गएराति लागेको आगोले होटलका मुख्य भागमा क्षति पुर्यायो भने निभाउने क्रममा सञ्चालक र दमकल कर्मचारी घाइते भएका हुन् ।
हेटौडा — हेटौंडा उपमहानगरपालिका–५ स्थित एक होटलमा आगलागी हुँदा ४३ लाख रुपैयाँबराबरको सामान जलेर क्षति भएको छ ।
आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–५ पिप्लेस्थित ‘द डोर होटल’मा गएराति आगलागी हुँदा किचन, सभाहल र कोठामा क्षति पुगेको थियो ।
उक्त आगलागीबाट करिब ४३ लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आगो निभाउने क्रममा होटल सञ्चालक आशिष गौतम र दमकलका कर्मचारी नवीन नेपाल सामान्य घाइते भएका थिए । उनीहरूको स्थानीय मेडिकलमा उपचार गरिएको थियो ।
विद्युत् सर्ट भएर राति साढे ११ बजे आगलागी भएको थियो । दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।