उनले सामाजिक संजालबाट आफु मेयरमा उठने निर्णयमा पुगेको सार्वजनिक गरेकी हुन् । ४ बैशाखमा उनले रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदबाट राजीनामा दिएर दलविहिन बनेकी सुमना श्रेष्ठले आगामी स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
उनले सामाजिक संजालबाट आफू मेयरमा उठ्ने निर्णयमा पुगेको सार्वजनिक गरेकी हुन् । ४ बैशाखमा उनले रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।
उनले मेयर पदको उम्मेदवारीको घोषणा गरेपनि कुनै दलबाट उनी मेयरमा उठ्न लागेकी हुन् वा स्वतन्त्र उठ्ने निर्णयमा पुगेकी हुन् भन्नेबारे खुलाएकी छैनन् ।
मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।
रास्वपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी सुमना २०८० फागुन २३ मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएकी थिइन् ।
संसद्मा छँदा उनले क्यालेन्डर बनाउनुपर्ने माग राखेर त्यसलाई व्यवहारमा उतार्न बाध्य बनाएकी थिइन् भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा समेत सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।
काठमाडौं महानगरपालिका–२६ की स्थायी बासिन्दा श्रेष्ठले व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी छिन् । उनले अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) स्लोन स्कुल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी हुन् ।
त्यसभन्दा अघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्रमा र ह्याभरफोर्ड कलेजबाट गणितमा स्नातक गरेकी थिइन् ।