Trending
Prev Story
Next Story

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहित ४ विषय पढाउन ९० सिट स्वीकृत

Ekantipur •
October 28, 2026 • 06:00 AM
1
1 reads 0 reactions

चिकित्सा शिक्षा आयोगले एमबीबीएसमा ५० सहित चार कार्यक्रममा कुल ९० सिट निर्धारण गरेपछि नयाँ शैक्षिक सत्रदेखि पठनपाठन सुरु हुने भएको छ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहित ४ विषय पढाउन ९० सिट स्वीकृत

चिकित्सा शिक्षा आयोगले एमबीबीएसमा ५० सहित चार कार्यक्रममा कुल ९० सिट निर्धारण गरेपछि नयाँ शैक्षिक सत्रदेखि पठनपाठन सुरु हुने भएको छ।

कैलाली — सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गेटामा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहित चारवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगले पहिलोपटक सिट निर्धारण गरी स्वीकृति दिएको छ । यससँगै गेटामा रहेको विश्वविद्यालयमा चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने बाटो खुलेको छ ।

विश्वविद्यालयमा यसै नयाँ शैक्षिक सत्रदेखि एमबीबीएसमा ५०, बीएस्सी नर्सिङमा २०, बीएस्सी मेडिकल ल्याबोरेटरी टेक्नोलोजी (एमएलटी) मा १० र बी अप्टोमेट्रीमा १० गरी कुल ९० विद्यार्थीलाई अध्ययन गराउन अनुमति प्राप्त भएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको सिटमा भर्नाका लागि कात्तिक १४ देखि १८ गतेसम्म तोकिएका केन्द्रमा एकीकृत प्रवेश परीक्षा सञ्चालन हुने जनाइएको छ । प्रवेश परीक्षा र भर्नासम्बन्धी विस्तृत विवरण भने आयोगको आधिकारिक सूचनामा उल्लेख छ ।

विश्वविद्यालयमा आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन र कानुनी मापदण्ड पूरा गरेपछि चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दले बताए । 'आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन र कानुनी मापदण्ड पूरा गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति पाएसँगै एमबीबीएसलगायतका कार्यक्रम सञ्चालन गर्न लागिएको हो,' चन्दले भने ।

चिकित्सा शिक्षा अध्ययनका लागि सुदूरपश्चिमका विद्यार्थीले समेत प्रदेशबाहिरका शैक्षिक संस्थामा निर्भर रहनुपर्ने अवस्थालाई कम गर्न र देश विदेशबाट अध्ययनका लागि आउने विद्यार्थीहरूका लागि विश्वविद्यालयमा सुरु हुन लागेको पठनपाठन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । यद्यपि, विद्यार्थीले पाउने वास्तविक अवसर, अध्ययनको गुणस्तर र कार्यक्रमको निरन्तरताका लागि आवश्यक शैक्षिक जनशक्ति तथा पूर्वाधारको व्यवस्थापन महत्त्वपूर्ण हुनेछ ।

विश्वविद्यालयले चिकित्सा शिक्षाको पठनपाठनसँगै अस्पतालको सेवा र क्षमता विस्तारलाई पनि अघि बढाएको छ । चिकित्सा शिक्षा ऐनअनुसार गेटामा ३०० शय्याको अस्पताल सञ्चालनमा रहेको विश्वविद्यालय प्रशासनले जनाएको छ । अस्पतालको क्षमता बढाएर ५०० शय्या पुर्‍याउने प्रक्रिया पनि अघि बढाइएको छ । विश्वविद्यालयका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकमार्फत ५० भन्दा बढी प्रकारका स्वास्थ्य सेवा उपलब्ध भइरहेका छन् । दैनिक ४०० देखि ५०० जनासम्म बिरामीले अस्पतालबाट उपचार सेवा लिने गरेका छन् ।

अस्पतालको सेवा विस्तार र चिकित्सा शिक्षाको पठनपाठनलाई प्रभावकारी बनाउन थप उपकरण तथा आवश्यक जनशक्ति व्यवस्थापनको काम तीव्र पारिएको रजिस्ट्रार चन्दले बताए । 'अहिले अस्पतालमा विशेषज्ञ चिकित्सकबाट ५० भन्दा बढी सेवा प्रदान भइरहेका छन् । दैनिक ४०० देखि ५०० बिरामीले उपचार सेवा लिइरहेका छन्,’ चन्दले भने, ‘अस्पतालको क्षमता विस्तारसँगै थप उपकरण र जनशक्ति व्यवस्थापनको काम पनि अघि बढाइएको छ ।'

