Trending
Prev Story
Next Story

अर्घाबाट उठेको सराय, पुस्तौंदेखि उस्तै उमंग

Ekantipur •
October 26, 2026 • 04:30 PM
1
1 reads 0 reactions

हरेक वर्ष दसैंको टीकापछि सुरु हुने सराय कोजाग्रत पूर्णिमामा भव्य रूपमा नाचेर बिदाइ गरिन्छ ।

अर्घाबाट उठेको सराय, पुस्तौंदेखि उस्तै उमंग

हरेक वर्ष दसैंको टीकापछि सुरु हुने सराय कोजाग्रत पूर्णिमामा भव्य रूपमा नाचेर बिदाइ गरिन्छ ।

अर्घाखाँची — जब ‘ओख्खै हो !’ भन्दै ढोल र दमाहाको तालसँगै अर्घा दरबारको आँगन गुञ्जिन्छ। हातमा तरबार, निधारमा रातो टीका र घाँटीमा धजा बाँधेका युवाहरू ताल मिलाउँदै नाच्छन्। तरबार ठोक्किन्छन्, काँध जुध्छन्, बाजाको तालसँगै भीड उत्साहित हुन्छ। कसैले नाच्छन्, कसैले दृश्य मोबाइलमा कैद गरेर सामाजिक सञ्जालमा बाँड्छन्।

एकादशीदेखि जिल्लाका विभिन्न दुर्गाभगवती मन्दिरमा सञ्चालन भएको सराय आज अर्घा दरबारबाट पूर्णिमाका दिन विशाल सराय जात्रा गरेर दसैँलाई बिदाइ गर्ने यहाँको परम्परा रहेको छ। सरायको सुरुवात यहीँबाट भएको भनाइ छ।

पश्चिम नेपालमा प्रचलित सराय नाचको उद्गमस्थल अर्घा दरबार परिसरस्थित कालिका दुर्गाभगवती मन्दिरमा सोमबार कोजाग्रत पूर्णिमाका दिन देखिने यो दृश्य केवल धार्मिक उत्सव होइन। यसमा पुर्खाको इतिहास, पुस्तान्तरण हुँदै आएको सीप र जन्मथलोसँग जोडिएको भावनात्मक सम्बन्ध एकैसाथ अभिव्यक्त हुन्छ।

हरेक वर्ष दसैँको टीकापछि सुरु हुने सराय कोजाग्रत पूर्णिमामा भव्य रूपमा नाचेर बिदाइ गरिन्छ। मन्दिरमा विधिपूर्वक पूजा गरेपछि सुरु हुने जात्रामा बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी भएका थिए। खुँडा, तरबार र भालासहित नाचिने सरायमा ढोल, दमाहा, सनाई र झ्यालीको तालले उत्सवलाई थप रोमाञ्चक बनायो।

स्थानीय युवा कृष्ण आचार्य अर्घा दरबारस्थित कालिका भगवती मन्दिरमा तीन दशकदेखि सराय नाच्दै आएका छन्। उनलाई सराय खेल्ने तरिका हजुरबुबा तुल्सीराम आचार्यले सिकाएका हुन्। अहिले उनी आफ्ना छोराछोरी र छिमेकका युवालाई पनि यो संस्कृति सिकाइरहेका छन्। ‘हजुरबुबा र गाउँका पाका पुस्ताबाट सराय खेल्न सिकेँ । अहिले नयाँ पुस्तालाई सिकाउने गरेको छु,’ उनले भने, ‘सराय खेल्दा बेग्लै आनन्द, ऊर्जा र जोश आउँछ।’

कृष्णका लागि सराय मनोरञ्जनमा सीमित छैन। यसले धार्मिक आस्था जगाउने, एकअर्कालाई सहयोग गर्ने र सामाजिक सद्भाव कायम राख्ने भावना विकास गर्ने उनको बुझाइ छ। पुर्खाबाट सिकेको संस्कृति आफ्ना सन्तानसम्म पुर्‍याउन पाउँदा उनी गर्व गर्छन्।

सरायको जीवन्तता वर्षमा एकपटक मन्दिरको आँगनमा नाच निकाल्नुमा मात्र छैन। एउटा पुस्ताले अर्को पुस्तालाई यसको सीप, महत्त्व र सांस्कृतिक अर्थ बुझाउन सक्नुमा छ। हजुरबुबाले सिकाएको नाच नातिले सिक्नु र नातिले आफ्ना सन्तानलाई सिकाउनु नै परम्पराको निरन्तरता भएको उनले बताए ।

