गगन थापासामु शर्मा र प्रदीप पौडेलसँगको सहकार्य प्रभावकारी बनाउँदै देउवा पक्षलाई समेटेर पार्टीमा एकता कायम गर्ने र युवा नेतृत्वलाई परिणाममुखी बनाउने चुनौती छ । २९७ सदस्यीय केन्द्रीय कार्यसमितिलाई कामकाजी बनाउनु पनि उनका लागि चुनौती हुनेछ ।
काठमाडौँ — ९४.४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम कस्तो बन्दै छ ? मतपरिणामले यसको तस्बिर देखाउन थालेको छ। युवा अनुहारको वर्चस्व, विशेष महाधिवेशनको नेतृत्वप्रति बलियो अनुमोदन र समावेशी प्रतिनिधित्व नयाँ टिमका विशेषता हुन्। तर पूर्वसभापति शेरबहादुर देउवा पक्षलाई समेट्ने र २९७ सदस्यीय विशाल केन्द्रीय कार्यसमितिलाई प्रभावकारी बनाउने चुनौती थापासामु छ।
कांग्रेसको १५औं महाधिवेशनबाट २० पदाधिकारीसहित २११ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। सभापतिले मनोनयन गर्ने ६६ सदस्यसमेत जोड्दा केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। मतगणना सुरु भएको एक साता बितिसक्दा पनि सबै परिणाम आइसकेको छैन। तर पदाधिकारीसहितका महत्त्वपूर्ण पदको परिणामले थापाको टिमको चरित्र स्पष्ट पार्दै लगेको छ।
नयाँ नेतृत्वमा विशेष महाधिवेशनबाट थापालाई साथ दिएका नेताहरूको वर्चस्व देखिन्छ। वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति मधु आचार्य र पुष्पा भुसाल विशेष महाधिवेशनको नेतृत्व प्रक्रियादेखि नै थापासँगै छन्। चन्द्रकान्त भण्डारी सुरुमा केही अलमलमा थिए तर पछि उनी पनि जोडिएका हुन्। अर्का उपसभापति विनोद चौधरी पनि विशेष महाधिवेशनदेखि नै थापाको यात्रामा साथमा छन्।
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्। यीमध्ये पौडेल र संग्रौला विशेष महाधिवेशनबाटै थापाको नेतृत्वमा जोडिएका थिए। राणाले थापाको नेतृत्वमा बनेको नयाँ टिममा महत्वपूर्ण स्थान पाएका छन्। सहमहामन्त्री र केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा पनि विशेष महाधिवेशनमा सहभागी समूहका नेताहरूको उपस्थिति बलियो छ।
यसले विशेष महाधिवेशनबाट स्थापित नेतृत्वलाई नियमित महाधिवेशनले अनुमोदन गरेको सन्देश दिएको छ। थापाले विशेष महाधिवेशनमा आफूलाई साथ दिएका नेताहरूलाई पदाधिकारी र केन्द्रीय नेतृत्वमा स्थापित गर्न सफल भएका छन्। तर नेतृत्वमा उनको चाहनाअनुसार सबै पक्षको प्रतिनिधित्व हुन सकेको छैन।
थापाले पूर्वसभापति देउवा पक्षका नेताहरूलाई समेत महत्त्वपूर्ण जिम्मेवारीमा जोडेर लैजान चाहेका थिए। देउवा पक्षमा रहेका महालक्ष्मी उपाध्याय, सुरेन्द्र पाण्डे र शेखर कोइराला पक्षका जीवन परियारलगायतलाई पदाधिकारीमा ल्याउने उनको चाहना थियो। तर उपाध्याय महामन्त्रीमा तथा सुरेन्द्र पाण्डे र जीवन परियार उपसभापतिको प्रतिस्पर्धामा पराजित भए। यसले थापाले पार्टीभित्रका विभिन्न समूहलाई समेट्न खोजे पनि निर्वाचन परिणामले उनको योजनालाई पूर्णता दिन नसकेको देखाउँछ।
