'१२ गाउँ'ले एक्सन विधालाई एकपटक ब्युँताए पनि डेढ दशकयता रूपान्तरणको बाटोमा हिँडिरहेको नेपाली फिल्म क्षेत्रमा विराजचाहिँ कहिले ब्युँझने हुन्, त्यो भने हेर्न बाँकी छ ।
काठमाडौँ — दुई वर्षअघि विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ले नेपाली फिल्ममा एक्सन विधालाई पुनः ब्युँताइदिएको थियो । त्यसबाहेक पचास र साठीको दशकमा बन्ने नेपाली फिल्मका प्रवृत्तिहरूको पुनरावृत्ति गरेको थियो ।
त्यतिबेला अधिकांश नेपाली फिल्ममा हिरोइन बचाउन हिरोहरूको जादुमयी प्रवेश हुन्थ्यो । ‘१२ गाउँ’मा विराज भट्टले आफ्नो कमब्याकसँगै नयाँ पुस्ताका आफ्नै छोरा समीरलाई पदार्पण त गराए । तर कथाको प्रसंग केलाउँदा भने ‘नयाँ सिसीमा पुरानै रक्सी’ चरितार्थ भयो ।
हिरोइनलाई बचाउन हिरो प्रकट हुने कुरा सिक्वेलमा पनि दोहोरियो । हुन त यो एक्सन फिल्म हो । दृश्यमा ‘लार्जर द्यान लाइफ’ देखिरहँदा यथार्थवादी घटनाभन्दा पर बसेर फिल्मलाई हेर्नुपर्छ । यद्यपि फिल्म भाष्य निर्माण गर्न सघाउने बलियो माध्यम भएकाले पात्रहरूलाई कसरी प्रस्तुत गरिन्छ भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ ।
‘१२ गाउँ २’ले पनि अघिल्लो फिल्मझैं महिलाहरूलाई असाध्यै निरीह पात्रका रूपमा चित्रण गरेको छ । जबजब उनीहरू ठूलो दुःख र संकटमा फस्छन्, त्यहाँ हिरोको आवश्यकता पर्ने सोचबाट फिल्मका निर्देशक अझै बाहिर निस्कन सकेका छैनन् । फिल्म काल्पनिक कथामा आधारित भए पनि त्यहाँ समाज र सामाजिक चेतनाको ह्रस्वदीर्घ त मिल्नैपर्छ ।
अब प्रवेश गरौँ कथामा । फिल्मको प्रमुख सर्त भनेकै कथा हो । यदि कथा नै फिल्ममा गयल छ भने ? परिस्थितिवश भन्दा पनि नियोजित घटनाहरू थुपार्दैमा कथा बलियो हुने होइन ।
फिल्मको पहिलो भागमा एउटा गाउँ हुन्छ, जहाँ बाहिरका मान्छेलाई प्रवेश निषेध छ । गाउँभित्रका मान्छेलाई पनि बाहिर जान मनाही छ । त्यो नियम भंग गरेमा उसको जीवन समाप्त गराइन्छ । फिल्ममा विराज र समीरका पात्रले त्यो त्रासदीपूर्ण साम्राज्यलाई समाप्त पार्छन् । फिल्मलाई एक लाइनमा बुझ्दा त तरंग महसुस होला । तर कथा यति कमजोर तरिकाले अगाडि बढेको थियो कि एक्सनबाहेक त फिल्ममा सम्झनलायक कुरा छँदै थिएनन् ।
पहिलो शृङ्खलाले नै कसिलो कथा भन्न नसकेको बेला सिक्वेलको औचित्य थिएन भन्ने कुरा दोस्रो फिल्म हेरेपछि अनुभूत हुन्छ । पहिलो शृङ्खलामा गजेन्द्रको मृत्युपछि साम्राज्य ढल्यो भन्ने हुन्छ । दोस्रो शृङ्खलामा थाहा हुन्छ कि गजेन्द्रभन्दा पनि ठूलो अर्को खलपात्रको साम्राज्य बाँकी छ । अजय (समीर) र अर्जुन (विराज) अब ती एन्टागोनिस्टलाई परास्त गर्न योजना बुन्न थाल्छन् । त्यसपछि अर्जुन र अजयको बाटो अलगिन्छ ।
