‘तेन्जिङ’को कथा हिमाल चढ्ने साहस र चुचुरोमा पुग्ने सफलतामा मात्र सीमित छैन । तेन्जिङको जीवन, सांस्कृतिक पहिचान, सामाजिक विभेद र कठिन परिस्थितिमा नेतृत्व गर्ने क्षमतालाई पनि चलचित्रले महत्त्वपूर्ण हिस्सा बनाएको छ ।
काठमाडौँ — सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सगरमाथाको चुचुरो चुमेको ऐतिहासिक घटनामा आधारित चलचित्र ‘तेन्जिङ’ले आरोहणको इतिहासलाई तेन्जिङकै दृष्टिकोणबाट प्रस्तुत गर्छ । अस्ट्रेलियाली निर्देशक जेनिफर पीडमले बनाएको यो चलचित्रको प्रिमियर टेलुराइड फिल्म फेस्टिभलमा भएको थियो । त्यसपछि टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको चलचित्र अक्टोबर ९ देखि केही हलमा र अक्टोबर १६ देखि एप्पल टीभीमा उपलब्ध छ ।
चलचित्रले हिमाली दृश्य, आरोहणका रोमाञ्चक क्षण र मुख्य पात्रको अभिनयका लागि प्रशंसा पाएको छ । यसअघि कान्तिपुरमा प्रकाशित समीक्षामा असिम छाबडाले तेन्जिङलाई हिलारीका सहयोगीका रूपमा मात्र नभई आफ्नै सपना र सङ्घर्ष बोकेका अनुभवी पर्वतारोहीका रूपमा प्रस्तुत गर्नु चलचित्रको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । उनका अनुसार, दुई फरक पृष्ठभूमिका आरोहीको साझेदारीलाई बुझ्दा सगरमाथा आरोहणको इतिहास थप रोचक बन्छ ।
‘तेन्जिङ’लाई अझ नजिकबाट बुझ्न चलचित्रका पाँच महत्त्वपूर्ण पक्षबारे यहाँ चर्चा गरिएको छ ।
करिब दुई घण्टा पाँच मिनेट लामो यो चलचित्र सन् १९५३ को बेलायती सगरमाथा आरोहण अभियानको पुनर्कथन हो । तर, यसको कथा हिमाल चढ्ने साहस र चुचुरोमा पुग्ने सफलतामा मात्र सीमित छैन । तेन्जिङको जीवन, सांस्कृतिक पहिचान, सामाजिक विभेद र व्यक्तिगत सङ्घर्षलाई पनि यसले समेटेको छ ।
बाल्यकालमा तिब्बतबाट नेपाल आएका तेन्जिङलाई उनका आमाबुबाले नेपालमै छाडेर गए । त्यसपछि उनी नेपालका शेर्पा समुदायबीच हुर्किए पनि समुदायले र्उनलाई सेपा सदस्यका रूपमा सहजै स्वीकारेनन् । तिब्बतबाट आएको र ‘भोटे’ भनेर चिनिने भएकै कारण उनले आफ्नै समुदायभित्र पनि बाहिरियाको व्यवहार भोग्नुपर्यो‘ । वयस्क भएपछि सगरमाथा आरोहणको सपना बोकेर दार्जिलिङ पुगेका तेन्जिङले त्यहाँ पनि आफ्नो पहिचानकै कारण अवरोध सामना गर्नुपर्छ । त्यसबेला आरोहण अभियानमा शेर्पा समुदायका मानिसलाई प्राथमिकता दिने सामाजिक मान्यताले उनलाई अवसरबाट वञ्चित गर्छ । यसरी सगरमाथाको चुचुरो चुम्नुअघि तेन्जिङले सामाजिक विभेद र पहिचानसँग जोडिएका अवरोधसँग सङ्घर्ष गर्नुपरेको कथा चलचित्रले प्रस्तुत गरेको छ ।
३. कठिन परिस्थितिमा नेतृत्वको परीक्षा
आरोहणका क्रममा तेन्जिङ केवल भरिया वा आरोहीका रूपमा मात्र देखिँदैनन् । उनी कठिन हिमाली भूगोलमा बाटो देखाउने र भरियाहरूको नेतृत्व गर्ने महत्त्वपूर्ण पात्र हुन् । आरोहणको यात्रा जति उचाइतर्फ बढ्दै जान्छ, हिउँले ढाकिएका जोखिमपूर्ण बाटा, असह्य चिसो र शारीरिक थकानले आरोही तथा भरियाहरूको धैर्यको परीक्षा लिन थाल्छन् । कतिपय अवस्थामा भरियाहरूले हिम्मत हारेर भारी फाल्दै फर्कन खोज्छन् । यस्तो कठिन परिस्थितिमा तेन्जिङले उनीहरूलाई सम्हाल्ने, मनोबल बढाउने र यात्रामा अघि बढ्न प्रेरित गर्ने प्रयास गर्छन् । यस क्रममा उनको नेतृत्व क्षमता र मानिसहरूलाई मनोवैज्ञानिक रूपमा सम्हाल्न सक्ने खुबी देखिन्छ । उनको नेतृत्व शारीरिक सामर्थ्य र हिमाली भूगोलको अनुभवमा मात्र सीमित छैन; आत्मानुशासन, मानसिक दृढता र आध्यात्मिक विश्वासले पनि उनलाई कठिन परिस्थितिसँग जुध्ने शक्ति दिन्छन् । यसरी चलचित्रले सगरमाथा आरोहणमा तेन्जिङको भूमिका चुचुरो चुम्ने आरोहीको मात्र नभई कठिन यात्रामा टोलीलाई एकजुट राख्ने नेतृत्वकर्ताको पनि रहेको देखाउँछ ।
