प्रधानमन्त्री बालेन्द्र शाहको राजकीय भारत भ्रमण आइतबार सुरु भएको छ। कुनै पनि यात्राको सुरुवात केवल गन्तव्यतर्फको प्रस्थान मात्र होइन, त्यससँग उद्देश्य, जिम्मेवारी र सफलताको कामना पनि जोडिएको हुन्छ। हामीले कसैलाई बिदाइ गर्दा भन्ने ‘शुभयात्रा’ शब्दमा सुरक्षित यात्रा, निर्धारित कार्यमा सफलता र सकुशल घरफिर्तीको कामना समेटिएको हुन्छ। प्राचीन यात्राग्रन्थहरूले पनि यात्राको सफलता सुनिश्चित गर्न शुभ समय, प्रसन्न मन र मङ्गल वचनलाई महत्त्व दिएका छन्।
रामदैवज्ञको मुहूर्तचिन्तामणिको यात्राप्रकरण राजाको यात्राबाट सुरु हुन्छ। पहिलो श्लोकको व्याख्यामा पण्डित केदारदत्त जोशीले ‘राजा’ शब्दलाई उपलक्षण मानेका छन्। अर्थात्, राजाको उदाहरणबाट बताइएका सामान्य नियम तीर्थदर्शन, जीविकोपार्जन वा अन्य प्रयोजनले यात्रा गर्ने मानिसले पनि बुझ्न र उपयोग गर्न सक्छन्। राजाका विशेष अभियानका लागि भने ग्रन्थमा छुट्टै विचार गरिएको छ। आज पनि राजकीय प्रतिनिधिमण्डलको यात्रा र परिवारको तीर्थयात्रामा तयारीको स्तर फरक हुन्छ। दुवैमा यात्राको उद्देश्य, प्रस्थानको समय र बाटोको विचार भने उत्तिकै सान्दर्भिक हुन्छ।
रावल गणपतिको मुहूर्तगणपति (यात्राप्रकरण, श्लोक २११–२१२) र केशवदैवज्ञको मुहूर्ततत्त्वम् (पृ. १५३) मा तत्कालीन राजकीय प्रस्थानका लागि होम, माङ्गलिक वाचन र गन्तव्य दिशाको स्मरण गर्ने विधि उल्लेख छन्। गणपतिको ‘ध्यायन्हृष्टमना व्रजेत्’ भन्ने वचनले प्रसन्न मनले यात्रा थाल्न सुझाउँछ। पूर्वकालामृत (५।६६) ले यात्रुको मनको शुद्धिलाई विशेष महत्त्व दिएको छ। आजको भाषामा त्यसलाई आफू किन जाँदै छु र के जिम्मेवारी बोकेको छु भन्ने कुरा सम्झँदै शान्त र स्पष्ट मनले प्रस्थान गर्ने भावका रूपमा बुझ्न सकिन्छ।
यात्रुको बिदाइमा बोलिने वचनलाई पनि ग्रन्थहरूले महत्त्व दिएका छन्। पूर्वकालामृतको पञ्चम विन्दु (श्लोक ५८) ले मङ्गलध्वनि, शुभ वचन र वेदध्वनिलाई प्रस्थानका शुभ सङ्केत मानेको छ। मुहूर्ततत्त्वम् को श्लोक ८ मा पनि माङ्गलिक वाद्यध्वनि र शुभ वचनको उल्लेख छ। डा. श्रीकृष्ण ‘जुगनू’ले त्यसको व्याख्यामा विट्ठल दीक्षितको मुहूर्तकल्पद्रुम (१६।१११–११६) बाट ‘व्रजेति जीवेति जयेति शब्दः’ भन्ने वचन उद्धृत गरेका छन्। ‘जानुहोस्, दीर्घायु हुनुहोस्, सफलता मिलोस्’ भन्ने यसको भाव हो। बाटो लाग्ने मानिसलाई यस्ता शब्दले बिदाइ गर्दा उसले आफूप्रति गरिएको भरोसा र सद्भाव पनि सँगै लिएर जान्छ।
