Trending
Prev Story
Next Story

महिनावारी : शरीरको मौन कथा, रगतको सहज भाषा

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
9
9 reads 0 reactions 4 comments

हरेक महिना स्त्रीशरीरले एउटा स्वाभाविक कथा भनिरहेको हुन्छ । त्यो कथा रगतको भाषामा व्यक्त हुन्छ, कहिलेकाहीँ पीडाको अनुभूतिसँग जोडिन्छ । र शरीरलाई नयाँ सम्भावनाका लागि तयार पार्दै अघि बढ्छ । महिनावारी भनेको केवल रगत बग्ने …

महिनावारी : शरीरको मौन कथा, रगतको सहज भाषा

हरेक महिना स्त्रीशरीरले एउटा स्वाभाविक कथा भनिरहेको हुन्छ । त्यो कथा रगतको भाषामा व्यक्त हुन्छ, कहिलेकाहीँ पीडाको अनुभूतिसँग जोडिन्छ । र शरीरलाई नयाँ सम्भावनाका लागि तयार पार्दै अघि बढ्छ । महिनावारी भनेको केवल रगत बग्ने प्रक्रिया होइन ।

यो स्त्रीशरीरको स्वाभाविक जैविक चक्र हो । तर बिडम्बना, यही प्राकृतिक प्रक्रियालाई लिएर हाम्रो समाजमा अझै पनि लाज, डर, भ्रम र अनेकौँ गलत मान्यताहरू कायम छन् । महिनावारीबारे जान्नु भनेको आफ्नै शरीरलाई बुझ्नु र त्यसको स्वास्थ्यप्रति सचेत हुनु हो ।

महिनावारीमा बग्ने रगत सामान्य घाउबाट निस्कने रगत जस्तो होइन । यसमा रगतसँगै पाठेघरको भित्री तहका कोष र तन्तु तथा अन्य तरल पदार्थ मिसिएका हुन्छन् । त्यसैले यसको रङ गाढा रातो, चम्किलो रातो वा कालो चोक्टा जस्तो हुन सक्छ । महिनावारीको सुरु र अन्त्यतिर रगत कालो देखिनु सामान्य हो । रगत नमेकाले त्यस्तो देखिने हुन्छ ।

महिनावारीमा रगतको मात्रा पनि सबैमा समान हुँदैन । कसैमा कम हुन्छ भने कसैमा तुलनात्मक रूपमा बढी हुन सक्छ । सामान्यतया महिनावारी दुईदेखि सात दिनसम्म रहन सक्छ । कहिलेकाहीँ केही रगतका थोपाहरू मात्र देखिनु पनि सामान्य हो ।

तर रगत अत्यधिक बग्नु, पटकपटक चोक्टाहरू जस्तो निस्कनु, सात दिनभन्दा बढी दिनसम्म रक्तश्राव भइरहनु राम्रो होइन । यसले दैनिक कामकाज प्रभावित हुनुका साथै शरीरलाई कमजोर बनाउँछ । विशेषगरी लगातार धेरै रगत बग्दा रक्तअल्पता हुन सक्छ । त्यसैले महिनावारीको रगतको मात्रा मात्र होइन, त्यसले शरीर र दैनिक जीवनमा पारिरहेको प्रभावलाई पनि ध्यान दिनुपर्छ ।

गर्भधारणका लागि शरीरले गर्ने मासिक तयारीमा महिनावारीको कथा लुकेको हुन्छ । हरेक महिना महिलाको शरीरले सम्भावित गर्भधारणका लागि पाठेघरको भित्री तहलाई बाक्लो बनाउँछ । इस्ट्रोजेन र प्रोजेस्टेरोन जस्ता हार्मोनले यो प्रक्रियालाई नियन्त्रित गर्छ । अण्डाशयबाट निस्किएको अण्डा निषेचित भएर गर्भ नरहेमा यी हार्मोनको सन्तुलन बिग्रन्छ । र पाठेघरको भित्री तह टुक्रिन्छ । यो प्रक्रियासँगै रगत तथा ती टुक्रिएका तन्तु योनीमार्ग हुँदै बाहिर निस्कन्छन् । यही प्रक्रियालाई महिनावारी भनिन्छ ।

अर्थात महिनावारी शरीरको कुनै खराबी होइन । न त शरीरभित्र जम्मा भएको फोहोर वा अशुद्ध रगत बाहिर निकाल्ने प्रक्रिया नै हो। यो प्रजनन प्रणालीको स्वाभाविक जैविक चक्र हो । गर्भधारण नभएको अवस्थामा पाठेघरको भित्री तह टुक्रिएर नयाँ चक्रका लागि शरीर तयार हुनु यसको मूल प्रक्रिया हो ।

तर सबै महिनावारी नियमित हुँदैनन् । कहिलेकाहीँ महिनावारी ढिलो हुन सक्छ, अनियमित हुन सक्छ वा केही समयका लागि रोकिन पनि सक्छ । महिनावारी रोकिनुको एउटा प्रमुख कारण गर्भ हो । त्यसबाहेक अत्यधिक मानसिक तनाव, तौलमा अचानक परिवर्तन, अत्यधिक शारीरिक व्यायाम, पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओडी), थाइरोइडसम्बन्धी समस्या, केही औषधिको प्रयोग तथा स्तनपान आदिका कारण महिनावारी प्रभावित हुन सक्छ । किशोरावस्थाको सुरुवाती वर्ष र रजोनिवृत्तिको नजिकको समयमा पनि महिनावारी अनियमित हुन सक्छ ।

