Trending
Prev Story
Next Story

सरायको लयमा पहाड-तराई : शक्तिपीठहरूमा सांस्कृतिक उत्सव

Ekantipur •
October 22, 2026 • 12:20 PM
1
1 reads 0 reactions

दसैंको टीकाको भोलिपल्टदेखि पूर्णिमासम्म सराय नाचिन्छ । खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी सराय नाच्ने परम्परा छ ।

सरायको लयमा पहाड-तराई : शक्तिपीठहरूमा सांस्कृतिक उत्सव

दसैंको टीकाको भोलिपल्टदेखि पूर्णिमासम्म सराय नाचिन्छ । खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी सराय नाच्ने परम्परा छ ।

बुटवल — लुम्बिनी प्रदेशका पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, प्यूठान र पाल्पाका विभिन्न कोटघर र देवीका शक्तिपीठहरूमा हतियार जुधाएर नाच्ने सराय नाच सुरु भएको छ । यस क्षेत्रका ऐतिहासिक कोटघर, दुर्गा र कालिका मन्दिरहरूमा दसैँसँगै सराय नाचको विशेष महत्त्व छ ।

दसैँको टीकाको भोलिपल्टदेखि पूर्णिमासम्म सराय नाचिन्छ । खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी सराय नाच्ने परम्परा छ ।

यस क्षेत्रकै संस्कृतिविद् अर्घाखाँचीका राजेन्द्रप्रसाद आचार्यका अनुसार राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सवस्वरूप कोट र मन्दिरहरूमा हतियार प्रदर्शनसहित सराय नाच्न थालेका थिए । त्यतिबेलादेखि नै संस्कृति र परम्पराका रूपमा शक्तिपीठ र कोटहरूमा सराय नाच्ने गरिएको उनले बताए । ‘तर, अहिले युवा पुस्तामा यसको चासो अलि कम देखिएको छ,’ उनले भने, ‘संस्कृतिको जगेर्ना गर्नु जरुरी छ ।’ सराय नाचको छुट्टै महत्त्व र विजयोत्सवको इतिहास रहेको उनले बताए ।

आचार्यका अनुसार अर्घाखाँचीको ढुङ्गेचौरकोटमा त्रयोदशीका दिन, उलुक छत्र र अर्घातोस कोटमा दसैँका दिन, बाइगाउँ र काम्लेचौरकोटमा द्वादशीका दिन, गुल्मीको उनायाचौरकोटमा चतुर्दशीका दिन तथा भण्डारथुम, धुर्कोट, चन्द्रकोट, इश्माकोट, मुसिकोट, अर्जै, अमरपुर, नयाँगाउँ, धागिथुम र जोगीथुमकोटमा पूर्णिमाका दिन सराय नाचिन्छ ।

त्यस्तै, प्यूठानको बिजुवारस्थित डल्लेमा भने तिहारपछिको पञ्चमीका दिन सराय नाच्ने परम्परा छ । प्यूठानको बिजुलीकोट, ओखरकोट, भित्रीकोटलगायतका क्षेत्रमा र विजुवारमा डल्ले सराय तिहारसम्म खेलिन्छ । पाल्पामा मुझुङकोट, ख्याहा, गोखुङ्गा, रैनादेवी, कुसुमखोला, बल्ड्याङगढी क्षेत्र, रम्भादेवी र माथागढीमा सराय नाचिन्छ । बागलुङ, पर्वत र स्याङ्जामा पनि सराय नाच्ने चलन थियो । तर, अहिले हराउँदै गएको आचार्यले बताए ।

गुल्मीको चन्द्रकोट मन्दिरमा बाइसे र चौबिसे राजाको समयदेखि दसैँको कोजाग्रत पूर्णिमाका दिन सराय नाच्दै दसैँलाई बिदा गर्ने परम्परा छ । अहिले पनि सराय नाच्ने दिनलाई विशेष महत्त्वका साथ हेरिने चन्द्रकोट मन्दिर व्यवस्थापन समितिका संरक्षक ८० वर्षीय यमबहादुर थापाले बताए । ‘पहिलाका राजाहरूले युद्ध मन पराउने भएकाले त्यसको अभिनय गरी दसैँ बिदाइका बेला राजालाई देखाउने गरी नाच सुरु भएको किंवदन्ती छ,’ उनले भने, ‘त्यसैले यसमा पनि पहिले लडाइँ वा युद्धमा प्रयोग हुने घरेलु हतियारको प्रयोग गरिन्छ ।’ सराय हेर्दा रमाइलो र हतियार नचाउँदा डरलाग्दो हुन्छ ।

गुल्मीका मुसिकोट, इश्माकोट, धुर्कोट, पुर्कोट, चन्द्रकोट, मानकोट, छत्रकोट, अर्जैकोटलगायत स्थानको नामकरणसँगै सराय नाचको महत्त्व जोडिएको उनले बताए ।

जिल्ला र स्थानअनुसार सराय फरक तरिकाले नाच्ने गरिन्छ । तम्घासका मठमन्दिरहरूमा पञ्चेबाजाको तालमा नाच्ने गरिन्छ भने कोटहरूमा हतियार जुधाएर नाचिन्छ । पशुबलि दिएपछि टाउको हातमा लिएर ‘वाख्यै हा’ भन्दै नाच्दै घटस्थापनाका दिन घरघरमा राखेको जमरा र दसैँको टीका खोला र पोखरीमा बगाएर विसर्जन गरिन्छ । ‘अहिलेका युवामा सरायको भाका र शब्दको ज्ञानै छैन,’ इश्मारजस्थलका ७४ वर्षीय नुरदेव पैंयानीले भने, ‘बुढापाकाले सक्दैनन्, युवाले गर्दैनन्, अब सरायको इतिहास हराउँदै जान थालेको छ ।’ कतिपय कोटमा भजनकीर्तन गर्दै सराय नाच्ने चलन छ ।