बार एसोसिएसनका जिल्ला अध्यक्ष एवं स्थानीय अधिवक्ता जगन्नाथ भुसालले पनि सरायको सीप आफ्ना बुबा लोकनाथ भुसालबाट सिकेका हुन्। उनले अर्घामा करिब १२ वर्ष तरबार नचाएर सराय खेले। अहिले भने उनी दर्शकका रूपमा नाच हेर्छन्।

उनका अनुसार सरायमा हतियार नचाउनु मात्र पर्याप्त हुँदैन। ढोल र दमाहाको ताल बुझ्नुपर्छ। जोडी मिलाएर नाच्नुपर्छ। काँध ठोक्काउने, तरबार र भाला नचाउने तथा चाल मिलाउने काममा सीप र तालमेल चाहिन्छ।

‘सराय प्राविधिक तरिकाले खेल्ने नाच हो। बाजाको तालसँगै सबैले मिलेर नाच्नुपर्छ,’ उनी भन्छन्।

भुसाललाई पुरानो समयको सराय अझै सम्झना छ। त्यतिबेला सराय खेल्न आउनेहरू बिहानै नुहाएर चोखो भई नयाँ कपडा लगाउँथे। पुरुषले दौरा–सुरुवाल, कोट वा भोटो लगाउँथे भने महिलाले चोलो, पटुकी र पछ्यौरा लगाएर आउँथे। मन्दिरमा दर्शन गरेपछि दही, केरा र तरुलजस्ता खानेकुरा किनेर खाने वा घरबाटै कन्दमूल ल्याउने चलन थियो।

‘हजुरबाको पालामा सरायको छुट्टै लय र पहिचान थियो । अहिले पहिरन र नाच्ने शैलीमा परिवर्तन आएको छ,’ उनले थपे, ‘कतिपय युवा नाचमा सहभागी हुनुभन्दा मोबाइलमा व्यस्त देखिन्छन्।’

समयसँगै पहिरन र प्रस्तुतिमा परिवर्तन आउनु स्वाभाविक हो। तर नाचको मौलिक लय, तालमेल र सांस्कृतिक अर्थ हराउँदै गएमा सरायको पहिचान कमजोर हुन सक्ने उनको चिन्ता छ। त्यसैले यसको संरक्षणका लागि नाचको शैली, बाजाको ताल र पुराना पुस्ताका अनुभव अभिलेख गर्नु आवश्यक देखिने उनले बताए।

हंसपुरका बाबुराम खड्का तीन वर्ष वैदेशिक रोजगारीमा बिताएपछि यसपालि दसैँ मनाउन घर फर्किए।

बाल्यकालदेखि नै सरायप्रति रुचि राख्ने उनी मलेसियामा रहँदा गाउँको सराय सम्झन्थे। पछि सामाजिक सञ्जालमा देखिने भिडियो हेरेर मन बुझाउँथे।

घर फर्किएपछि उनी सकेसम्म धेरै मन्दिरमा हुने सरायमा पुगे। कहिले बाजा बजाए, कहिले झ्याली समाए त कहिले तरबार नचाएर नाचमा सहभागी भए।

‘विदेशमा हुँदा सराय सम्झन्थेँ। फेसबुकमा भिडियो हेरेर रमाउँथे। यसपालि आफैँ सहभागी हुन पाएँ,’ उनले भने, ‘सराय खेल्दा बेग्लै खुसी र ऊर्जा मिल्छ। मन शान्त हुन्छ।’

दुई महिनाको बिदामा आएका खड्काले सरायका तस्बिर र भिडियो मोबाइलमा कैद गरेका छन्। विदेश फर्किएपछि गाउँको सम्झना ताजा बनाउन ती दृश्य हेर्ने उनको योजना छ।

उनका लागि सराय आफन्त, साथीभाइ र जन्मथलोसँग पुनर्मिलन गर्ने अवसर पनि हो। दसैँमा घर फर्किँदा परिवारसँग भेट हुन्छ, तर सरायमा पुग्दा पुराना साथी भेटिने र नयाँ मानिससँग चिनजान हुने उनी बताउँछन्।

खड्काको अनुभवले सरायलाई धार्मिक उत्सवमा मात्र सीमित राख्दैन। यसले विदेशमा रहेका नेपालीलाई आफ्नो जन्मथलो, समुदाय र सांस्कृतिक पहिचानसँग जोडिराख्छ। भौगोलिक रूपमा टाढा पुगे पनि संस्कृतिप्रतिको भावनात्मक सम्बन्ध भने टुटेको छैन।