महिनावारी नहुनुलाई सधैँ सामान्य ठानेर बस्नु हुँदैन । पन्ध्र वर्षको उमेरसम्म महिनावारी सुरु नभएमा, पहिले नियमित भइरहेको महिनावारी तीन महिनाभन्दा बढी समयसम्म रोकिएमा वा महिनावारीको चक्रमा असामान्य परिवर्तन देखिएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नुपर्छ । विशेषगरी ४० वर्षको उमेरअघि महिनावारी स्थायी रूपमा रोकिनु वा रजोनिवृत्तिका लक्षण देखिनु पनि चिकित्सकीय मूल्याङ्कनको विषय हो । महिनावारीको अनियमितता कहिलेकाहीँ शरीरभित्र भइरहेको हर्मोनल वा अन्य स्वास्थ्य समस्याको संकेत हुन सक्छ ।

महिनावारीसँग जोडिएको अर्को महत्त्वपूर्ण पक्ष यसको सरसफाइ र व्यवस्थापन हो । सफा प्याड, ट्याम्पोन वा उपयुक्त महिनावारीजन्य सामग्रीको प्रयोग गर्ने, आवश्यकताअनुसार नियमित परिवर्तन गर्ने, प्रयोगपछि सुरक्षित रूपमा विसर्जन गर्ने र सरसफाइमा ध्यान दिने बानी आवश्यक छ ।

महिनावारी केवल व्यक्तिगत स्वास्थ्यको विषय होइन । यो किशोरीको विद्यालय उपस्थिति, महिलाको कार्यक्षमता, पारिवारिक व्यवहार, सामाजिक समानता र स्वास्थ्य सेवामा पहुँचसँग पनि जोडिएको छ । महिनावारीका बेला आवश्यक सरसफाइ सामग्री, सफा पानी, गोपनीयता र सुरक्षित शौचालय उपलब्ध नहुँदा विशेषगरी ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका किशोरी र महिलाले थप कठिनाइ भोग्नुपर्छ । त्यसैले महिनावारी स्वास्थ्यलाई व्यक्तिगत जिम्मेवारीमा मात्र सीमित नगरी परिवार, विद्यालय, समुदाय र राज्यको साझा दायित्वका रूपमा बुझ्नुपर्छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, महिनावारीको पीडा र असहजतालाई सामान्य भनेर बेवास्ता गर्नु हुँदैन । हल्का पेट दुख्नु वा कम्मर दुख्नु धेरैमा देखिन सक्छ । तर असह्य पीडा, अत्यधिक रक्तश्राव, महिनावारीबीचमा रगत देखिनु वा दैनिक जीवन नै प्रभावित हुने अवस्था भएमा चिकित्सकीय जाँच आवश्यक हुन्छ । सबै पीडा सहनैपर्ने हुँदैनन्, सबै अनियमितता सामान्य हुँदैनन् ।

महिनावारी रगतको कथा हो, तर यो लाजको कथा होइन । यो शरीरको भाषा हो, कमजोरीको संकेत होइन । यसलाई बुझ्नु, स्वीकार गर्नु र सम्मान गर्नु नै महिनावारी स्वास्थ्यप्रतिको पहिलो कदम हो । छोरीलाई महिनावारीबारे खुलेर सिकाऔँ, आमालाई आफ्ना समस्या भन्न सहज वातावरण दिऔँ र महिलाको अनुभवलाई सामान्य भन्दै पन्छाउनुको सट्टा ध्यानपूर्वक सुनौँ । महिनावारीबारे खुलेर कुरा गर्न सक्ने समाजले नै महिलाको स्वास्थ्य, सम्मान र समानताको वास्तविक अर्थ बुझ्न सक्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3d ago
अश्रुग्यासले महिलाको महिनावारी बिगारेको आशंका, १० हजार बढी उजुरी

अश्रुग्यासले महिलाको महिनावारी बिगारेको आशंका, १० हजार बढी उजुरी

सन् २०२० मा अमेरिकामा भएको ‘ब्ल्याक लाइभ्स म्याटर’ प्रदर्शनका क्रममा प्रहरीले प्रयोग गरेको अश्रुग्यासबारे एसोसिएटेड प्रेस (एपी) ले गरेको अनुसन्धानले यसको स्वास्थ्य प्रभावबारे पर्याप्त अध्ययन र निगरानी नभएको देखाएको थियो।

#महिनावारी
Compare →
Ekantipur
3d ago
बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्यको कथा सर्वोत्कृष्ट

बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्यको कथा सर्वोत्कृष्ट

‘भोटेकोशीको सुसाहट’ शीर्षकको कथाका लागि आचार्यले दुई लाख पाए । ‘सपनाको अर्को रङ’ कथाका लागि मधुर भट्टराईले एक लाख रुपैयाँसहित द्वितीय र ‘अस्तित्वको अल्गोरिदम’ कथाका लागि सरस्वती सरसले ६० हजार रुपैयाँसहित तृतीय पुरस्कार प्राप्त गरिन् ।

#कथा
Compare →
Hamro Patro News
4d ago
मगर भाषा र संस्कृति जोगाउने अभियान : ५९ सर्जकका सिर्जना समेटिएको ‘निठ्यान’ लोकार्पण

मगर भाषा र संस्कृति जोगाउने अभियान : ५९ सर्जकका सिर्जना समेटिएको ‘निठ्यान’ लोकार्पण

मगर समुदायको भाषा, साहित्य, परम्परा, संस्कृति र इतिहासको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रकाशित ‘निठ्यान (निधो)’ साहित्यिक पत्रिकाको लोकार्पण गरिएको छ। नेपाल मगर संघ जिल्ला कार्यसमिति चि...

#भाषा
Compare →

Related Stories

Health & Wellness
Build #2635