टससमेत हुन नसकेको खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक पाएका छन्, जबकि बिहीबार रातिदेखिको वर्षा जारी छ।
काठमाडौँ — नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबार लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल रद्द भएको छ । निर्धारित समयअनुसार दिउँसो १२:३० बजे सुरु हुनुपर्ने खेल टससमेत हुन नसकी रद्द भएको हो । बिहीबार रातिदेखि वर्षा निरन्तर भइरहेको छ ।
मैदान अझै पनि त्रिपालले ढाकिएका छन् । एनपीएल इतिहासमा पहिलो पटक वर्षाका कारण खेल हुन नसकेको हो । प्रतियोगितामा कुनै रिजर्भ डे नराखिएका कारण लुम्बिनी र चितवनले १–१ अंक पाएका छन् ।
लुम्बिनी र चितवन दुवैले पहिलो खेलमा विजय हात पारेका थिए । च्याम्पियन लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो भने चितवनले विराटनगरमाथि ८ रनको विजय हात पारेको थियो ।
साँझ ५ बजेदेखि विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच दोस्रो खेल पनि हुने सम्भावना कम रहेको छ । दोस्रो खेलको कटअफ टाइम ७:४१ रहेको छ ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।