हाम्रो संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्यका रूपमा परिभाषित गरेको छ भने नेपाली समाज बहुधार्मिक तथा बहुसांस्कृतिक छ। यही विविधताबीच कसैले मनमनै शुभकामना दिन्छन्, कसैले आफ्नो परम्पराअनुसार प्रार्थना गर्छन् त कसैले आत्मीय शब्दमा बिदाइ गर्छन्। विदेश पढ्न जाने सन्तानलाई ‘राम्ररी पुग्नू, पुगेपछि खबर गर्नू’ भन्नुमा माया र जिम्मेवारी दुवै हुन्छन्। यात्रु जुनसुकै आस्था वा परम्पराका भए पनि यस्तो आत्मीयता बुझ्छन्। आफ्ना सहकर्मी विदेशमा जिम्मेवारी सम्हाल्न निस्कँदा ‘काम राम्रोसँग सम्हाल्नुहोस्, हामी यहाँबाट साथ दिन्छौँ’ भन्ने वचनमा पनि उही भरोसा हुन्छ। परिवारको बिदाइ होस् वा सार्वजनिक जिम्मेवारीको यात्रा, पछाडि रहेका मानिसले देखाउने साथ पनि यात्राको तयारीको एउटा अंश हो।
देशको नेतृत्व जसले गरे पनि जनताको हितमा राम्रो काम हुँदा त्यसको लाभ सबैलाई पुग्छ। विचारधारा र आस्था फरक भएका नागरिक पनि त्यस्तो सफलताको कामनामा एक ठाउँमा उभिन सक्छन्। महत्त्वपूर्ण यात्राअघि हरेक व्यक्तिले आफ्नो आस्था, विवेक र अनुभवअनुसार मन तयार गर्न सक्छ। राजकीय यात्राको साझा सङ्कल्प भनेको देश र जनताको हितमा काम गर्नु हो।
पञ्चाङ्गमा समयको गणना कसरी हुन्छ भन्ने एउटा उदाहरण तिथि हो। सूर्य र चन्द्रमाको आकाशीय दीर्घांशको अन्तरलाई १२ अंशका खण्डमा विभाजन गर्दा प्रत्येक खण्डलाई एक तिथि मानिन्छ। नक्षत्रको समय चन्द्रमाको स्थितिका आधारमा निकालिन्छ। तिथि र नक्षत्र परिवर्तन हुने समय आधुनिक खगोलगणनाबाट जाँच्न सकिन्छ। त्यही समयलाई कुनै कामका लागि कसरी उपयोग गर्ने भन्ने निर्णय भने मुहूर्तग्रन्थका परम्परागत नियममा आधारित हुन्छ।
मानौँ, एउटै गन्तव्यका लागि एकै दिन दुईवटा बस छुट्छन् र यात्रुले तीमध्ये एउटा रोज्न सक्छन्। दुई बस छुट्ने समयबीच तिथि वा नक्षत्र परिवर्तन हुन सक्छ। त्यस्तो अवस्थामा स्थानीय पात्रोमा दुवै समय मिलाएर हेर्न सकिन्छ। अर्कोतर्फ, पहिले नै निश्चित भएको यात्रामा समयको विकल्प साँघुरो हुन्छ। प्राचीन ग्रन्थमा उल्लेख गरिएका अपवाद यस्तै बाध्यता भएको अवस्थामा कसरी निर्णय गर्ने भन्ने बुझ्न उपयोगी छन्।
शास्त्रले अपरिहार्य यात्राका लागि पनि बाटो देखाएको छ। मुहूर्तगणपति (श्लोक २७–२८) मा आवश्यक परे केही वर्जित नक्षत्रको सुरुवाती अंश छाडेर प्रस्थान गर्ने उपाय उल्लेख छ। भरणीमा सुरुका सात घटी अर्थात् दुई घण्टा ४८ मिनेट छाड्ने एउटा उदाहरण हो। मुहूर्ततत्त्वम् ग्रन्थको व्याख्या (पृ. १४४) मा पनि अपरिहार्य कामका लागि दिशाशूल टारी गन्तव्य दिशाको लग्नशुद्धि हेरेर परिघदण्ड पार गर्न सकिने श्रीपति र गणपतिको मत दिइएको छ। परिघदण्ड भनेको नक्षत्रलाई दिशाअनुसार राखेर बनाइएको चक्रको विभाजक रेखा हो। यी उदाहरणले नियमसँगै कामको आवश्यकतालाई पनि विचार गर्नुपर्ने देखाउँछन्। उपचार, परीक्षा वा निश्चित उडानका लागि तोकिएको समयमा पुग्नु पहिलो दायित्व हो। समय रोज्ने सुविधा छ भने उपलब्ध समयमध्ये अनुकूल घडी विचार गर्न सकिन्छ।
उपलब्ध समयमध्ये छनोट गर्ने सिद्धान्त पूर्वकालामृत (५।६५) को यो पङ्क्तिमा उल्लेख छ।
यल्लग्नं च गुणाधिकं यदि भवेद् ग्राह्यं न दोषाधिकम्।
