विजयादशमीका दिन नवदुर्गा भवानीको प्रसादका रूपमा शिरमा लगाइने जमरा बिक्री भइरहेको छ। काष्ठमण्डप क्षेत्रमा बिहानैदेखि जमरा किन्ने र बेच्ने मानिसको भीड लागेको छ।
विजयादशमीका दिन नवदुर्गा भवानीको प्रसादका रूपमा शिरमा लगाइने जमरा बिक्री भइरहेको छ। काष्ठमण्डप क्षेत्रमा बिहानैदेखि जमरा किन्ने र बेच्ने मानिसको भीड लागेको छ। घटस्थापनाका दिन घरघरमा राखिने जमरा विभिन्न कारणले घरमा राख्न नपाएकाहरूले आज किन्ने गर्छन्। यहाँ प्रतिमुठा १०० देखि १५० रुपैयाँसम्ममा जमरा बिक्री भइरहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, आज बिहान ८ बजेर ४९ मिनेटमा विधिपूर्वक देवी विसर्जन गर्ने शुभ साइत रहेको छ। त्यसैगरी, टीका लगाउन बिहान १० बजेर २६ मिनेटको समय उत्तम साइतका रूपमा रहेको छ। टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने समितिले जनाएको छ।
घटस्थापनादेखि विधिपूर्वक स्थापना गरिएको जमरा र रातो टीका आज घरका मूल व्यक्ति तथा ज्येष्ठ सदस्यबाट लगाई आशीर्वाद लिने गरिन्छ। यस अवसरमा बन्धुबान्धवसँग बसेर भगवतीको प्रसाद ग्रहण गर्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार, विजयादशमीलाई देवी दुर्गाले महिषासुरमाथि र भगवान् श्रीरामले रावणमाथि विजय हासिल गरेको दिनका रूपमा मनाइन्छ। त्यसैले दसैँको टीका लगाउँदा जीवनमा सधैँ सत्य, धर्म र सदाचारको विजय होस् भन्ने धार्मिक भावना जोडिएको हुन्छ।
दसैँमा लगाइने रातो टीकालाई शक्ति, विजय, सौभाग्य र मङ्गलको प्रतीक मानिन्छ भने जमराले उर्वरता, जीवनशक्ति र समृद्धिको सङ्केत गर्दछ। यस दिन जलले अभिषेक गरी भगवतीलाई चढाइएको रातो तथा सेतो वस्त्र प्रसादका रूपमा घाँटीमा लगाउने परम्परासमेत रहेको छ।
दीपेश दर्शनधारी कान्तिपुरका फोटो पत्रकार हुन् ।