किराना पसलबाट व्यवसाय थालेका पौडेलले संघको नेतृत्व सम्हाल्दा निर्वाचन परिणामले मिश्रित प्यानलको तस्बिर देखाएको छ।
बुटवल — बुटवल उद्योग वाणिज्य संघको २६औँ अधिवेशनबाट अध्यक्षमा व्यवसायी नरीश्वर पौडेल निर्वाचित भएका छन् । उनले अर्का व्यवसायी टंकप्रसाद गैरेलाई २३२ मतले पराजित गरेका हुन् । पौडेलले ८३३ मत प्राप्त गर्दा गैरेले २०१ मत प्राप्त गरेका छन् ।
अध्यक्षसहित विभिन्न पदमा पौडेल र गैरेले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए । तर, निर्वाचनको परिणाम मिश्रित आएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा ७२४ मत प्राप्त गरेर सुरज भट्टराई निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी विमलराज भट्टराईले ६९८ मत प्राप्त गरे । उद्योग उपाध्यक्षमा ७१२ मत ल्याएर दिनेश श्रेष्ठ निर्वाचित हुँदा पौडेल पक्षका निर्मित कसजुले ६९३ मत ल्याए ।
वाणिज्य उपाध्यक्षमा गैरे पक्षका मुक्तिप्रसाद अधिकारी ७१९ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी पौडेल पक्षका बाबुराम विश्वकर्माले ७०० मत प्राप्त गरे ।
त्यस्तै, महासचिवमा पौडेल पक्षका वसन्तप्रसाद ढकालले ७१४ मत प्राप्त गर्दा गैरे पक्षकी जमुना पौडेलले ७०२ मत प्राप्त गरिन् । कोषाध्यक्षमा गैरे पक्षका टीकाराम बञ्जाडे र सचिवमा पौडेल पक्षका दीपकप्रसाद चापागाईं निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित पौडेल किराना पसलबाट व्यवसाय सुरु गरेर बुटवल उद्योग वाणिज्य संघको पूर्ववाणिज्य उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी यसोदा फुड्स, श्रीराम टोबाको, बुटवल हस्पिटल प्रालि, होटल ह्यात प्रालिलगायत दर्जनभन्दा बढी उद्योग तथा व्यवसायका सञ्चालक हुन् । पौडेल अहिले बुटवल उपमहानगरपालिका–४ का वडाध्यक्षसमेत हुन् ।
पेट्रोलियम पदार्थको खरिदबिक्री र अटो व्यवसायबाट उदाएका बुटवलका पुराना व्यवसायी गैरे संघका वर्तमान वरिष्ठ उपाध्यक्ष थिए ।
निर्वाचन अधिकृत बाबुराम पाण्डेका अनुसार सोमबार भएको निर्वाचनमा २६ पदका लागि ५२ जनाले उम्मेदवारी दिएका थिए । एक सदस्य पदमा दुई जनाको मत बराबर भएपछि गोलाप्रथाबाट विजयी घोषणा गरिएको उनले जानकारी दिए ।
२०१० सालमा स्थापना भएको बुटवल उद्योग वाणिज्य संघ काठमाडौं बाहिरको निजी क्षेत्रको ठूलो व्यावसायिक संस्थामध्ये एक हो । त्यसैले यसको नयाँ नेतृत्व चयनलाई चासोका साथ हेरिने गरिन्छ ।
घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।