Trending
Prev Story
Next Story

पर्यटकको रोजाइ बन्दै चौँरी खोज्दै जाँदा भेटिएको रहस्यमयी ताल

Nagarik News •
November 17, 2026 • 07:01 AM
3
3 reads 0 reactions

पर्यटकीय नक्सामा यसको नामसमेत थिएन। न कुनै व्यवस्थित पदमार्ग थियो, न प्रचारप्रसार। चौँरी चराउँदै हिँड्ने गोठालाका लागि भने यो भूगोल अपरिचित थिएन।

पर्यटकको रोजाइ बन्दै चौँरी खोज्दै जाँदा भेटिएको रहस्यमयी ताल

हरियाली बुट्यानले घेरिएको कचौराजस्तो भूगोल। त्यसको बिचमा आकाशजस्तै निलो पानी। तालको शिरमा ठडिएको हिमाल र वरिपरि फैलिएको कालापत्थर। समुद्री सतहबाट करिब चार हजार आठ सय मिटर उचाइमा पुग्दा देखिने यो दृश्य कुनै चित्रकारले बनाएको प्राकृतिक चित्रजस्तै लाग्छ। हिमालको काखमा अवस्थित यो अनुपम सौन्दर्य हो, जुम्लाको आकाशे ताल।

सात वर्षअघि यो तालको चर्चा थिएन। पर्यटकीय नक्सामा यसको नामसमेत थिएन। न कुनै व्यवस्थित पदमार्ग थियो, न प्रचारप्रसार। चौँरी चराउँदै हिँड्ने गोठालाका लागि भने यो भूगोल अपरिचित थिएन। चौँरी हराएपछि खोज्दै जाने क्रममा गोठालाहरू पहिलोपटक तालसम्म पुगेका थिए। विसं २०७६ मा चौँरी गोठालाले पत्ता लगाएको यही ताल अहिले आन्तरिक तथा विदेशी पर्यटकको आकर्षण बन्न थालेको छ।

जुम्लाको गुठिचौर गाउँपालिका-१ का चौँरी गोठालाले संयोगवश पत्ता लगाएको तालको सौन्दर्यले अहिले देश विदेशका पर्यटकलाई लोभ्याउन थालेको छ। स्थानीयको मुखबाट सुरु भएको यसको चर्चा सामाजिक सञ्जाल र श्रव्य दृश्य सामग्री हुँदै पर्यटकसम्म पुगेको छ।

'चौँरी गोठाला मुस्किलले त्यहाँ पुगेका रहेछन्,' गुठिचौर गाउँपालिका-१ का वडाध्यक्ष अर्जुनकुमार महताराले भने, 'चौँरी हराएपछि खोज्दै जाने क्रममा ताल भेटिएको रहेछ।'

कर्णालीकी चेली सृजना सिज्जुसहितको टोलीले पहिलोपटक तालको अवलोकन गरी यसको श्रव्य दृश्य सार्वजनिक गरेपछि बाहिरी संसारमा आकाशे तालको चर्चा हुन थालेको हो। त्यसपछि आन्तरिक पर्यटकहरू त्यहाँ पुग्न थाले।

उनका अनुसार ७५ लाख रुपैयाँको मध्यमसम्म बाटो बनेको छ, केही भागसम्म सडक पुगेको छ। सिडी बनेको छ, गत वर्ष डीपीआर बनिसकेको छ। निकट भविष्यमा सम्बन्धित ठाउँसम्म बाटो पुर्‍याउनेछौँ। ८० लाखदेखि १ करोड रुपैयाँ आवश्यकता छ।

पछिल्लो समय विदेशी पर्यटकसमेत तालको अवलोकन गर्न पुगिरहेका छन्।

आकाशजस्तै निलो पानी देखिने भएकाले स्थानीयले यसलाई आकाशे ताल नाम दिएका हुन्। समुद्री सतहबाट करिब चार हजार सात सय ८० देखि चार हजार आठ सय ६० मिटर उचाइमा रहेको तालको आकार कचौराजस्तो छ। तालको शिरमा दूधकुण्डली हिमाल, तल कालापत्थर र वरिपरि हरिया बुट्यान छन्। हिमाली भूगोलको यो संयोजनले ताललाई विशिष्ट बनाएको छ।

