दसैंमा मंगलबारदेखि कात्तिक ६ गते तथा तिहारमा कात्तिक २४, २५ र २६ गते घरबाट माइती र माइतीबाट घरसम्म निःशुल्क रूपमा सेवा दिइनेछ ।
काठमाडौँ — दसैं र तिहारमा चेलीहरूलाई निःशुल्क यातायात सेवा दिइने भएको छ । अभावमा गुज्रिरहेका चेलीहरूलाई घरदेखि माइतीसम्म र माइतीबाट घरसम्म मोटरसाइकलबाट निःशुल्क सेवा दिने उद्देश्यले ‘दसैं तिहार, चेलीलाई उपहार’ अभियान सञ्चालन गरिने भएको हो ।
अभियानका संयोजक सञ्जयकुमार राईका अनुसार दसैंमा मंगलबारदेखि कात्तिक ६ गते तथा तिहारमा कात्तिक २४, २५ र २६ गते घरबाट माइती र माइतीबाट घरसम्म निःशुल्क रूपमा सेवा दिइनेछ । ‘कतिपय चेलीहरू यातायातका साधन अभाव, त कतिपय पैसाकै अभावले पनि माइती जानबाट वञ्चित हुनुहुन्छ,’ राईले भने, ‘उहाँहरूका लागि निःशुल्क सेवा दिने उद्देश्यले ‘दसैं तिहार, चेलीलाई उपहार’ अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।’
उक्त अभियानअन्तर्गत ३५ किलोमिटरसम्म सेवा दिइने राईको भनाइ छ । यसका लागि ३५ जना युवाहरूले राइडरको भूमिका खेल्ने राईले सुनाए । यसका लागि अन्जना आचार्य, खियामा राई, निराजन ढकाल, अनिषा रम्तेल र प्रकाश विश्वकर्मा रहेको सचिवालयसमेत स्थापना गरिएको छ ।
यो अभियान दुई वर्षअघिदेखि सञ्चालन गरिँदै आएको छ । गत वर्ष ७ सय ५० जना र अघिल्लो वर्ष ५ सय जना चेलीहरूलाई घर माइती, माइती घरसम्मको सेवा दिइएको राईले सुनाए ।
डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।