नेपालमा हुने खेल काठमाडौंका दुई मैदानमा विभाजन गरिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ६ वटा खेल हुनेछन् । माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ९ खेल सञ्चालन हुनेछन् ।
काठमाडौँ — नेपाल र बंगलादेशको संयुक्त आयोजनामा हुन लागेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२७ को औपचारिक खेल तालिका सार्वजनिक भएको छ । १७ दिनसम्म चल्ने यो टी–२० विश्वकपमा १६ टोलीले ४१ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
जसमा नेपालले १५ वटा खेल आयोजना गर्नेछ भने बंगलादेशले २६ खेल आयोजना गर्नेछ । नेपालमा हुने १५ वटा खेल काठमाडौंका दुई मैदानमा विभाजन गरिएको छ । कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ६ वटा खेल हुनेछन्, जसमा नेपालसहित समूह 'ए' का खेलहरू समावेश छन् । त्यस्तै, माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा समूह 'डी' का ९ वटा खेल सञ्चालन हुनेछन् ।
प्रतियोगितामा सहआयोजक नेपाल समूह 'ए' मा छ । यस समूहमा दुई पटकको साविक विजेता भारत, आयरल्यान्ड र वेस्ट इन्डिजजस्ता टोली रहेका छन् । नेपालले आफ्नो पहिलो खेल २२ जनवरी २०२७ मा आयरल्यान्डविरुद्ध बिहान साढे ९ बजे टियु मैदान कीर्तिपुरमा खेल्दै विश्वकपको सुरुआत गर्नेछ । त्यसपछि नेपालले २४ जनवरीमा साविक विजेता भारतसँग र २६ जनवरीमा वेस्ट इन्डिजसँग टियु मैदानमै सोही समयमा प्रतिस्पर्धा गर्नेछ ।
विश्वकपका १६ टोलीलाई चारवटा समूहमा विभाजन गरिएको छ । काठमाडौंमा खेलिने समूह 'ए' मा भारत, आयरल्यान्ड, वेस्ट इन्डिज र नेपाल रहेका छन् भने चट्टोग्राममा खेलिने समूह 'बी' मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान र सामोआ समावेश छन् । त्यस्तै, सिल्हेटमा हुने समूह 'सी' मा अस्ट्रेलिया, बंगलादेश, नाइजेरिया र युएई रहेका छन् भने मूलपानीमा खेलिने समूह 'डी' मा इङ्ल्यान्ड, श्रीलंका, अमेरिका र स्कटल्यान्ड परेका छन् । सुरक्षा र व्यवस्थापकीय सहजताका लागि परम्परागत प्रतिद्वन्द्वी भारत र पाकिस्तानलाई फरक–फरक समूहमा राखिएको छ ।
विश्वकपको उद्घाटन २१ जनवरी २०२७ मा हुनेछ । पहिलो दिन सिल्हेटमा बंगलादेश र युएई तथा अस्ट्रेलिया र नाइजेरिया भिड्नेछन् भने मूलपानीमा श्रीलंका र स्कटल्यान्ड तथा इङ्ल्यान्ड र अमेरिका आमनेसामने हुनेछन् ।
प्रत्येक समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सका शीर्ष दुई–दुई टोलीले ४ फेब्रुअरीमा बंगलादेशको चट्टोग्रामस्थित मतियुर रहमान क्रिकेट स्टेडियममा हुने सेमिफाइनलमा स्थान बनाउनेछन् । विश्वकपको फाइनल खेल ६ फेब्रुअरी २०२७ मा चट्टोग्राममै आयोजना हुनेछ ।
यस विश्वकपमा आयोजकका रूपमा नेपाल र बंगलादेशले सिधै प्रवेश पाएका हुन् भने सन् २०२५ को संस्करणका शीर्ष ९ टोली अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले सोझै स्थान बनाएका हुन् । बाँकी ५ टोली क्षेत्रीय छनोट प्रतियोगिताबाट आएका हुन् । जसमा अफ्रिकाबाट नाइजेरिया, इस्ट एसिया–प्यासिफिकबाट सामोआ, युरोपबाट स्कटल्यान्ड, एसियाबाट युएई र अमेरिका क्षेत्रबाट अमेरिका रहेका छन् ।
अभय बस्नेत कान्तिपुर टेलिभिजनकाे स्पाेर्ट्स ब्युराेमा कार्यरत छन् ।