समानान्तर महाधिवेशनको तयारीमा उत्रिएको कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले यसअघि वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरे पनि सबै ठाउँमा अझै हुन सकेको छैन ।
काठमाडौँ — समानान्तर महाधिवेशनको तयारीमा उत्रिएको कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आइतबार जिल्ला अधिवेशन गर्ने भएको छ । यसअघि वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरे पनि सबै ठाउँमा अझै हुन सकेको छैन ।
देउवा पक्षीय नेता दीपक कुइँकेलले आइतबार अधिकांश ठाउँमा जिल्ला अधिवेशन गर्ने तयारी भएको बताए । ‘क्षेत्र र वडाका बाँकी रहेका अधिवेशन पनि भोलि (आइतबार) सम्म सकिनेछ,’ उनले भने ।
जिल्ला अधिवेशनपछि देउवा पक्षले ४ मंसिरमा प्रदेश अधिवेशन गरेर २१–२३ मंसिरमा केन्द्रीय अधिवेशन गर्ने तालिका छ ।
खुलामञ्चमा नै केन्द्रीय महाधिवेशनका लागि देउवा पक्षले काठमाडौं महानगरपालिकासँग अनुरोध गर्दै पत्र पठाएको छ । यसअघि महानगरपालिकाले संस्थापनले गरेको महाधिवेशनमा फोहोर भएको भन्दै नदिने जनाएको थियो ।
‘भृकुटीमण्डपलाई विकल्प छ । तर, ८ हजार प्रतिनिधि अटाउने काठमाडौंमा कुनै पनि हल र स्थल नभएकाले खुलामञ्चमा नै उद्घाटन र बन्दसत्र गर्ने तयारी छ,’ कुइँकेलले भने,‘स्थान अनुमतिका लागि पत्र पठाइएको छ ।’