फिल्म अवधिभर यी दुवै पात्रको कथा आपसमा कनेक्ट नै हुँदैन । फिल्ममा यी दुई प्रोटागोनिस्टको उद्देश्य जे हो, त्यसलाई राम्रोसँग स्थापित गर्न सकिएकै छैन । किन उनीहरू भिलेनलाई समाप्त पार्न चाहन्छन् ? दर्शकमा फिल्मले त्यो कौतुहल जन्माउनै सक्दैन । अजय र अर्जुनका कथा नै दुई अलग फिल्मजस्ता लाग्छन् । परिस्थितिहरूको निर्माण कथाअनुसार भन्दा पनि फिल्ममा दुई हिरोलाई बराबर स्पेस दिनका लागि गरिएको भागबन्डाजस्तो मात्र देखिन्छ ।
कथामा जेनजी आन्दोलनको प्रसंग भने देखिन्छ । आन्दोलनको समयमा अजयले यात्रा गरिरहेको छ । उसलाई हेर्दा लाग्छ, ऊ कुनै ठूलो रहस्य बोकेर हिँडिरहेको छ । त्यो रहस्य कतिबेला घटित हुन्छ भनेर पर्खिरह्यो भने निराश मात्र भइन्छ । किनकि फिल्ममा दर्शकले पाउने ठूलो सस्पेन्स केही छैन ।
अचानक अजयको यात्रामा डाकुहरूबाट भाग्दै आएकी युवती ठोक्किन्छिन् । त्यसपछि युवतीको संरक्षणमै उसको कथा अगाडि बढ्छ । अजयको आफ्नो विचार, योजना जति खोजे पनि पाउन मुस्किल छ । कवि लेखनाथ पौडेलले ‘लक्ष्य’ कवितामा ‘लक्ष्यबिनाको मानिस साँच्चै बानर जस्तै हुन्छ’ भन्ने कुरा यो फिल्मको अजय पात्रमा चरितार्थ हुन्छ । एउटा भैपरी आउने मिसनका लागि ऊ लागिपरिरहेको जस्तो त देखिन्छ, ती पात्रहरूलाई सजिलै परास्त गरिदिन्छ । त्यसमा उसले कुनै ठूलो संघर्ष गर्नुपर्दैन । त्यो कथा हुर्कन नपाउँदै सकिन्छ । जुन मूल कथासँग जोडिनै पाउँदैन ।
उता अर्जुनको भने अर्जुनदृष्टि कुनै अलौकिक पात्रकोझैं लाग्दैन । ऊ हतियार खोज्न रहस्यमयी ठाउँहरूमा जसरी प्रवेश गरिरहेको छ, ती दृश्यले कुनै त्रास अनुभूत गराउँदैनन् । उसले खोजेको गन किन र केका लागि हो, त्यो बलियो गरी स्थापित हुँदैन । अचानक उसले एउटा रातो सल भेट्छ । त्यो सल कसको हो भनेर खोज्दै खोज्दै ऊ नयाँ खोजतर्फ लाग्छ ।
यो फिल्ममा एन्टागोनिस्ट सुरुदेखि नै बलियो लाग्दैनन् । फिल्म रोचक हुनका लागि एन्टागोनिस्ट र प्रोटागोनिस्टको सम्बन्ध स्थापित गर्न सक्नुपर्थ्यो । उनीहरू कति हानिकारक छन् भन्ने कुराका उदाहरणहरू हुनुपर्थ्यो । फिल्ममा न प्रोटागोनिस्टले गरेको संघर्ष छ, न उसले पाएको दुःख ।
