जाडोको चिसो हावा र कम आर्द्रताले टाउकोको छालाबाट प्राकृतिक औसिलोपन हटाइदिन्छ । यसले गर्दा छाला सुख्खा हुन्छ र पत्रहरू निस्कन थाल्छन् ।
चिसोबाट बच्न हामी प्रायः गरी तातो पानीले कपाल धुने गर्छौं । यसले टाउकोको छालामा हुने प्राकृतिक तेललाई हटाइदिन्छ, जसले चायाको समस्यालाई अझ बढाउँछ ।
जाडोयाममा घाम कम लाग्छ । घामको कमीले टाउकोको छालामा ढुसी पलाउन मद्दत पुग्छ, जुन चाया आउनुको एउटा मुख्य कारण हो।
न्यानो रहनका लागि सधैं टाउकोमा टोपी लगाइराख्दा त्यहाँ पसिना र फोहोर जम्मा हुन सक्छ । यसले टाउकोको छाला पोल्ने र चाया बढ्ने समस्या हुन सक्छ ।
कडा रसायनहरू भएका स्याम्पु, हेयर जेल वा स्प्रेहरूको अत्यधिक प्रयोगले टाउकोको छालालाई सुख्खा र संवेदनशील बनाउन सक्छ । यो कारणले पनि चाया धेरै देखिन्छ ।
जाडोयाममा हामीलाई तिर्खा कम लाग्ने गर्छ । पर्याप्त पानी नपिउँदा हाम्रो शरीर र टाउकोको छाला दुवैमा पानीको कमी हुन जान्छ । शरीरमा पानीको कमी हुनु पनि चाया देखिने कारण बन्छ ।
अत्यधिक तनाव र कमजोर रोग प्रतिरोधात्मक क्षमताले पनि प्रत्यक्ष रूपमा चाया आउन मद्दत पुर्याउन सक्छ ।