पाकेको धान भित्र्याउने तयारीमा रहेका किसानलाई प्रशासनले कात्तिक १२ गतेभित्र वा १५ गतेपछि कृषि काम गर्न अनुरोध गरेको छ।
पाल्पा — पाल्पामा कात्तिक १३ र १४ गते मध्यमदेखि भारी वर्षा हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।
बंगालको खाडीमा विकसित मौसमी प्रणालीका कारण वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपणपछि प्रशासनले सूचना जारी गरेको हो ।
वर्षाका कारण नदी आसपासका क्षेत्रमा आकस्मिक बाढी र विभिन्न स्थानमा पहिरोको जोखिम रहने भन्दै प्रशासनले सुरक्षित रहन आग्रह गरेको छ । धानबाली भित्र्याउनेलगायत कृषि कार्य कात्तिक १२ गतेभित्र वा १५ गतेपछि गर्न र सम्भव भएसम्म लामो दूरीको यात्रा नगर्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जारी गरेको सूचनामा उल्लेख छ ।
अत्यावश्यक कामले यात्रा गर्नुपर्ने भए प्रहरी वा ट्राफिक प्रहरीसँग समन्वय गरी सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ । विपद्का बेला जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र पाल्पाको १२३४, जिल्ला प्रहरी कार्यालयको १०० र सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गुल्मको १११४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।
पाल्पाका किसान यतिबेला धान स्याहार्न व्यस्त छन् । गत असारमा रोपेको धान पाकेपछि किसानले थ्रेसरको सहायताले धान झार्न थालेका छन् । तर, धान पसाउने बेला आएको बाढीले खेतमा धान लपेट्दा सास्ती भएको छ । बाढीले लपेटेको धान थ्रेसरले पेल्दा धुलोको मुस्लो निस्कने गरेको किसानले बताएका छन् ।
थ्रेसरबाट निस्कने धुलोले वायु प्रदूषणसमेत बढाएको तानसेन नगरपालिका–९ का वडाध्यक्ष राजेश कुमार अर्यालले बताए ।
‘अर्नब’ चक्रवातको प्रभावले पाल्पासहित लुम्बिनी प्रदेशका सात जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको जोखिम रहेको भन्दै प्रदेश सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । कात्तिक १३ र १४ गते रुकुम पूर्व, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र पश्चिम नवलपरासीमा वर्षा हुन सक्ने सम्भावना छ ।
वर्षाले बाढी, पहिरो तथा सडक र हवाई यातायातमा असर पार्न सक्ने भन्दै प्रदेश सरकारले किसानलाई धानबाली भित्र्याउन, अत्यावश्यक कामबाहेक यात्रा नगर्न र जोखिमयुक्त स्थानका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने तयारी गर्न आग्रह गरेको छ । स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई उद्धार तथा विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन पनि भनिएको छ ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।