अर्थात्, मुख्य दोष टारेर गुण बढी भएको लग्न रोज्नुपर्छ। प्रस्थानका बेला प्रतिकूल सङ्केत देखिए रोकिएर पुनर्विचार गर्ने विधि पनि मुहूर्ततत्त्वम् (१०।१०) र वराहमिहिरको योगयात्रा (१४।३१) मा पाइन्छ। आजको यात्रामा कुनै अवरोध देखिए केही समय रोकिएर बाटो, साधन र तयारी फेरि जाँच्नु त्यस भावको व्यावहारिक प्रयोग हो। केशवदैवज्ञकै ग्रन्थ (पृ. १४६) मा भयका कारण ठाउँ छाड्नुपर्दा प्रतिशुक्रको नियममा अपवाद दिइएको छ। प्रतिशुक्र भनेको यस प्रसङ्गमा यात्रा गर्न लागेको दिशातिर शुक्र सम्मुख परेको अवस्था हो। यसले यात्राको प्रयोजन र परिस्थिति पनि विचारणीय थिए भन्ने देखाउँछ।
यात्राग्रन्थले फर्कने समयलाई पनि महत्त्व दिएका छन्। मुहूर्तगणपतिको यात्राप्रकरण (श्लोक ३२५–३३२) राजाले यात्राबाट फर्केर आफ्नै घर प्रवेश गर्ने समयको विचारसँगै टुङ्गिन्छ। सर्वसाधारणको अनुभवमा पनि घरबाट निस्कने समय तय गरेपछि फर्कने साधन र घर पुग्ने समयबारे पहिल्यै सोच्दा यात्रा सहज हुन्छ। प्रस्थानअघि आवश्यक कागजात जाँच्नु, गन्तव्यको सम्पर्क विवरण राख्नु र योजना परिवर्तन भए कसलाई खबर गर्ने भन्ने तय गर्नु पनि यही तयारीभित्र पर्छ। साइतको विचार गर्ने यात्रुले आफ्नो प्रस्थानलाई यसरी व्यावहारिक तयारीसँग जोड्न सक्छन्।
ऋग्वेदको एउटा प्राचीन वचनले सहयात्रा र संवादलाई सँगसँगै राख्छ।
सं गच्छध्वं सं वदध्वं सं वो मनांसि जानताम्।
सँगै अघि बढौँ, आपसमा संवाद गरौँ र एकअर्काको मन बुझौँ भन्ने यसको भाव हो। छिमेकीसँगको वार्तामा आआफ्ना प्राथमिकता स्पष्ट राख्दै साझा हितका विषय पहिल्याउन यस भावलाई सम्झन सकिन्छ।
वराहमिहिरको योगयात्रा (२।१५) ले यात्रुको आफ्नै गुणमा जोड दिएको छ।
गुणान्वितस्यैव गुणं करोति यात्रा शुभर्क्षग्रहलग्नयोगात्।
अर्थात्, अनुकूल नक्षत्र, ग्रह र लग्नको संयोगले गुणवान् यात्रुको गुणलाई थप बल दिन्छ। आजको राजकीय यात्रामा त्यो गुण वार्ताको तयारी, विषयको ज्ञान र निर्णय गर्ने विवेकमा देखिन्छ। नेपालको हितका विषय तथ्य र स्पष्ट प्राथमिकतासहित राख्नु, अर्को पक्षको कुरा धैर्यपूर्वक सुन्नु र सहमति भएका काम समयमै अघि बढाउनु यात्राको सङ्कल्पलाई व्यवहारमा उतार्ने उपाय हुन्।
भ्रमणबाट जनताले के लाभ पाउँछन् भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ। उदाहरणका लागि, व्यापार र पारवहनमा सहजता खोज्दा त्यसले व्यवसायी र यात्रुले भोग्ने कुन झन्झट कम गर्छ भन्ने स्पष्ट हुनुपर्छ। भ्रमणपछि सहमति भएका काम कसले र कहिलेसम्म अघि बढाउने भन्ने तय भएमा प्रगति मूल्याङ्कन गर्न सजिलो हुन्छ। यसरी प्रस्थानको मङ्गलकामना जनताको जीवनमा देखिने परिणामसँग जोडिन्छ।
प्रधानमन्त्री र सम्पूर्ण प्रतिनिधिमण्डलको यात्रा कुशल रहोस्। भ्रमणले नेपाल र भारतका जनतालाई लाभ पुग्ने सहकार्य बढाओस् र दुई देशबीचको मैत्री सम्बन्ध अझ सुदृढ बनाओस्।
(लेखक वास्तु एवं ज्योतिष अध्येता हुन्।)
प्रकाशित: ६ मंसिर २०८३ १३:०३ आइतबार