१४ कार्तिकमा सुरु हुने भनिएको प्रतियोगिता अब १६ देखि २० कात्तिकसम्म हुने आयोजक क्लबका अध्यक्ष प्रकाश घिमिरेले बताए ।
संखुवासभा — निरन्तरको भारी वर्षाका कारण खेलमैदान हिलाम्मे भएपछि खाँदबारीको मानेभञ्ज्याङमा आयोजना हुन लागेको पहिलो संस्करणको संखुवासभा गोल्डकप फुटबल प्रतियोगिता निर्धारित मितिभन्दा २ दिन पछि सरेको छ । १४ कार्तिकमा सुरु हुने भनिएको प्रतियोगिता अब १६ देखि २० कात्तिकसम्म हुने आयोजक क्लबका अध्यक्ष प्रकाश घिमिरेले बताए ।
जिल्लामा फुटबलको आकर्षण बढाउने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगितामा ८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स), सुनसरीको न्यु स्टार क्लब, सिरहाको सलहेश युवा क्लब, लोहोरुङ क्लब पाङ्मा, काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड, खाँदबारी युथ क्लब, झापा-११ फुटबल क्लब र सेकाहा सामुदायिक विकास क्लब सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेता टोलीले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछ । उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी अर्थात् ‘प्लेयर अफ द म्याच’लाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले भने नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खाँदबारी नगरपालिका–३ का वडाध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष भरत घिमिरेका अनुसार लामो समयदेखि निरन्तर सञ्चालन हुँदै आएको प्रतियोगितालाई गोल्डकपका रूपमा विकास गरिएको हो । यसले जिल्लामा फुटबलप्रतिको आकर्षण थप बढाउनुका साथै स्थानीय खेलाडीको प्रतिभा उजागर गर्न र फुटबलको विकासमा योगदान पुर्याउने उनले बताए ।