पाकिस्तान क्रिकेट बोर्डको अचानक २५ हजार अमेरिकी डलरको शुल्क नियमले एनपीएल टोलीहरूलाई आकस्मिक विकल्प खोज्न बाध्य बनाएको छ, जसले विश्वव्यापी आकर्षणलाई कम गर्नुका साथै फ्यानहरूलाई निराश बनाएको छ ।
काठमाडौँ — फ्रेन्चाइज टिमहरूले यदि आफूले सम्झौता गरेका सबै पाकिस्तानी खेलाडीलाई मैदान उतार्न पाएको भए नेपाल प्रिमियर लिग (एनपीएल) ले तेस्रो सिजनमा आफ्नो स्तर अझ माथि उठाउने थियो । तर चार फ्रेन्चाइजले पक्का गरेका सात पाकिस्तानीमध्ये कर्णाली याक्समा अनुबन्धित हुसेन तलातबाहेक कोही पनि सहभागी हुन सकेनन् ।
फ्रेन्चाइज मालिकहरू, नेपाली क्रिकेटका सरोकारवालाहरू र क्रिकेटका विश्वविख्यात विज्ञहरूका अनुसार पाकिस्तानी स्टारहरूलाई खेलाउन नसक्नु एनपीएलका लागि ठूलो धक्का हो ।
जनकपुर बोल्ट्सका सीईओ निरोज खतिवडाले कान्तिपुरसँग भने, ‘यो पक्कै पनि हाम्रा लागि निराशाजनक हो । दूरदृष्टिले हेर्दा यो समग्र नेपाली क्रिकेटकै लागि ठूलो धक्का मान्नुपर्छ ।’
जनकपुरले इफ्तिखार अहमद र हुनाइन शाहलाई अनुबन्ध गरेको घोषणा गरेको थियो । यो जोडी काठमाडौं पनि आइपुगेको थियो । मंगलबार कर्णालीविरुद्धको खेलमा उनीहरू कीर्तिपुरमा बोल्ट्सको टोलीसँगै वेञ्चमा थिए ।
एनपीएलमा खेल्ने अनुमतिका लागि खेलाडीले प्रतिव्यक्ति २५ हजार अमेरिकी डलर तिर्नुपर्ने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को अन्तिम समयको नो अब्जेक्सन लेटर (एनओसी) लिनुपर्ने सूचनाले अब जनकपुरलाई अन्य विकल्प खोज्न बाध्य बनाएको हो । जनकपुरका अधिकारीहरूले यति छोटो समयमा दुई पाकिस्तानी खेलाडीको विकल्प खोज्नु चाहिँ सहज नभएको बताए । सीईओ खतिवडाले पाकिस्तानीबारे भने, ‘उनीहरू अझै काठमाडौंमै छन्, तर यो निश्चित छ कि उनीहरूले जनकपुरका लागि खेल्ने छैनन् । हामीले उनीहरूको विकल्प खोजिसकेका छौं बिहीबार काठमान्डु गोर्खाजविरुद्ध मैदान उत्रँदा हामीसँग आठ विदेशी खेलाडी हुनेछन् ।’
जनकपुरले अहमद र शाहलाई केही समय बस्न लगाएर टोलीका उदीयमान खेलाडीसँग आफ्नो अनुभव र ज्ञान साटासाट केही प्रशिक्षण सत्रहरूमा सहभागी गराउने योजना बनाएको छ । सीईओ खतिवडाले थपे, ‘हामीले प्रतिखेलका आधारमा पारिश्रमिक दिने सहमति गरेका थियौं, उनीहरू नखेल्ने भएपछि हामीले उनीहरूलाई रकम तिर्नुपर्दैन । यद्यपि उनीहरू नेपालमा रहँदा र पाकिस्तान नफर्किएसम्मको व्यवस्था हामीले गर्नेछौं ।’
एनओसी समस्याका कारण पीडित हुने टिम जनकपुरमा मात्र होइन । तलातको विषयमा समस्या समाधान गर्न सफल कर्णालीले पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहानलाई फिर्ता पठाउनुपर्यो । सुदूरपश्चिम रोयल्सले पनि हैदर अलीलाई टोलीमा राख्न सकेन । सबैभन्दा बढी प्रभावित हुने टोली चितवन राइनोज रह्यो ।
चितवनले उसमा मिर र हसन अली गरी दुई पाकिस्तानी खेलाडीलाई अनुबन्ध गरेको थियो । मिर खेल्न तयार भएर काठमाडौं आइसकेका थिए । तर एनओसीका कारण न मिर न त अली टोलीमा अटाउन सके । मंगलबार विराटनगर किंग्सविरुद्ध चितवनले विमानस्थलबाट सिधै मैदानमा ल्याइएका दुई नयाँ खेलाडी टम टेलर र डानियल रिचार्ड मुस्लेलाई मैदानमा उतारेको थियो ।
फ्रेन्चाइज निकट टिम स्रोतका अनुसार उनीहरू तेस्रो सिजनका लागि अझ धेरै पाकिस्तानी खेलाडी भित्र्याउने तयारीमा थिए । उनीहरूको भनाइअनुसार पाकिस्तानबाट अझ ठूला नामहरूको घोषणा हुनेवाला थियो । तर, अब यो सम्भव छैन ।
