Trending
Prev Story
Next Story

गाउँमै छुटेको दसैं

Ekantipur •
October 17, 2026 • 12:28 PM
1
1 reads 0 reactions

दसैं विगततिर फर्किने एउटा बहाना हो । आफूले छाडेर आएको आँगन फेरि टेक्ने अवसर हो । बाल्यकालमा नांगा खुट्टा दौडिएका गोरेटोमा आफ्नै पाइला खोज्ने समय हो । र, वर्षौंअघि मनमा गढेका दृश्य र माटोको सुगन्ध फेरि महसुस गर्ने मौका पनि ।

गाउँमै छुटेको दसैं

दसैं विगततिर फर्किने एउटा बहाना हो । आफूले छाडेर आएको आँगन फेरि टेक्ने अवसर हो । बाल्यकालमा नांगा खुट्टा दौडिएका गोरेटोमा आफ्नै पाइला खोज्ने समय हो । र, वर्षौंअघि मनमा गढेका दृश्य र माटोको सुगन्ध फेरि महसुस गर्ने मौका पनि ।

काठमाडौँ — कोही हातमा झोला र पोका बोकेर गाडी खोजिरहेका छन् । कोही सामानको भारी उचाल्दै छन् । छतमा सामान मिलाउनेको हतारो, तल उभिएर झोला थमाउनेको चटारो र गाडीभित्र ठाउँ खोज्ने यात्रुको छटपटीले सडकमा बेग्लै दृश्य बनेको छ । कसैलाई सिट भेट्ने हतारो छ, कसैलाई छुट्न लागेको गाडी समात्ने ।

दसैं नजिकिँदै जाँदा काठमाडौंको अनुहार फेरिन थालेको छ । अब बिस्तारै काठमाडौंको भिड पातलिनेछ । सडक शान्त हुनेछन् र कोलाहलले थिचिएको सहरले केही दिन उन्मुक्तिको सास फेर्नेछ ।

तर, गाउँ फर्किनेहरूको लस्कर हेर्दा मलाई एउटा कुराले बारम्बार झस्काउँछ । सबैलाई घर पुर्‍याउने दसैंले मलाई भने यसपालि किन लैजान सकेन ?

गाउँ फर्किनेहरूका लागि दसैं चाड मात्र होइन । यो त विगततिर फर्किने एउटा बहाना हो । आफूले छाडेर आएको आँगन फेरि टेक्ने अवसर हो । बाल्यकालमा नांगा खुट्टा दौडिएका गोरेटोमा आफ्नै पाइला खोज्ने समय हो । वर्षौंअघि मनमा गढेका दृश्य र माटोको सुगन्ध फेरि महसुस गर्ने मौका हो ।

त्यसैले यात्रा सहज होस् वा नहोस्, गाडीमा सिट पाइयोस् वा नपाइयोस्, चाडको मौका छोपेर भाडा दोब्बर असुलियोस् वा नअसुलियोस्; घर पुग्ने हुटहुटीका अगाडि यी कुरा गौण बनिदिन्छन् । बाटोको सकस पनि घर पुग्ने उत्साहले बिर्साइदिन्छ । किनकि गन्तव्यमा घर मात्र हुँदैन । आफन्तले आँखा बिछ्याइरहेका हुन्छन् । दौंतरीले बाटो हेरिरहेका हुन्छन् । अनि आँगन परिचित पाइलाको आवाज सुन्ने प्रतीक्षामा बसिरहेको हुन्छ ।

चौतारीमा पुराना गफ गर्ने रहर बाँकी नै हुन्छ । बिर्सिइसकेको जस्तो लाग्ने गोरेटोले आफ्ना पाइला फेरि चिन्ने मौका पाउँछ । मानिस जहाँ पुगे पनि उसको बाल्यकाल भने गाउँमै छुटेको हुँदो रहेछ । त्यहीँबाट त ऊ पहिलोपटक संसार चिन्न सहर छिरेको थियो !

यतिबेला गाउँघरमा पनि दसैंको रङ चढिसकेको होला । बाटाघाटा र गोरेटो सफा गर्न युवा जुटेका होलान् । घरका भित्तामा कमेरो र रातोमाटो लगाइएको होला । कतै चुनाले घर सेताम्मे पारिएको होला, कतै पुराना झ्यालढोकामा इनामेलको नयाँ रङ पोतिएको होला । कतै रोटेपिङ बनाउने चटारो होला, कतै लिंगेपिङको लट्ठा कसिँदै होला । पिङको मच्चाइसँगै बालबालिकाको हाँसो चंगाझैं आकाशभरि फैलिएको होला । कतै तासको बुङ खुलिसकेको होला, कतै डाइस खेलिरहेका बालबालिकाको हल्लाले टोल गुञ्जिएको होला । वर्षभरिका दुःख र थकान केही दिनका लागि भए पनि हाँसो र रमाइलोमा बिर्सिइँदै होलान् ।

गाउँमा दसैंको आगमन पात्रोमा मात्र लेखिएको हुँदैन । घरको फेरिएको रूपरङ, आँगन बढार्दै गरेका हात र भान्साबाट निस्किने परिकारको बास्नामा पनि दसैं आइपुगेको हुन्छ ।

