयलाई छरिएका सूचनाभन्दा अन्तर्राष्ट्रिय सहयोगको प्रयोगशाला बनाउन आह्वान गरे ।

शाहले महासभामा औपचारिक रूपमा उक्त प्रस्ताव राखेको करिब एक महिना बित्दा पनि त्यसमा ठोस प्रगति भएको छैन ।

परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार कृषि, वन तथा वातावरण मन्त्रालयले अवधारणापत्र तयार गरिरहेको छ र संयन्त्र कसरी स्थापना गर्ने भन्ने विषयमा सम्बन्धित निकायसँग परामर्श गर्दै छ ।

‘यसै साता परराष्ट्र मन्त्रालयबाट पत्र आएको छ । विभिन्न निकायसँग परामर्श गरेर उहाँहरूलाई जानकारी गराउनेछौं,’ वातावरण मन्त्रालयका एक सहसचिवले भने, ‘प्रधानमन्त्रीले न्युयोर्कमा गरेको वक्तव्यलाई उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले अवधारणापत्र तयार गर्न मन्त्रालयलाई छ ।’

वातावरण मन्त्रालयलाई संयन्त्र स्थापनाको प्रस्ताव तयार गर्न र प्राविधिक सुझाव लिन भनिएको छ ।

नेपालको प्रस्तावबारे नयाँदिल्लीले औपचारिक प्रतिक्रिया जनाएको छैन । तर भारतीय संस्थापनको सोचसँग परिचित दुई पूर्वभारतीय कूटनीतिज्ञका अनुसार विशेषगरी पूर्वसूचना प्रणालीमा केन्द्रित संयन्त्र स्थापना गर्ने विषयमा दिल्लीसमेत सकारात्मक छ ।

यद्यपि नेपालले संयन्त्र स्थापनाको विस्तृत प्रस्तावसहित दिल्ली वा बेइजिङ कसैलाई पनि औपचारिक रूपमा सम्पर्क गरेको छैन ।

‘प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ महासभाको सम्बोधनअघि यस विषयमा भारत र चीनसँग छलफल भएको थियो कि थिएन, हामीलाई थाहा छैन । प्रधानमन्त्री शाहको आगामी भारत भ्रमणका बेला यो विषय उठ्न सक्छ,’ काठमाडौंका लागि एक पूर्वभारतीय राजदूतले भने ।

काठमाडौंबाट आधिकारिक प्रस्ताव नगएसम्म छिमेकीले औपचारिक प्रतिक्रिया दिने अपेक्षा गर्न नसकिने एक नेपाली कूटनीतिज्ञले बताए ।

‘प्रधानमन्त्रीले यो प्रस्ताव संयुक्त राष्ट्रसंघ महासभा जस्तो बहुपक्षीय मञ्चमा आफ्नो वक्तव्यका क्रममा राख्नुभएको हो । त्यही वक्तव्यका आधारमा नेपालले दिल्ली र बेइजिङ दुवैलाई औपचारिक रूपमा पत्र लेखेर प्रस्तावित संयन्त्रको औचित्य, उद्देश्य र अन्य विवरण स्पष्ट पार्नुपर्छ,’ ती कूटनीतिज्ञले भने, ‘अनि मात्र हामीले आधिकारिक प्रतिक्रिया पाउन सक्छौं । औपचारिक प्रस्ताव नै नबुझाई हामी उनीहरूको टिप्पणी र प्रतिक्रिया कसरी माग्न सक्छौं ?’

यता, चीनले जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा सहकार्य गर्ने सामान्य इच्छा व्यक्त गरे पनि प्रस्तावित त्रिपक्षीय संयन्त्रलाई स्पष्ट रूपमा समर्थन गरेको छैन ।

‘जलवायु परिवर्तन सम्पूर्ण मानवजातिकै साझा चुनौती हो । यस्ता जोखिमबाट कुनै पनि मुलुक अछुतो रहन सक्दैन,’ १७ भदौमा बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने, ‘चीनले जलवायु परिवर्तनको नकारात्मक प्रभाव रोक्न र न्यून गर्न अन्तर्राष्ट्रिय समुदायसँग आदानप्रदान र सहकार्य सुदृढ गर्न निरन्तर काम गर्नेछ ।’

पूर्वमुख्य सचिव तथा परराष्ट्र सचिव शंकरदास बैरागीले प्रस्तावित संयन्त्रको सञ्चालन ढाँचा, संरचना, उद्देश्य वा अन्य व्यावहारिक विवरणबारे आफूलाई थोरै मात्र थाहा रहेको बताए ।

‘अब हामीले कस्तो संयन्त्र स्थापना गर्ने भन्ने कुरा निर्धारण गर्ने दायित्व हाम्रै काँधमा छ । त्यहीअनुसार हामीले भारत र चीनलाई प्रस्ताव पठाउनुपर्छ । तर यस सम्बन्धमा अन्तर–निकाय समन्वय र सहकार्य खासै भएको मलाई लाग्दैन,’ बैरागीले भने, ‘यो विषय पानीको पहुँच, जीवन र जीविकोपार्जनसँग जोडिएको छ ।’

