प्रशिक्षणमा नेपालका १४ खेलाडी सहभागी थिए । प्रशिक्षणको समापनका अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा ह्वीलचेयर रग्बी संघले बीआईएलाई ३९–३६ ले पराजित गर्यो ।
काठमाडौँ — नेपालमा ह्वीलचेयर रग्बी खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीनदिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ह्वीलचेयर रग्बी संघ नेपालको आयोजना तथा बीआईए इन्स्टिच्युट र नेपाल रग्बी संघको सहकार्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबारदेखि प्रशिक्षण सुरु भएको थियो ।
प्रशिक्षणमा नेपालका १४ खेलाडी सहभागी थिए । प्रशिक्षणको समापनका अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा ह्वीलचेयर रग्बी संघले बीआईएलाई ३९–३६ ले पराजित गर्यो । दुवै टोलीका खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रशिक्षण सञ्चालनका लागि अमेरिकी ह्वीलचेयर रग्बी प्रशिक्षक माइकल स्टिभ केयरलीको नेतृत्वमा पााच सदस्यीय टोली नेपाल आएको थियो । टोलीमा मेरुदण्डको चोटपछिको पुनःस्थापनासम्बन्धी विशेषज्ञ डा. जेफ्री क्रेग बर्लिनर र अमेरिकी ह्वीलचेयर रग्बी खेलाडी लोगन डिन फुलर सहभागी थिए ।
तीनदिने प्रशिक्षणमा ह्वीलचेयर सञ्चालन, खेलकौशल, रणनीति, शारीरिक क्षमता विकास, चोटपटकको जोखिम न्यूनीकरण तथा स्वास्थ्य र पुनःस्थापनासम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रमले नेपाली खेलाडीलाई ह्वीलचेयर रग्बीका प्राविधिक पक्ष र खेल सञ्चालनका आधारभूत सीप सिक्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।
प्रमुख अतिथि नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले ह्वीलचेयर रग्बीजस्ता खेलले आपसी सद्भाव र सहकार्य बढाउनुका साथै खेलाडीको मनोबल उच्च बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य मोनालिसा खम्बु, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, महासचिव गोविन्द घिमिरे, कोषाध्यक्ष दीपक अधिकारी, केशवप्रसाद सिटौला, राखेपका प्रतियोगिता प्रमुख मीनप्रसाद शर्मा तथा अभिनेत्री विपना थापालगायतको उपस्थिति थियो ।
अभिनेत्री थापाले यसअघि पनि अपाङ्गता भएका व्यक्तिसाग विभिन्न खेलसम्बन्धी गतिविधिमा सहभागी हुने अवसर पाए पनि ह्वीलचेयर रग्बीको अनुभव फरक र विशेष लागेको बताइन् ।