यद्यपि विशेष महाधिवेशनमा सहभागी नभएको समूहबाट आएका नेताहरू पनि नयाँ कार्यसमितिमा निर्वाचित भएका छन्। सहममन्त्रीमा जीवनबहादुर शाही र रामहरि खतिवडाको निर्वाचनले थापाको टिममा विशेष महाधिवेशनभन्दा बाहिर रहेका नेताहरूका अनुहार पनि देखाउँछ। तर देउवा पक्षको ठूलो समूह समानान्तर महाधिवेशनको प्रक्रियामा रहेकाले त्यस पक्षका धेरै नेता नयाँ नेतृत्वमा समेटिन सकेका छैनन्।
महाधिवेशनको प्रक्रिया सुरु हुनुअघिसम्म देउवा पक्षमा रहेको ठूलो समूहलाई अन्तिम समयमा आफ्नो पक्षमा ल्याउन थापा सफल भएका थिए। यसले उनको नेतृत्वप्रतिको स्वीकार्यता र वैधानिकतालाई थप बलियो बनाएको छ। तर निर्वाचनमा प्राप्त समर्थनलाई पार्टीभित्रको स्थायी एकतामा रूपान्तरण गर्नु उनको अर्को परीक्षा हुनेछ।
पदाधिकारीको संरचनामा लैंगिक प्रतिनिधित्व देखिए पनि खसआर्य समुदायको बाहुल्य छ। सहमहामन्त्रीका विभिन्न समावेशी क्लस्टरले भने दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, महिला, खसआर्य र अल्पसंख्यकको प्रतिनिधित्व सुनिश्चित गरेको छ। यसले पदाधिकारी तहमा समावेशी वनाऊन सहयोग गरे पनि मुख्य भूमिका रहने उपसभापति महामन्त्रीमहामन्त्रीको चेहराले समावेशितामाथिको प्रश्न भने उठाएको छ।
थापाको नेतृत्वलाई सफल बनाउने मुख्य आधार वरिष्ठ उपसभापति शर्मा र महामन्त्री पौडेलसँगको सहकार्य पनि हो। शर्मा थापालाई सभापति र प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा १४औं महाधिवेशनदेखि नै उभिँदै आएका थिए। विशेष महाधिवेशनमा उनले थापालाई बलियो साथ दिए। वरिष्ठ उपसभापतिमा निर्विरोध भएका शर्माको थापासँगको सहकार्यले नयाँ नेतृत्वको राजनीतिक आधारलाई बलियो बनाएको छ।
महामन्त्री पौडेलले पनि प्रतिस्पर्धात्मक निर्वाचनबाट उल्लेख्य मतसहित जित हासिल गरेका छन्। सात उम्मेदवारबीचको प्रतिस्पर्धामा करिब ६० प्रतिशत मत प्राप्त गर्नुले उनलाई पनि महाधिवेशन प्रतिनिधिहरूले बलियो नेतृत्वका रूपमा स्वीकार गरेको देखाउँछ। थापा, शर्मा र पौडेलको सहकार्यले कांग्रेसमा नयाँ नेतृत्वको त्रिकोण बन्ने संकेत गरेको छ।
कांग्रेसको इतिहासमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको 'ट्रोयका' थियो। त्यसपछि को पुस्तामा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र शैलजा आचार्यको 'ट्रोयका' बन्यो । समयक्रममा शैलजा आचार्य बाहिरिइन् र सुशील कोइराला त्यो 'ट्रोयका'मा जोडिए । अहिलेको महाधिवेशनले पनि थापा, शर्मा र पौडेलको 'ट्रोयका' नेतृत्वको सन्देश दिएको छ ।
