अनलाइन बेटिङ र खेलसम्बन्धी स्क्याम रोक्न ह्युमन, प्रविधि र ओपन सोर्स इन्टेलिजेन्समार्फत निरन्तर निगरानी गरिनेछ।
काठमाडौँ — नेपाल क्रिकेट एसोसियसननको आयोजनामा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु भएको छ । अघिल्ला दुई संस्करणभन्दा यो संस्करणलाई प्रविधिको प्रयोग, पूर्वाधार विकास, सुरक्षाकर्मी परिचालन सबै हिसाबले व्यवस्थित बनाइएको आयोजकको दाबी छ । लिगलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन नेपाल प्रहरीले कसरी काम गरिरहेको छ भनेर कान्तिपुर टिभीका किरण पौडेल ले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापा सँग गरिएको कुराकानीको अंश :
नेपाल प्रिमियर लिग २०२६ को सुरक्षा व्यवस्थापन कसरी गरिएको छ ?
नेपाल प्रहरी र जिल्ला प्रहरी परिसर, काठमाडौं, आयोजक नेपाल क्रिकेट संघ र जिल्ला सुरक्षा समितिबीच समन्वयमा सुरक्षा योजना बनाएको छ । गत वर्षको अनुभवका आधारमा यस पटक सुरक्षा व्यवस्था अझ सुदृढ बनाइएको छ ।
सुरक्षाका लागि कस्ता प्रविधि र साधन प्रयोग गरिनेछन् ?
सीसीटिभी क्यामेरा, आवश्यकताअनुसार ड्रोन, र डग स्निफिङ (प्रहरी कुकुर)सहितको सुरक्षा टोली प्रयोग गरिनेछ । साथै आधुनिक वैज्ञानिक उपकरण, प्रविधि र नवप्रवर्तन पनि प्रयोग हुनेछन् ।
सुरक्षा कसरी विभाजन र परिचालन गरिएको छ ?
विभिन्न सेक्टरमा कमान्ड पोस्ट स्थापना गरिएको छ । खोज, उद्धार र निकासी (सर्च, रेस्क्यु एन्ड इभ्याकुएसन)का लागि २४ वटा सेक्टर पहिचान गरिएको छ । सुरक्षाका लागि १२ सय २५ भन्दा बढी सुरक्षाकर्मी एनपीएल सुरक्षामा खटिने छन् । यसबाहेक एक सयभन्दा बढी सादा पोसाकमा सुरक्षाकर्मी परिचालन हुनेछन् ।
अवैध गतिविधि र अनलाइन बेटिङ तथा स्क्याम रोक्न के गरिनेछ ?
ह्युमन इन्टेलिजेन्स, प्रविधिमा आधारित इन्टेलिजेन्स र ओपन सोर्स इन्टेलिजेन्स प्रयोग गरेर निगरानी गरिनेछ । अनलाइन बेटिङ, स्पोर्टस् स्क्याम जस्ता गतिविधिको मनिटरिङका लागि विशेष व्यवस्थापन गरिएको छ । नेपालको कानुनले अनलाइन बेटिङलाई प्रतिबन्धित र गैरकानुनी अपराधको रूपमा परिभाषित गरेको छ ।
सर्वसाधारण र सम्बन्धित सबैसँग प्रहरीको अपेक्षा के हो ?
प्रतियोगिता खेल भावना, सद्भाव र सामाजिक एकताका साथ सम्पन्न होस् भन्ने अपेक्षा गरिएको छ । गैरकानुनी क्रियाकलापबाट टाढा रहन र आफ्नो दायित्व पूरा गर्न आग्रह गरिएको छ । साथै गत वर्षका कमजोरी र सुरक्षा ग्यापको आकलन गरी यस पटक सुधार गरिएको छ ।
किरण पौडेल कान्तिपुर मिडिया ग्रुपका संवाददाता हुन् । उनी अदालत र न्याय प्रणालीका रिपोर्टिङ गर्छन् ।