एन्टागोनिस्ट कमजोर बनाइएकाले भिलेन भूमिकामा देखिएका अनुपविक्रम शाही देख्दा कुनै तरंग आउँदैन । बरु उनको आवरणलाई लिएर भने प्रश्न जन्मिन सक्छन् । पहिलो त अनुपविक्रमको दाह्री नै सक्कली लाग्दैन । त्यो टाँसेको हो भन्ने कुरा आँखाले स्पष्ट छुट्याउँछ । दोस्रो कुरा, अनुपविक्रमको आवरणबाट अनुमान हुन्छ, त्यो खलपात्र मुस्लिम हो । न त्यो पात्रको जग राम्ररी निर्माण गरिएको नै छ । त्यो आवरणले आतंकवादी भनेको मुस्लिमको आवरणमा हुन्छन् भन्ने गलत भाष्यचाहिँ सिर्जना गर्न सक्छ । यस्तो चरित्रचित्रणले मुस्लिमहरूमा चोट पुग्न सक्छ । बरु सामाजिक सद्भावलाई असर पार्न सक्छ । यो विषयमा निर्देशक संवेदनशील हुनुपर्थ्यो ।
कथाको क्लाइमेक्स भनेको अन्तिम फाइट हो । भिलेनहरूलाई परास्त गर्नुबाहेक यहाँ कुनै रोचक र रहस्यमयी कुरा पर्दाफास हुँदैनन् ।
कथामा एकाध पात्रका बाहेक मुख्य पात्रहरूको अभिनय नै नाटकीय लाग्छ । जबकि नेपाली फिल्म क्षेत्रले पछिल्लो समय हासिल गरेको उपलब्धिमध्ये एक हो– अभिनय । विराज र समीरको अभिनय स्वाभाविक पात्रहरूको जस्तो कहीँकतै लाग्दैन । उनीहरूको डाइलग डेलिभरी र हाउभाउ बनावटी लाग्छ । बरु नेपाली रंगमञ्च र फिल्ममा चरित्र अभिनेता जन्माउने रंगकर्मी सुनिल पोखरेलले निर्वाह गरेको मन्त्रीको चरित्र स्वाभाविक लाग्छ ।
नेता वा मन्त्री भन्नेबित्तिकै देखिने क्लिसे चरित्रभन्दा उनको पात्र माथि छ । विराजको पात्र अर्जुनकी प्रेमिका लक्ष्मीको चरित्रले पनि आफूले पाएको स्पेसलाई स्वाभाविक ढंगले निर्वाह गरेकी छन् । उनको बडी ल्याङ्ग्वेज र डाइलग डेलिभरीले पात्रलाई न्याय गरेको छ । उनीसँगै स्क्रिनमा देखिएका विराज र उनको अभिनयमा भने धेरै दूरी देखिन्छ । फिल्ममा समीरको अपोजिटमा देखिएकी नयाँ अभिनेत्रीको अभिनय कम र संवाद पढेजस्तो बढी सुनिन्छ ।
लामो समय एक्सन विधामै काम गरिरहेका विराज र तयारीका साथ आएका समीरबाट यो फिल्ममा अपेक्षा गर्न सकिने भनेको एक्सनमा मात्र हो । बाँकी त कथाले नडोहोर्याएपछि फिल्म हेरिरहँदा सहनुपर्ने त सकस नै हो ।
पछिल्ला समय नेपालमा मौलिक फिल्महरू बनिरहेका छन् । एक्सन विधामा पनि मौलिक स्वाद पस्किन कथा नभएका हैनन् । भारतको कन्नड फिल्म ‘कान्तरा’ यसको बलियो उदाहरण हो । तर ‘१२ गाउँ’को न कथा, दृश्य र एक्सनमा मौलिकता छ, न ब्याकग्राउन्ड म्युजिकमा नै ।
आयातित लाग्ने बेस्वादिलो कथा पस्केर बनाइएका शृङ्खलाले एक्सन फिल्मको दायरालाई झन् खुम्च्याउने पो हुन् कि ! ‘१२ गाउँ’ले एक्सन विधालाई एकपटक ब्यूँताए पनि डेढ दशकयता रूपान्तरणको बाटोमा हिँडिरहेको नेपाली फिल्म क्षेत्रमा विराजचाहिँ कहिले ब्युँझने हुन्, त्यो भने हेर्न बाँकी छ ।
समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।