अस्पतालको सेवा विस्तारसँगै शैक्षिक कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीलाई व्यावहारिक अध्ययन र बिरामीको उपचारमा आधारित सिकाइको अवसर उपलब्ध गराउन सकिनेछ । त्यसका लागि अस्पतालको पूर्वाधार, विशेषज्ञ चिकित्सक, प्राध्यापक तथा अन्य स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्थापन आवश्यक हुन्छ । त्यसमा विश्वविद्यालय निरन्तर लागिपरेको रजिस्ट्रार चन्दको भनाइ छ ।

विश्वविद्यालयको शैक्षिक कार्यक्रम, अस्पताल सञ्चालन तथा पूर्वाधार विस्तारका लागि चालु र पुँजीगततर्फ गरी कुल २५३ करोड रुपैयाँ बजेट विनियोजन भएको जनाइएको छ । उक्त बजेट सिनेटबाट आवश्यक प्रक्रियामा लैजान भने बाँकी रहेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

गेटामा चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने तयारीले सुदूरपश्चिममा स्वास्थ्य शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवाको विकासका लागि नयाँ सम्भावना खोलेको छ । अब विश्वविद्यालयले शैक्षिक कार्यक्रमको प्रभावकारी सञ्चालनसँगै अस्पतालको सेवा विस्तार र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा कस्तो प्रगति गर्छ भन्ने महत्त्वपूर्ण हुने जानकारहरूको भनाइ छ ।

कञ्चनपुरको पुनर्वासका सेवानिवृत्त शिक्षक राजेन्द्र बराल पनि विश्वविद्यालयमा चिकित्सा शिक्षाको पठनपाठन सुरु हुनुलाई सुदूरपश्चिमका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेर्छन् । 'कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना र सञ्चालनको विषय लामो समयदेखि चर्चामा रहे पनि चिकित्सा शिक्षाको नियमित पठनपाठन सुरु हुन सकेको थिएन । चिकित्सा शिक्षाको पठनपाठन सुरु हुने भएपछि सुदूरपश्चिमवासीको लामो समयदेखिको प्रतीक्षाले सार्थकता पाउने भएको छ । अब विश्वविद्यालय सञ्चालनले मूर्तरूप लिने अपेक्षा बढेको छ,' उनले भने ।

बरालको भनाइले चिकित्सा शिक्षा अध्ययनका लागि प्रदेशबाहिर जानुपर्ने बाध्यता, स्थानीय स्तरमै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा तथा गेटा विश्वविद्यालयप्रतिको जनचासोलाई समेट्न सक्छ । दशकौँदेखि चर्चामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अब चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने प्रक्रिया अघि बढेसँगै स्थानीयवासीको अपेक्षा पनि बढेको छ । तर यो उपलब्धिलाई सार्थक बनाउन शैक्षिक कार्यक्रमको नियमित सञ्चालन, दक्ष जनशक्तिको व्यवस्था र अस्पतालको सेवा विस्तारलाई प्रभावकारी बनाउनुपर्ने चुनौती भने कायमै रहेको उनको भनाइ छ ।

हरिश्चन्द्र बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
गेटामा एमबीबीएस सिट विवाद छानबिन गर्न समिति, केसीको अनशन तोडियो

गेटामा एमबीबीएस सिट विवाद छानबिन गर्न समिति, केसीको अनशन तोडियो

गेटामा एमबीबीएस सिट विवाद छानबिन गर्न समिति, केसीको अनशन तोडियो सरकारले चिकित्सा शिक्षा आयोगको निर्णय पुनरावलोकन गर्न पाँच सदस्यीय समिति बनाउने सहमति गरेपछि डा. गोविन्द केसीले सत्याग्रह अन्त्य गरे...

#सिट #एमबीबीएस
Compare →
Nagarik News
11h ago
'विद्युतीय माइक्रोबसको सिट क्षमता र रुट परमिटमाथि छानबिन हुनुपर्छ'

'विद्युतीय माइक्रोबसको सिट क्षमता र रुट परमिटमाथि छानबिन हुनुपर्छ'

विद्युतीय माइक्रोबसको सिट क्षमता परिवर्तन, रुट परमिट वितरण र रात्रिकालीन सेवा सञ्चालनसम्बन्धी निर्णयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले बताएका छन् ।

#सिट
Compare →
Onlinekhabar
4d ago
राष्ट्रिय सभामा दुई सिट रिक्त, १० महिनासम्म भएन पदपूर्ति

राष्ट्रिय सभामा दुई सिट रिक्त, १० महिनासम्म भएन पदपूर्ति

२३ कात्तिक, काठमाडौं । राष्ट्रिय सभामा दुई सिट रिक्त छ । राष्ट्रिय सभाको एउटा सिट २०८२ माघ १ गतेदेखि रिक्त छ । नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सदस्य बलदेव बोहराको निधन भएका कारण यो सिट खाली …

#सिट
Compare →

Related Stories

Education & Youth
Build #2611