थापाले सभापति निर्वाचित भएलगत्तै गरेको सम्बोधनमा शर्मा र आफूमाझ विगतमा कांग्रेसमा देखिने गरेको नेतृत्व द्वन्द्व दोहोरिन नदिने प्रस्ट पारेका छन्। विगतमा परिवर्तनको नेतृत्व गर्ने नेताहरू पार्टी सञ्चालन र राष्ट्रिय जिम्मेवारीमा पुगेपछि आपसी विवादमा अल्झिने गर्दा धेरै छेदविक्षेत बेहोर्नु परेको भन्दै उनले आफू र शर्माले त्यो परिभाषा बदल्न चाहेको बताएका छन्। थापाको यो भनाइ राजनीतिक रूपमा अर्थपूर्ण छ। अब त्यो प्रतिबद्धता व्यवहारमा कति देखिन्छ भन्नेले नयाँ नेतृत्वको प्रभावकारिता निर्धारण गर्नेछ।
नयाँ कार्यसमितिमा युवा पुस्ताको उपस्थिति उल्लेख्य छ। विधानले ३५ वर्षमुनिका युवाका लागि केन्द्रीय सदस्यमा आरक्षणको व्यवस्था गरेको छ। यसबाट ३५ वर्ष मुनिका मात्रै २१ जना युवा केन्द्रीय सदस्य बनेर आएका छन्। लामो समय विद्यार्थी राजनीति र पार्टी संगठनमा सक्रिय रहेको पुस्ता यसपटक एकैपटक केन्द्रीय नेतृत्वमा प्रतिस्पर्धा गर्न आइपुगेको छ। पुरानो पुस्ताका धेरै नेता पराजित भएका छन् भने केही प्रतिस्पर्धामै उत्रिएनन्। यसले कांग्रेसको नेतृत्वमा पुस्तान्तरण को मुद्दा थप बलियो बनाएको छ।
तर युवा अनुहारको बाहुल्यले मात्रै पार्टीको रूपान्तरण सुनिश्चित गर्दैन। उनीहरूलाई संगठन सञ्चालन, नीति निर्माण र जनतासँगको सम्बन्धमा परिणाम देखाउने जिम्मेवारी छ। त्यस्तै, थापाभन्दा माथिल्लो पुस्ताका अनुभवी नेताहरूलाई पार्टीको मूल प्रवाहमा राख्नु पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ। कांग्रेसमा पुरानो पुस्ताको ठूलो संगठनात्मक आधार अझै छ। त्यसलाई बेवास्ता गरेर वा अलग राखेर पार्टीलाई एकताबद्ध बनाउन कठिन हुनेछ। अहिलेको केन्द्रीय कार्यसमितिको अनुहारले देखाएको थापाको यो अर्को चुनौती हो।
२९७ सदस्यीय केन्द्रीय कार्यसमितिलाई कामकाजी बनाउनु चुनौती छ । यति ठूलो संख्याको कार्यसमिति बैठक नै पार्टी प्यालेसमा गर्नुपर्ने अवस्था छ। जिम्मेवारीको स्पष्ट बाँडफाँट, नियमित छलफल, निर्णय कार्यान्वयन र संगठनसँगको समन्वय सहज हुने छैन। पदाधिकारी र केन्द्रीय सदस्यबीच प्रभावकारी कार्यविभाजन गर्न नसके ठूलो कार्यसमिति निर्णय प्रक्रियालाई छरितो बनाउनेभन्दा बोझिलो बनाउने जोखिम छ। मनोनयनबाट आउने ६६ सदस्य छान्दा पनि थापाले सन्तुलन र समावेशिताको परीक्षा दिनुपर्नेछ।
थापाले सभापतिमा प्राप्त गरेको ९४.४ प्रतिशत मत उनको नेतृत्वप्रतिको बलियो विश्वास हो। नियमित महाधिवेशनको परिणामले विशेष महाधिवेशनबाट अघि सारिएको नेतृत्वलाई थप वैधता पनि दिएको छ । तर मतको विश्वासलाई संगठनात्मक एकता, प्रभावकारी कार्यसम्पादन र राजनीतिक परिणाममा उनी कति सफल हुन्छन् भन्ने हेर्न बाँकी छ ।
कुलचन्द्र कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनी राजनीतिक दल, संसदीय मामिलासँग सम्बन्धित बिषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।