अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सुरुवात देखिनै अध्यागमन नीतिमा कडाइ गर्दा त्यसको प्रत्यक्ष प्रभाव प्रदान गरिने भिसामा देखिएको हो ।
अमेरिका — अमेरिकी सरकारले अध्यागमन नीति परिवर्तन गर्दा त्यसको प्रत्यक्ष प्रभाव विदेशीले प्राप्त गरिसकेको भिसामा देखिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेसँगै अध्यागमन नीतिमा गरेको कडाइका कारण अमेरिकी सरकारले २ लाख ५० हजार भिसा रद्द गरेको सूचना सार्वजनिक गरेको छ ।
अध्यागमनसम्बन्धी संघीय विभाग युएस डिपार्टमेन्ट अफ स्टेटको तथ्यांकअनुसार ट्रम्पको दोस्रो कार्यकाल ( जनवरी २०२५) सुरु भएयता २१ महिनामा २ लाख ५० हजार भिसा रद्द गरिएको हो । भिसा प्राप्तपछि नियम विपरीत अमेरिकामा बसोबास गर्दै आएका, विभिन्न अपराधिक गतिविधिमा संलग्न, नियम विपरीत अमेरिकाभित्र रोजगारी गर्दै आएका, ठगीमा संलग्न, भिसा नियम उल्लंघन गरेका, आप्रवासन प्रणाली र पर्यटन भिसा दुरुपयोग गरेका विदेशी नागरिक पहिचान गरेर भिसा रद्द गरिएको युएस डिपार्टमेन्ट अफ स्टेटले उल्लेख गरेको छ ।
अध्यागमनसम्बन्धी नयाँ नियमहरू १ अक्टोबर २०२६ देखि लागू भएपछि त्यसअघि कार्यान्वयनमा ल्याइएको नीतिका कारण छोटो अवधिमा धेरै विदेशी नागरिकको भिसा रद्द गर्न सफल भएको युएस डिपार्टमेन्ट अफ स्टेटको दाबी छ । भिसा रद्द गरिएकामध्ये २ हजार ३ जना गर्भवती विदेशी महिला शिशुलाई जन्म दिन अमेरिका आउने प्रक्रियामा थिए । विदेश मन्त्रालयका प्रवक्ता टोम्मी पिगटले भिसा रद्द गर्नु आवेदनकर्ताहरूको विस्तारित स्क्रिनिङसँग जोडिएको बताएकी छन् ।
प्रवक्ता टोमी पिगटले सामाजिक सञ्जाल ‘एक्स’मार्फत तथ्यांक सार्वजनिक गर्दै ट्रम्प प्रशासनले इतिहासमै सबैभन्दा द्रुत गतिमा र सर्वाधिक भिसा रद्द गरेको दाबी समेत गरेका छन् । पिगटले कानुन उल्लंघन गर्ने, ठगी वा राष्ट्रिय सुरक्षामा आँच पुर्याउने भिसावाहक विदेशीहरूप्रति सरकारको शून्य सहनशीलता आवश्यक रहेको बताउँदै आएका थिए ।
विदेश मन्त्रालयले भ्रष्टाचार आरोपका कारण बोलीभिया, कोलम्बिया, इक्वाडोर र पेरुका २७ वर्तमान तथा पूर्व अधिकारी र तिनीहरूको परिवारका सदस्यहरूको भिसा पनि रद्द गरेको तथ्यांकमा उल्लेख छ । १ अक्टोबर देखि स्टेट डिपार्टमेन्टले नयाँ प्रकारका गैरआप्रवासी भिसामा विस्तार गरेको छ । यसले भिसाको लागि आवेदन दिइरहेका विदेशी मिडियाका प्रतिनिधिहरू, क्यानडा र मेक्सिकोमा विभिन्न पेशासँग सम्बन्धित भिसा आवेदनकर्ताहरू र तिनीहरूका परिवारका सदस्यहरुलाई समेट्ने स्टेट डिपार्टमेन्टले जनाएको छ ।
यस्ता आवेदकहरूको सामाजिक सञ्जाल प्रोफाइल निगरानी गर्ने तयारी गरिएको छ । अमेरिकी प्रशासनले बी १ र बी २ भिसामा अमेरिका प्रवेश गरेपछि शरणको लागि आवेदन दिएका करिब २ लाख विदेशी नागरिकको व्यापार र पर्यटक भिसा रद्द गर्ने तयारी गरेको स्टेट डिपार्टमेन्टले जनाएको छ । डेपुटी सेक्रेटरी अफ स्टेट क्रिस्टोफर ल्यान्डाउले यसलाई आधारहीन शरणको दाबी भएको बताउँदै रद्दको प्रक्रिया अघि बढाउने बताएका छन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो अध्यागमन नीति कडाइ र देश निकाला अभियानको उद्देश्य आन्तरिक सुरक्षा सुदृढ गर्नु रहेको बताउँदै आएका थिए । राष्ट्रपति ट्रम्पको योजना, निर्देशनअनुसार नै विदेश मन्त्रालयले भिसा उपलब्ध गराउने प्रक्रियामै कडाइ गर्दै आएको थियो । राष्ट्रपति ट्रम्पले अमेरिका प्रवेशमा अनावश्यक मापदण्ड कडाइका साथ अघि बढाएको भन्दै अधिकारकर्मीहरूले यस कदमले उचित कानुनी प्रक्रिया र अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लंघन गरेको दाबी गर्दै आएका छन् । अधिकारकर्मीहरूले आफ्ना आलोचकहरूलाई निशाना बनाउन राष्ट्रिय सुरक्षाको बहाना बनाएको र ठगीका केही न्यून संख्याका घटनालाई लिएर लाखौं विदेशी समुदायको भिसा रद्द गर्नु गलत भएको टिप्पणी गर्दै आएका छन् ।
सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।