तर, गाउँमा युवा घट्दै जानु परम्परा जोगाउने चुनौती बनेको उनले बताए।

सराय नाचको उत्पत्तिबारे धार्मिक विश्वास र ऐतिहासिक व्याख्या प्रचलित छन्। धार्मिक मान्यताअनुसार देवीदेवताले दैत्य र दानवमाथि विजय प्राप्त गरेपछि खुसीयाली मनाउन युद्धमा प्रयोग भएका हतियार प्रदर्शन गर्दै नाचगान गर्ने परम्पराबाट सराय सुरु भएको विश्वास गरिन्छ। हतियार नचाएर देवीको जयजयकार गर्दा देवी प्रसन्न हुने धार्मिक आस्था पनि छ।

अर्घा महाकाली भगवती मन्दिर तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालका अनुसार अर्घाबाटै सराय नाच सुरु भएको किंवदन्ती छ। अर्घाकोट र खाँचीकोटसँग जोडिएको यो परम्परा अर्घाखाँचीका विभिन्न स्थान हुँदै अन्य जिल्लासम्म फैलिएको उनले बताए। ‘अर्घाको सराय यहाँको इतिहास, आस्था, वीरता, संस्कृति र सामाजिक सद्भावलाई एउटै लयमा जोड्ने मौलिक सम्पदा हो,’ उनी भन्छन्।

फूलपातीदेखि मन्दिरमा धार्मिक विधिअनुसार पूजा गरिन्छ र कोजाग्रत पूर्णिमामा विशाल सराय जात्रा गरेर दसैँ बिदाइ गरिएको छ। अर्घाबाट सुरु भएको मानिने सराय मालारानी, रागामारे, ठाडा, भण्डारथुम र सन्धिखर्कलगायत स्थानमा हुँदै गुल्मी, पाल्पा र प्युठानसम्म फैलिएको छ। पहाडबाट तराईमा बसाइँ सरेका समुदायले त्यहाँ दुर्गाभगवतीका मन्दिर स्थापना गरी सरायलाई निरन्तरता दिएको उनको भनाइ छ। अहिले रुपन्देही, कपिलवस्तु र दाङलगायत जिल्लामा पनि सराय नाचिन्छ।

रंगीचंगी ध्वजापताकाले सजाइएको आलमलाई देवीको प्रतीकका रूपमा लिइन्छ। ढोल र दमाहाको ताल, ‘ओख्खै हो’ को गुञ्जन र हतियारको प्रदर्शनले नाचलाई विशिष्ट बनाउँछन्। यसमा धार्मिक आस्था, सामूहिक सहभागिता र स्थानीय पहिचान एकसाथ जोडिएका छन्।

सरायको ऐतिहासिक पृष्ठभूमिबारे संस्कृतिविद् राजेन्द्रकुमार आचार्यले मध्यकालीन अर्घाराज्यसँग जोडिएको व्याख्या प्रस्तुत गरेका छन्। उनका अनुसार वि.सं. १३८१ तिर दिल्लीबाट फौजसहित आएका राजा जिल्ला राईले अर्घामा तत्कालीन गुरुङ राजासँग युद्ध गरी १७ मौजा कब्जा गरेका थिए। त्यस विजयको खुसीयालीमा बडादसैँको कोजाग्रत पूर्णिमाका दिन सराय नाच नचाउने, दही–केरा र बक्सिस बाँड्ने परम्परा सुरु भएको उनको भनाइ छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2w ago
सराय नाचको महिमा

सराय नाचको महिमा

पश्चिम नेपालमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सराय नाच कोजाग्रत पूर्णिमाको अवसरमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीका विभिन्न कोतघर तथा देवीका शक्तिपीठमा विशेष पूजाआज...

#सराय
Compare →
Onlinekhabar
1d ago
राक्षस वधको खुसीयालीमा बर्सेनि नाचिन्छ ‘डल्ले सराय’

राक्षस वधको खुसीयालीमा बर्सेनि नाचिन्छ ‘डल्ले सराय’

२६ कात्तिक, प्युठान । ढोल–मादलको तालमा तरबार उचाल्दै गाउँलेहरू ‘वाख्यै... वाख्यै...’ भन्दै नाचिरहेका थिए । कसैको गलामा फूलको माला थियो, कसैको हातमा तरबार । भाइटीकाको भोलिपल्ट प्यूठान नगरपालिका–७, पुण्यखोलामा देखिएको यो दृश्य पुस्तौँ पुरानो ‘डल्ले सराय …

#सराय
Compare →

Related Stories

World News
Build #2611