विराटनगरका रेस्टुरेन्ट व्यवसायी मनोज खत्रीको मृत्यु प्रकरणमा परिवारले दिएको आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरीका आधारमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर — विराटनगरका रेस्टुरेन्ट व्यवसायी मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले उनी कार्यरत रेस्टुरेन्टकी २७ वर्षीया क्यासियरलाई पक्राउ गरेको छ। मोरङको केराबारीस्थित धारापानी जङ्गलमा मृत भेटिएका खत्रीको परिवारले दिएको आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरीका आधारमा युवतीलाई नियन्त्रणमा लिइएको हो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार घटनाबारे अनुसन्धान गर्न युवतीलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले परिवारले लगाएका आरोपको सत्यता र खत्रीको मृत्यु हुनुअघिका घटनाक्रमबारे अनुसन्धान गरिरहेको छ।
विराटनगरमा पिजफायर रेस्टुरेन्ट सञ्चालन गर्दै आएका ५१ वर्षीय खत्री र पक्राउ परेकी युवतीबीच प्रेम सम्बन्ध रहेको तथा आर्थिक कारोबारमा विवाद उत्पन्न भएको परिवारका सदस्यको दाबी छ। यही विवादका कारण खत्रीको मृत्यु भएको हुन सक्ने आशङ्कासहित परिवारले प्रहरीमा जाहेरी दिएको हो। तर, उनीहरूबीचको सम्बन्ध, आर्थिक विवाद र मृत्युबीचको सम्बन्ध पुष्टि हुन बाँकी छ।
प्रहरीले खत्रीको मोबाइल फोनको कल विवरणसमेत अध्ययन गरिरहेको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब १ बजे युवतीले खत्रीलाई फोन गरेको देखिन्छ। उनीहरूबीच एक मिनेटभन्दा कम समय कुराकानी भएको थियो। त्यसलगत्तै खत्री स्कुटर लिएर घरबाट निस्किएका थिए। त्यसपछि उनी परिवारको सम्पर्कमा आएनन्।
खत्री विराटनगर महानगरपालिका–३ का बासिन्दा थिए। उनी घर नफर्किएपछि परिवारका सदस्यले रेस्टुरेन्टकी क्यासियरलाई सम्पर्क गरेर उनको अवस्थाबारे सोधेका थिए। युवतीले आफू खत्रीसँग नभेटेको र उनी कहाँ गएको भन्ने जानकारी नभएको बताएको प्रहरीको भनाइ छ।
परिवारका सदस्यले भने खत्री र युवतीबीच भेट भएको हुन सक्ने र भेटका क्रममा विवाद उत्पन्न भएको आशङ्का गरेका छन्। तर, उनीहरूबीच भेट भएको थियो वा थिएन भन्ने विषयमा प्रहरीले पुष्टि गरिसकेको छैन। घटनाअघि र पछि भएका गतिविधि तथा उपलब्ध प्रमाणका आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
झापा घर भएकी युवती अविवाहित रहेको बताइएको छ। खत्री विवाहित थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।
वैदेशिक रोजगारीको अनुभवपछि नेपाल फर्किएका खत्रीले विराटनगरमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए। उनी छ वर्ष जर्मनी बसेर फर्किएका थिए। त्यसपछि आर्थिक अवस्था सुधार्ने उद्देश्यले दुई वर्ष दुबईमा बिताए। दुबईबाट फर्किएपछि उनले विराटनगरको गोल्छा चोक र पिपल चोकमा पिजफायर रेस्टुरेन्ट सञ्चालन गरेका थिए।
शुक्रबारदेखि सम्पर्कविहीन भएका खत्री शनिबार दिउँसो करिब ३ बजे केराबारीको धारापानी जङ्गलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए। खत्रीको मृत्युको कारण, घटनाअघिको परिस्थितिलगायत विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। युवतीमाथि लागेको आरोप अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।