काभ्रेको बनेपा नगरपालिका–१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा बालकका बुबा र आमा घाइते भएका छन्।
काभ्रे — काभ्रेको बनेपा नगरपालिका–१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा बालकका बुबा र आमा घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार, शनिबार बिहान करिब ५:३० बजे काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३८ एएल १६३४ नम्बरको ग्यास बोक्ने बुलेट गाडीले बागमती प्रदेश ०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकलमा सवार खोटाङ घर भएका ९ वर्षीय जुवास बुढाथोकीसहित तीन जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको थियो। उपचारका क्रममा बिहान ६ बजे जुवासलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा घाइते भएका उनका बुबा चन्द्र बुढाथोकीको अवस्था मध्यम र आमा रेणुका राईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।प्रहरीका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ।
ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।