सहरको कुनै कुनामा बसेर दसैंको कल्पना गरिरहँदा मेरा आँखाअघि पनि यस्तै दृश्यहरू नाचिरहन्छन् । तर, यसपालि ती दृश्यहरू सम्झनामा मात्र छन् । म आफैं भने तिनको बीचमा छैन । यसपालि मेरो दसैं गाउँमै छुटेको छ ।

यही कुराले दसैंको रङ मेरा लागि अलिक फरक बनाइदिएको छ । अरू गाउँतिर लागिरहेका बेला मेरा सम्झना भने आफैतिर फर्किरहेका छन् । अरूले घर फर्किने टिकट खोजिरहँदा म मनभित्र पुराना दिनहरू पल्टाइरहेको छु । त्यहाँ दोकान टोल छ । डाँडागाउँ छ । साङरुम्बा-लप्सीबोटेका जीवन्त तस्बिर छन् । खेलमैदानमा फुटबल चलिरहँदा गुञ्जिने हुटिङ छ । डाइस खेल्नेको बेग्लै रौनक छ । पिङमा मच्चिँदाको रोमाञ्च छ । आफन्तसँग भेट्दाको खुसी छ । अनि, निधारमा टीका लगाइदिँदै शिरमा हात राख्ने ठूलाबडाको आशीर्वाद छ ।

दसैं आउनु भनेको खुसी आउनु थियो । नयाँ लुगा लगाउने रहर, पिङ खेल्ने उमंग, मिठोमसिनो खाने लोभ र टीका थाप्न आफन्तका घर जाने उत्साहले दिन गनिन्थ्यो । दसैं कहिले आउला भनेर पात्रो हेर्ने ती बालसुलभ आँखामा प्रतीक्षाको पनि आफ्नै मिठास थियो । दसैंको खुसी कुनै ठूलो कुरामा निर्भर थिएन ।

त्यसबेला मावल दसैंको ठूलो गन्तव्य हुन्थ्यो । लामो बाटो हिँड्नुपर्थ्यो । कहिले खुट्टा दुख्थे, कहिले थकाइ लाग्थ्यो । तर, बुबाआमाको पछि लागेर जाने उत्साहले ती असहजता बिर्साइदिन्थ्यो । अहिले सम्झँदा लाग्छ, हामीलाई गन्तव्यले मात्र तानेको थिएन । बाटोभरि बुबाआमासँगै हिँड्न पाउनु र मावल पुगेर आफन्त भेट्नुको खुसीले पनि तानेको थियो ।

समयसँगै दसैं मनाउने तरिका फेरिएका होलान् । गाउँका पुराना घरको ठाउँमा नयाँ घर बने होलान् । कतिपय गोरेटो सडकमा बदलिएका होलान् । पहिले पिङमा रमाउने बालबालिका अहिले आफ्नै छोराछोरी लिएर गाउँ फर्किंदै होलान् । तर, ती दिनका सम्झना भने अझै उस्तै छन् । बितेर गएका केही खुसी कति अमूल्य थिए भन्ने कुरा स्मृतिदंशले बिथोलेपछि थाहा हुने रहेछ ।

मानिसहरूको बाक्लो भिडमा पनि कहिलेकाहीँ एक्लो महसुस हुँदो रहेछ । वरिपरि अनुहार छन्, तर आफूले खोजिरहेका अनुहार हुँदैनन् । आवाजहरू धेरै सुनिन्छन्, तर मनले सुन्न चाहेका आवाज कतै छुटेजस्ता लाग्छन् ।

थाहा छैन, सहरको कुन लिसोले मलाई यसरी टाँसिराखेको छ ।

मानिस जहाँ पुगे पनि उसको मनको एउटा हिस्सा आफूले छाडेर आएको ठाउँमै बसिरहेको हुँदो रहेछ । समयले उसलाई नयाँ सहर, नयाँ काम र नयाँ जिम्मेवारीसँग जोड्दै लगे पनि आफूले बिताएका पुराना दिन कहाँ बिर्सन सकिन्छ र ! गाउँको सम्झना आउँदा घर मात्र याद आउँदैन । मान्छेलाई सबैभन्दा बढी खड्किने कुरा टाढा भएको ठाउँ मात्र होइन, त्यहाँ छुटेका आफ्ना मान्छेहरू पनि रहेछन् ।

घर सम्झिरहनुको कारण घर आफैं मात्र होइन रहेछ । घरलाई घर बनाउने मानिसहरू रहेछन् । गाउँलाई गाउँ बनाउने छरछिमेकी र आफन्त रहेछन् । अनि चाडपर्वको खुसी पनि अन्ततः आफ्ना मान्छेहरूसँगै हुन पाउनुमा रहेछ ।

फणीन्द्र संगम डेढ दशकभन्दा लामाे समयदेखि पत्रकारिता, लेखन र सम्पादनमा क्रियाशील छन् । ईकान्तिपुरमा कार्यरत उनी फिचर र साहित्य लेखनमा पनि रुचि राख्छन् ।

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612