काठमान्डु गोर्खाजका अपरेसन हेड श्रवणबहादुर सिंहले पनि पाकिस्तानी खेलाडी अनुबन्ध गरे पनि एनओसी समस्याकै कारण घोषणा गर्न नसकेको बताए । उनले भने, ‘हामीले पनि पाकिस्तानी खेलाडी अनुबन्ध गरेका छौं । तर उनले खेल्ने वा नखेल्ने भन्ने निर्णय टोलीका अधिकारीहरूले गर्नेछन् ।’
पीसीबीसँग २०२० देखि कार्यान्वयनमा रहेको एउटा एनओसी गाइडलाइन (निर्देशिका) छ । तर त्यसमा विदेशी फ्रेन्चाइज लिगहरूमा खेल्न खेलाडीले प्रतिव्यक्ति २५ हजार डलर तिर्नुपर्ने प्रावधानबारेमा उल्लेख छैन ।
पीसीबीको २५ हजार डलरको नियमले आफ्ना खेलाडीलाई विदेशी फ्रेन्चाइज लिगहरूमा पूर्ण रूपमा सहभागी हुन रोक लगाएको भने होइन । ८ अगस्ट, २०२६ सम्म विभिन्न लिगहरूमा करिब ४० खेलाडीलाई एनओसी प्रदान गरिएको थियो ।
यद्यपि, त्यस्ता दृष्टान्तहरू पनि छन् जहाँ टोलीहरूले यसबाट नोक्सानी बेहोरेका छन् । अमेरिकाको प्रमुख टी–२० लिग मेजर लिग क्रिकेट (एमएलसी) ले पनि दुई वर्षयता यस्तै किसिमको समस्या सामना गर्दै आएको छ ।
सन् २०२३ मा, एमएलसीमा धेरै पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित बनेको थियो, जुन ईएसपीएन क्रिकइन्फोका अनुसार पीसीबीले २५ हजार डलर माग गरेकै कारण थियो । एमएलसीले २०२६ को जुनमा पनि यसको सामना गर्नुपरेको थियो ।
गत जुनमा एमएलसीसँग आबद्ध एक क्रिकेट विज्ञले कान्तिपुरसँग नाम नछाड्ने सर्तमा भने, ‘यो क्रिकेटका लागि राम्रो विषय होइन । राष्ट्रिय तथा घरेलु दायित्वबाट मुक्त भएका क्रिकेट खेलाडीलाई आईसीसी मान्यताप्राप्त प्रतियोगितामा खेल्ने स्वतन्त्रता हुनुपर्छ ।’
एनपीएलका सन्दर्भमा ती विज्ञले पाकिस्तानको अन्तिम समयको यति ठूलो रकमको मागलाई एउटा अव्यावसायिक कदम भनेका छन् । उनले भने, ‘यदि यो पीसीबीको नियम हो भने ती पक्षलाई पहिले नै स्पष्ट पार्नु कुनै ठूलो कुरा होइन । किन एउटा फ्रेन्चाइजको योजना, लगानी र फ्यानको आशालाई खेर जान दिने ?’
एनपीएल फ्रेन्चाइज अधिकारीहरूले पनि पाकिस्तानी खेलाडीलाई मैदानमा उतार्न नसक्नु फ्यानहरूका लागि ठूलो झट्का भएको स्वीकारेका छन् ।
जनकपुरका सीईओ खतिवडाले भने, नेपाली क्रिकेटप्रेमीहरू दक्षिण एसियाका क्रिकेट राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका कट्टर समर्थक हुन् । हामी भारतीय क्रिकेटरलाई ल्याउन सक्दैनौं, तर फ्यानहरूले पाकिस्तानी स्टारहरूलाई हेर्न धेरै रुचाउँथे ।’
पाकिस्तानका दिग्गज तीव्र गतिका पूर्वबलर सोएब अख्तरले अर्को वर्ष पाकिस्तानी खेलाडीहरूले एनपीएलमा खेल्न सक्ने विश्वास जनाए । एनपीएल टेलिभिजन प्रिभ्युमा बोल्दै अख्तरले आफू भर्खरै नेपाल आएकाले यस विषयमा धेरै जानकारी नभएको बताएका थिए ।
उनले भनेका थिए, ‘मेरो विचारमा पाकिस्तान नै त्यस्तो देश हो, जसले बंगलादेश र श्रीलंकाजस्ता धेरै उदीयमान राष्ट्रलाई टेस्ट राष्ट्रको मान्यता दिलाउन मदत गरेको थियो, । मेरो पालामा हामीले आईसीसीमा आइरिस क्रिकेटका बारेमा पनि जोडदार आवाज उठाएका थियौं । मलाई विश्वास छ, उनीहरू यो मामिला समाधान गर्न सक्षम छन् । नेपाल जस्तो उदीयमान पुस्तालाई मदत गर्न पाकिस्तान सधैं तत्पर रहन्छ ।’
‘मलाई एनओसीको विषयमा थाहा छैन, मलाई लाग्छ यो बोर्डको जिम्मा हो । मलाई विश्वास छ कि पाकिस्तानले यस विषयमा ध्यान दिनेछ र मेरो विचारमा उनीहरूले अर्को वर्षका लागि खेलाडीहरूलाई अनुमति दिनेछन्,’ अख्तरले भनेका थिए ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालगायतका अधिकारीहरूले पनि पीसीबीसँग कुराकानी गर्ने, आवश्यक प्रक्रियाहरू पूरा गरेपछि एनओसी लिने जिम्मा फ्रेन्चाइजहरूको रहेको बताएका छन् ।
नायक पौडेल काठमाडौं पोस्टका खेल संवाददाता हुन् ।