बैरागीले यो संयन्त्रको दायरामा तिब्बत पर्ने हुनाले यसले भूराजनीतिक बहस निम्त्याउन सक्नेतर्फ पनि सतर्क गराए । चीनले तिब्बतलाई संवेदनशील क्षेत्र मान्छ र भूगर्भीय अध्ययन गर्ने विदेशी वैज्ञानिक, अनुसन्धानकर्ता र विशेषज्ञ प्रवेशलाई निषेध गर्दै आएको छ ।

बिमस्टेक हिमाली विज्ञान परिषद् स्थापना गर्न दिल्लीले पहिले नै सहमति जनाइसकेकाले संयन्त्रको प्रस्तावलाई भारतले स्वीकार्न सक्ने बैरागीले बताए ।

सन् २०१७ मा हिमालय क्षेत्रको पारिस्थितिक तथा वातावरणीय क्षयीकरणको सुरक्षा प्रभावसम्बन्धी बिमस्टेक विशेषज्ञ समूहको बैठकले हिमालय क्षेत्रको पारिस्थितिक प्रणालीको व्यापक अध्ययन गर्न र सदस्य राष्ट्रका संस्थाहरूबीच वैज्ञानिक सहकार्य गर्न उक्त परिषद् स्थापना गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकले अवधारणापत्र र कार्ययोजना तयार गर्न बिमस्टेक विशेषज्ञ समूह गठन गर्ने निर्णय पनि गरेको थियो । त्यसपछि विशेषज्ञहरू सन् २०२१ र २०२३ मा भेला भए, तर परिषद् अझै संस्थागत हुन सकेको छैन ।

वातावरण मन्त्रालयका एक अधिकारीका अनुसार अन्य विषयमा मतभेद भए पनि भारत र चीनले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका विषयमा भने समान धारणा बनाउँदै आएका छन् । नेपालको प्रस्ताव गरेको संयन्त्रले थप सहकार्यको अवसर दिन सक्ने ती अधिकारीले बताए ।

द इन्डियन एक्स्प्रेस लगायतका भारतीय सञ्चारमाध्यमले नेपालको प्रस्तावलाई भारतको क्षेत्रीय जलवायु कूटनीतिसँग जोडेर हेरेका छन् । भारतसँग चीनसँग जलविज्ञानसम्बन्धी सूचना साझा गर्ने र नेपाललाई विपद् राहत उपलब्ध गराउने अनुभव छ । तर नदीको रियल टाइम बहाव तथ्यांक, उपग्रह तस्बिर र हिमनदी अनुगमनसम्बन्धी जानकारी साझा गर्दा, विशेषगरी भारत र चीनबीचको नसुल्झिएको सीमा तनावका बीच, रणनीतिक तथा राष्ट्रिय सुरक्षासम्बन्धी चासो सतह आउने सम्भावना छ ।

चिनियाँ विदेश मन्त्रालयले १७ भदौमा जारी गरेको वक्तव्यमा भोटेकोशी विपद्पछि बेइजिङले नेपाललाई उपग्रह तस्बिर, जलविज्ञानसम्बन्धी सूचना र पूर्वचेतावनी जानकारी उपलब्ध गराएको उल्लेख थियो । विपद् रोकथाम तथा न्यूनीकरणमा नेपालसँग सहकार्य जारी राख्न इच्छुक रहेको पनि मन्त्रालयको भनाइ थियो । वक्तव्यले नेपालसँगको द्विपक्षीय विपद् सहकार्यप्रति चीनको समर्थन देखाए पनि प्रस्तावित त्रिदेशीय संयन्त्रलाई औपचारिक रूपमा स्वीकार गरेको भने मान्न सकिँदैन ।

एक जलवायु परिवर्तन विज्ञका अनुसार यो संयन्त्रका लागि वित्तीय स्रोत, तथ्यांक साझेदारी, वैज्ञानिक अनुगमन र आपत्कालीन समन्वयको स्पष्ट ढाँचा आवश्यक पर्नेछ । साझा नदी र हिमनदीसम्बन्धी सूचनाको पहुँचका लागि विद्यमान भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्नुपर्ने हुन्छ ।

परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले वातावरण मन्त्रालयले सम्बन्धित सरोकारवालासँग परामर्श गरी प्रस्ताव तयार गरिरहेको बताए । ‘केही आन्तरिक छलफल भइसकेका छन् । वन तथा वातावरण मन्त्रालयले नेतृत्व लिएको छ । प्रस्ताव तयार भएपछि विचार र सहमतिका लागि दुवै छिमेकीलाई पठाइनेछ,’ ती अधिकारीले भने ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
11h ago
हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाउन नेपालले माग्यो चीनको साथ

हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाउन नेपालले माग्यो चीनको साथ

काठमाडौं । हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट बढ्दै गएको जोखिम न्यूनीकरणका लागि नेपालले चीनसँग क्षेत्रीय सहकार्यको प्रस्ताव गरेको छ। नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्...

#जलवायु #संयन्त्र
Compare →
Nagarik News
11h ago
हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चीनको सहयोग अपेक्षा

हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चीनको सहयोग अपेक्षा

बिहीबार चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युसँग भएको द्विपक्षीय भेटवार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव प्रस्तुत गरेकी हुन्।

#जलवायु #संयन्त्र
Compare →

Related Stories

Politics & Governance
Build #2612