मृत भेटिनेमा जापानी नागरिक ४० वर्षीय हिदेसुके तानेइशी र २५ वर्षीय तेत्सु हाशिमोतो रहेका छन् ।
लमजुङ — मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई जापानी पर्वतारोही मृत भेटिएका छन्।
मृत भेटिनेमा जापानी नागरिक ४० वर्षीय हिदेसुके तानेइशी र २५ वर्षीय तेत्सु हाशिमोतो रहेका छन्। उनीहरू मनाङको ङिस्याङ गाउँपालिका–६ मा रहेको ७ हजार ४५५ मिटर अग्लो गंगापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएका थिए।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार दुवैको शव बिहीबार गंगापूर्ण हिमालको दक्षिणी भागमा करिब ६ हजार ३०० मिटर उचाइमा फेला परेको हो। अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत खोजी गर्ने क्रममा उनीहरूको शव भेटिएको थियो।
कस्मो एडभेन्चर प्रालिमार्फत नेपाली गाइडसहित मनाङ आएका उनीहरू २४ असोजमा गंगापूर्ण हिमाल आरोहणमा गएका थिए। २९ असोजको राति १०ः५५ बजे करिब ७ हजार ५० मिटर उचाइमा पुगेपछि उनीहरू सम्पर्कविहीन भएका थिए।
जापानी आरोही सम्पर्कमा नआएपछि नेपाली गाइड तुम्बहाङ राईले सम्बन्धित कम्पनीलाई खबर गरेका थिए। त्यसपछि खोजी सुरु गरिएको थियो। २ कात्तिकमा हेलिकोप्टरबाट खोजी गर्दा घटनास्थलमा उनीहरूको झोला र स्टिक फेला परे पनि आरोही भेटिएका थिएनन्।
लगातारको खोजीपछि ६ कात्तिकको बिहान ११ बजे दुवैको शव फेला परेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार हेलिकोप्टरबाट शव काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
शव परीक्षणपछि नेपालस्थित जापानी राजदूतावासको समन्वयमा परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ।
आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।