गुल्मीसँगै छिमेकी जिल्ला अर्घाखाँचीका पूर्वी क्षेत्रका कोटहरू, अर्घा र भण्डारथुममा हुने सराय नाच यस क्षेत्रकै प्रख्यात सराय नाच हो । पूर्णिमाका दिन अर्घा र भण्डारथुममा सराय नाच्नेहरूको ठूलो मेला नै लाग्ने गर्छ । त्यस्तै, अहिले गुल्मी, अर्घाखाँची लगायतका जिल्लाबाट बसाइँ सरेकाहरूले बुटवलमा पनि दसैँको टीका लगत्तै सराय नाच्ने गर्छन् ।

बुटवलमा क्षेत्री समाजले हरेक वर्ष सराय नाच्ने गरेको छ । त्यस्तै, सराय नाचको महत्त्व बुझाउन र त्यसको ऐतिहासिकता जोगाउन बुटवलमा पौवा होटलले पनि हरेक वर्ष सराय नाच प्रस्तुत गर्ने गरेको छ ।

पहिले पहाडी जिल्लामा मनाइने यो नाच अहिले तराईका जिल्लाहरूमा पनि सुरु भएको संस्कृति संरक्षण अभियन्ता विष्णुप्रसाद भण्डारीले बताए । ‘पहाडी जिल्लाहरूमा इतिहास बोकेको सराय नाच अहिले बसाइँसराइसँगै तराईमा पनि झरेको छ,’ उनले भने, ‘अहिले पहाडकै शैलीमा सबै विधि पूरा गरेर तराईमा पनि सराय नाच्न सुरु गरिएको छ ।’

पृथ्वीनारायण शाहको पालामा पाल्पा, गुल्मी, अर्घाखाँची र प्यूठानमा भुरेटाकुरे राजाहरू थिए । ती जिल्लालाई ऐतिहासिक र सांस्कृतिक राज्यका रूपमा लिने गरिन्थ्यो । त्यतिबेला पनि राजाहरूलाई शक्तिपीठ, कोट र मन्दिरमा विजयादशमीका बेला सराय नाच देखाउने चलन थियो । दैत्य र दानवहरूमाथि देवीदेवताले विजय हासिल गरेपछि त्यही खुसीमा युद्धमा प्रयोग भएका हतियारसहित नाचगान सुरु भएको किंवदन्ती रहेको अभियन्ता भण्डारीले बताए ।

सप्तमीका दिन फूलपाती भित्र्याएपछि मन्दिर वा कोटमा आलम (भगवानको प्रतिमा) निकाल्ने गरिन्छ । विभिन्न रङ्गीचङ्गी ध्वजापताकाले सिंगारिएको आलमलाई भगवान्को प्रतीकका रूपमा मन्दिरबाहिर सजाएर राखेपछि दैनिक पूजापाठ हुन्छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
राक्षस वधको खुसीयालीमा बर्सेनि नाचिन्छ ‘डल्ले सराय’

राक्षस वधको खुसीयालीमा बर्सेनि नाचिन्छ ‘डल्ले सराय’

२६ कात्तिक, प्युठान । ढोल–मादलको तालमा तरबार उचाल्दै गाउँलेहरू ‘वाख्यै... वाख्यै...’ भन्दै नाचिरहेका थिए । कसैको गलामा फूलको माला थियो, कसैको हातमा तरबार । भाइटीकाको भोलिपल्ट प्यूठान नगरपालिका–७, पुण्यखोलामा देखिएको यो दृश्य पुस्तौँ पुरानो ‘डल्ले सराय …

#सराय
Compare →
Hamro Patro News
1d ago
प्रधानमन्त्री कार्यालयमा पुलिस चौकी चलाउने ?

प्रधानमन्त्री कार्यालयमा पुलिस चौकी चलाउने ?

४९३ नम्बरको लाइसेन्सवाहक भट्टराई विशेष गरी संवैधानिक विषयहरू, सार्वजनिक र उच्च महत्वका मुद्दाहरू उठाउनेमा पर्छन् । सन साइन ल फर्म एण्ड लिगल रिसर्च सेन्टरका सञ्चालक उनी नेपाल बार एसोसिएसनका पूर्वउपा...

#गरी #लयमा
Compare →
Nagarik News
14h ago
छठ : पहाड र मधेश जोड्ने सांस्कृतिक पुल, प्रकृति र मानवताको साझा उत्सव

छठ : पहाड र मधेश जोड्ने सांस्कृतिक पुल, प्रकृति र मानवताको साझा उत्सव

छठको घाटबाट उठ्ने उज्यालो यही साझा मानवीय मूल्यको उज्यालो बन्न सकोस्, जहाँ पहाड र मधेशबीच दूरी होइन, आत्मीयता बढोस्; भिन्नताबीच प्रतिस्पर्धा होइन, सहअस्तित्व फुलोस्।

#पहाड #उत्सव
Compare →

Related Stories

Technology
Build #2612