४. दृश्य र अभिनय चलचित्रका बलिया पक्ष
चलचित्रका दृश्यले हिमाली भूगोलको सौन्दर्य र भयावहतालाई प्रभावकारी ढङ्गले प्रस्तुत गरेका छन् । विशाल हिमचट्टान, गहिरा खोँच, हिउँले ढाकिएका जोखिमपूर्ण बाटा र कुहिरोले घेरिएका चुचुराले आरोहणको कठिनाइलाई अनुभूत गराउँछन् । यी दृश्यले सगरमाथाको प्राकृतिक सौन्दर्यसँगै त्यहाँको कठोरता र जीवनमरणको जोखिमलाई पनि जीवन्त बनाएका छन् । ब्याकग्राउन्ड म्यूजिकले दृश्यको प्रभावलाई थप बलियो बनाउँदै आरोहणको तनाव र रोमाञ्चलाई निरन्तरता दिन्छन् ।
वयस्क तेन्जिङको भूमिकामा गेन्डेन फुन्त्सोकको अभिनय प्रशंसनीय छ । उनले तेन्जिङको अनुहारमा देखिने दृढता, आँखामा झल्किने सङ्कल्प र भित्री भावनात्मक सङ्घर्षलाई स्वाभाविक ढङ्गले प्रस्तुत गरेका छन् । उनको अभिनयले तेन्जिङलाई ऐतिहासिक नायकका रूपमा मात्र नभई डर, जिम्मेवारी र व्यक्तिगत सङ्घर्षसँग जुधिरहेको मानिसका रूपमा पनि बुझ्न सघाउँछ । त्यस्तै, एडमन्ड हिलारीको भूमिकामा टम हिडलस्टन र कर्नेल जोन हन्टको भूमिकामा विलेम डाफोले पनि आफ्ना पात्रलाई विश्वसनीय बनाएका छन् । उनीहरूको अभिनयले आरोहण अभियानभित्रका फरक स्वभाव, दृष्टिकोण र जिम्मेवारीलाई पर्दामा उतार्न मद्दत गरेको छ ।
५. तेन्जिङको जीवनका सबै पाटा समेट्न सकेको छैन
चलचित्रको एउटा सीमा यसको कथा मुख्यतः सन् १९५३ को आरोहण अभियानमा केन्द्रित हुनु हो । ‘तेन्जिङ’ शीर्षकले दर्शकमा उनको बाल्यकाल, पारिवारिक पृष्ठभूमि, आरोहणप्रतिको रुचि र सफलतासम्मको जीवनयात्रा हेर्ने अपेक्षा जगाउँछ । तर, चलचित्रले उनको प्रारम्भिक जीवनलाई छोटकरीमा समेट्दै मुख्यतः सगरमाथा आरोहणको घटनाक्रमलाई प्राथमिकता दिएको छ । यसले आरोहण अभियानको सङ्घर्ष र त्यसमा तेन्जिङको भूमिकालाई बुझ्न सघाए पनि उनको व्यक्तित्व निर्माणमा प्रभाव पार्ने अन्य अनुभवबारे पर्याप्त जानकारी दिँदैन । त्यसैले तेन्जिङको सम्पूर्ण जीवनगाथा बुझ्न चाहने दर्शकलाई चलचित्र अपूरो लाग्न सक्छ ।
तेन्जिङकी पत्नी दावा नोर्गेको चरित्र चित्रणमा पनि पटकथाले पर्याप्त ध्यान दिएको छैन । थिन्ले ल्हामोको अभिनय प्रभावशाली भए पनि उनको पात्रले कथामा अपेक्षित विस्तार पाउन सकेको छैन । चलचित्रमा दावा नोर्गेको मृत्यु छिट्टै देखाइन्छ, जसले उनको जीवन र तेन्जिङसँगको सम्बन्धलाई बुझ्ने अवसर सीमित बनाउँछ । दर्शकले तेन्जिङको साहस र आरोहणको सङ्घर्षसँगै उनको पारिवारिक जीवन, पत्नीको अनुभव र कठिन यात्राका बेला परिवारले भोग्नुपरेको अनिश्चितता पनि हेर्न चाहन्छन् । तर, कथाले यी पक्षलाई पर्याप्त ठाउँ दिएको छैन । तेन्जिङको जीवनमा परिवारको भूमिका र त्यससँग जोडिएका भावनात्मक पक्षलाई थप गहिराइमा प्रस्तुत गर्न सकेको भए चलचित्र अझ समृद्ध बन्ने थियो ।
यी सानातिना सीमितताका बाबजुद, ‘तेन्जिङ’ एउटा हेर्नलायक चलचित्र बनेको छ । सगरमाथा आरोहणको इतिहाससँगै त्यसका नायकको जीवन, सङ्घर्ष र मानवीय पक्ष बुझ्ने अवसर दिनु नै यो चलचित्रको सफलता हो ।
दया दुदराज कान्तिपुर मिडिया ग्रुपमा आबद्ध मिडिया रिपोर्टर हुन् । उनी मिडिया र सूचना प्रविधिबारे रिपोर्टिङ गर्छन् ।