आज धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । आफ्नै दक्षताले विभिन्न काम सम्पन्न गर्न सकिनेछ । घुमफिरप्रति आकर्षण बढ्नुका साथै व्यवसायका लागि यात्रा हुन सक्छ । महिलावर्गबाट विशेष सहयोग प्राप्त हुनेछ र मनमा आत्मसन्तुष्टि छाउनेछ । देवी भगवतीप्रति श्रद्धा राख्दै सत्कर्ममा लाग्दा मनमा शान्ति मिल्नेछ ।
यो महिना मनमा रहेका इच्छा र आकाङ्क्षा पूरा हुनेछन् । लामो समयदेखि रोकिएका कामहरू अघि बढ्नुका साथै नयाँ कार्यको अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोगले आत्मविश्वास र हौसला बढाउनेछ । मनपर्ने वस्त्र, अलङ्कार आदि उपहार प्राप्त हुने योग छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम सम्बन्धमा मधुरता बढ्नुका साथै रमणीय तथा सुखद् यात्राको अवसर प्राप्त हुनेछ । कुनै शुभकार्य गर्नुअघि पितृदेवको स्मरण गरी कार्य आरम्भ गर्नाले विशेष सफलता मिल्नेछ ।
वृष राशि भएका व्यक्तिहरूका लागि यो वर्ष शुभ रहनेछ । बृहस्पति, शनि र राहुको अनुकुलताले शुभ फल दिन सक्छ । नयाँ ठाउँमा भ्रमणको योग समेत रहेको छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भौतिक सम्पत्तिमा बढोत्तरी हुनेछ र अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।
वर्षको अन्त्य तिर भने कामहरू अधुरै रहन सक्छ । यो वर्ष प्राविधिक क्षेत्र र वैदेशिक व्यापार व्यवसायबाट अपेक्षित लाभ लिन सकिएला । घरजग्गाको कारोबारबाट फाइदा मिल्नेछ भने वर्षको उत्तरार्धमा मोटर वाहन, कृषि, पशु र पर्यटकीय क्षेत्रको लगानी त्यति फलदायी नहोला । सेयरबजारमा लगानी गर्नेहरू भने सचेत रहनुपर्छ ।
वैशाख, जेठ, भाद्र र मङ्सिर महिनामा धनमाल हराउन सक्छ, सजग रहनु होला । आर्थिक दृष्टिकोणले साउन, कार्तिक, फाल्गुन र चैत्र महिना शुभ रहनेछन् । प्रेम सम्बन्धमा सफलता मिल्नेछ । साउन महिनामा नयाँ व्यक्तिसँग नयाँ सम्बन्धको सुरुवात हुन सक्छ । असार महिनामा प्रेमी र प्रेमिकाका घर परिवारबाट केही अप्ठ्यारा परिस्थितिहरू पनि सिर्जना हुनसक्छ । वर्षको सुरुवातमा शिक्षाक्षेत्र राम्रो रहला ।
आई. टी. र वाणिज्य विषयका विद्यार्थीहरूलाई विशेष लाभ मिल्नेछ । शैक्षिक क्षेत्रबाट साउन र कार्तिक महिनामा अधिक सफलता मिल्नेछ । यो वर्ष विशेष गरि वैदेशिक क्षेत्रका काम बन्ने र रोजगारीको राम्रो अवसर मिल्नेछ । निजी क्षेत्रका कर्मचारीको जागिरमा बढोत्तरी तथा पदोन्नति हुने योग छ । पत्रकारिता, चालक र पहिरन पेशामा आवद्ध व्यक्तिहरूलाई अधिक सफलता मिल्नेछ ।
संयुक्तरुपमा गरिएको लगानी भने फलदायी नहोला । यो वर्ष केतुको कारणले स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । यात्रा गर्दा वा गाडी चलाउँदा चोटपटकको भय छ र खानपिनमा पनि विचार पुर्याउनु आवश्यक छ ।
केतुसहित अरु नराम्रा ग्रहहरूको नकारात्मक प्रभावबाट बच्न भैरवजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रह पीडा कम हुने र भाग्यमा वृद्धि हुनेछ । पद र प्रतिष्ठा प्राप्तिका लागि दैनिक रोगीलाई सेवा गर्नाले राम्रो हुनेछ । प्रत्येक दिन गुरु तथा माता पिताको आशीर्वाद लिई सत्य बोल्नाले पनि चाँडै सफलता पाइनेछ ।