शनिबार बिहान १० बजे जलाशयमा १ हजार ५ सय २७ दशमलव ७ सेन्टिमिटर पानी थियो भने डेढ घण्टामै १.१० मिटर पानीको सतह बढेको छ ।
हेटौंडा — मुलुककै ठूलो जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजनाको जलाधार क्षेत्रमा शनिबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ । कुलेखानी जलाशयमा साढे एक घण्टामा १.१० मिटर पानीको सतह बढेको छ।
शनिबार बिहान साढे ११ बजे कुलेखानी जलाशयमा १ हजार ५ सय २८ दशमलव ८ सेन्टिमिटर पानीको सतह पुगेको छ । बिहान १० बजे जलाशयमा १ हजार ५ सय २७ दशमलव ७० सेन्टिमिटर थियो।
'जलाधार क्षेत्रमा बिहान ९ बजेदेखि भारी वर्षा भएकाले जलाशयमा पानी संकलन हुने क्रम बढेको छ,' कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख प्रल्हाद राउतले भने, 'पानी पर्ने क्रम घट्दै गएको र दिउँसो २ बजेपछि पानी पर्ने क्रम रोकिने अनुमान गरिएकाले त्यति आत्तिहाल्नुपर्ने छैन।'
कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता छ । कुलेखानी भरिन अझै १.२० मिटर अर्थात् १२० सेन्टिमिटर बाँकी छ ।
नेपाल विद्युत् प्राधिकरणले जलाशयको सतह बढ्दै गएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन अनुरोधसहितको सूचना जारी गरेको छ। 'कुलेखानी भरिने अवस्था आए सुस्त गतिमा जलाशयको ढोका खोल्नेछौँ,' कुलेखानी प्रथमका एक प्राविधिकले भने ।
जलाशय भरिनुभन्दा अगाडि बाँध खोल्नुपर्ने अवस्था आउन सक्ने जोखिमलाई मध्यजनर गर्दै आयोजनाले साइरनको व्यवस्थासमेत गरेको छ। तल्लो तटीय भाग सिस्नेरी लगायतका क्षेत्रमा साइरन जडान गरिएको छ । जलाशयको बाँधमा पानीको सतह १ हजार ५ सय २९ मिटर पुगेपछि पहिलो साइरन बज्ने व्यवस्था छ ।
कुलेखानी जलाशयका सातवटा जलाधार क्षेत्रको क्षेत्रफल १ सय ६६ वर्ग किलोमिटर रहेको छ। जलाशयको पानी खपत गर्ने उद्देश्यले कुलेखानी जलविद्युत् आयोजनाका तीनवटै युनिट २४ सै घण्टा सञ्चालन गरिएको छ। तीनवटै युनिट २४ सै घण्टा सञ्चालन गर्दा करिब ४० देखि ५० सेन्टिमिटर पानी खपत हुने गर्छ। कुलेखानी प्रथमबाट ६० मेगावाट विद्युत् उत्पादन हुन्छ भने दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट गरी १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ।
कुलेखानी जलाधार क्षेत्रमा निरन्तर वर्षा भएसँगै सम्भावित जोखिम न्यूनीकरण गर्न पानी संकलन नगरी विद्युत् उत्पादन गरिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।