बडादसैंका अवसरमा विदेशी पर्यटकले नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैंको खुसी साटासाट गरे ।
म्याग्दी — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानी–पुनहिल भ्रमणमा आएका विदेशी पर्यटकहरुले पनि बुधबार टिका र जमरा लगाएर बडादसैं पर्व मनाएका छन् ।
बडादसैंका अवसरमा विदेशी पर्यटकले घोडेपानीस्थित होटल सन्नीमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैंको खुसी साटासाट गरेका हुन् । नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विशेष अनुभव लिँदै दसैं उनीहरुले मनाएका सन्नी होटलका सञ्चालक डमबहादुर पुनले जानकारी दिए ।
'घोडेपानी भ्रमणमा आएका पर्यटकका लागि पनि बडादसैंको टीका र जमरा लगाइदिएर नेपाली संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर दिलाएका छौँ,' उनले भने, 'पर्यटकमार्फत नेपालको संस्कार र संस्कृति विश्वभर फैलाउन मद्दत पुगेको छ ।'
घोडेपानी–पुनहिल विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य हो । घोडेपानीदेखि ४५ मिनेट उकालोमा पदयात्रा गरेपछि पुगिने पुनहिलबाट गुर्जा, पुथा, मानापाथी, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखखलाको दृश्य अवलोकन गर्न सकिन्छ ।
घोडेपानी समुन्द्रि सतहदेखि दुई हजार आठ सय र पुनहिल तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित छ ।