तालको प्रचारप्रसारसँगै स्थानीय युवाका लागि पर्यटन आम्दानीको सम्भावना पनि खुल्न थालेको छ। जुम्लाको पातारासी गाउँपालिका-७ पटमारा गाउँका सीप बुढा यसको उदाहरण हुन्। उनी अहिलेसम्म चार पटक आकाशे ताल पुगिसकेका छन्। चारैपटकको यात्रामा उनको उद्देश्य केवल ताल अवलोकन गर्नु थिएन, पर्यटकलाई जुम्लाको नयाँ गन्तव्यसँग परिचित गराउनु पनि थियो।

पहिलोपटक चार जना विदेशी पर्यटक लिएर ताल पुगेका बुढा दोस्रो पटक स्थानीय साथीहरूसँग पुगे। तेस्रो पटक स्पेनका पर्यटकलाई लिएर गए। एक साताअघि पनि चार जना विदेशी पर्यटकलाई तालसम्म पुर्‍याएको उनले बताए।

उनका अनुसार आकाशे तालको यात्रा तीन दिनको हुन्छ। जुम्ला सदरमुकाम खलंगाबाट गुठीचौर गाउँपालिका-१ को चोत्र गाउँमा पुगेर पहिलो दिन बास बस्नुपर्छ। दोस्रो दिन बेसक्याम्प पुगिन्छ। तेस्रो दिन तालको अवलोकन गरेर पुनः बेसक्याम्प फर्किन सकिन्छ।

बेसक्याम्पसम्म गाडी तथा मोटरसाइकल पुग्छन्। त्यहाँबाट करिब साढे तीन घण्टा पैदल यात्रा गरेपछि तालमा पुगिन्छ। हिमाली भूगोल, उकालो बाटो र कठिन पदयात्रा पार गरेपछि देखिने निलो तालले यात्राको थकान बिर्साउने गरेको छ।

बेसक्याम्पनजिकै स्थानीयले दुई वटा चिया पसल सञ्चालन गरेका छन्। ती पसलमा ३० देखि ४० जनासम्मलाई व्यवस्थापन गर्न सकिने अवस्था छ। पर्यटकको चहलपहलसँगै स्थानीयले चिया, खाना र अन्य सेवामार्फत आम्दानी गर्ने सम्भावना देखेका छन्।

चन्दननाथ नगरपालिका-१० गैरागाउँका चुडाराज न्यौपाने पनि आकाशे ताल पुगेर फर्किएका छन्। उनका अनुसार दसैँ-तिहारको समयमा मात्रै हजारौँ पर्यटक ताल अवलोकन गर्न पुग्ने गरेका छन्।

'ताल हेरेर दूधकुण्ड हुँदै सदरमुकाम झर्‍यो भने अझ रमणीय हुन्छ,' उनले भने।

आकाशे तालको यात्रा एउटा तालको अवलोकनमा मात्र सीमित छैन। यस क्षेत्रको प्राकृतिक भूगोल आफैँमा आकर्षणको अर्को पाटो हो। तालको शिरमा रहेको दूधकुण्डली हिमाल, आसपासका कालापत्थर र हिमाली वनस्पतिले यस क्षेत्रलाई थप मनमोहक बनाएका छन्।

वडाध्यक्ष महताराका अनुसार तालको वरिपरि घुमेर अवलोकन गर्न करिब एक घण्टा लाग्छ। हिमालको फेदीमा निलो पानीले भरिएको तालको दृश्यले यहाँ पुग्ने पर्यटकलाई मोहित बनाउँछ।

स्थानीय दिपकराज बुढा यस क्षेत्रलाई रारा तालसँग जोडेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउँछन्। रारा पुग्ने पर्यटकलाई आकाशे तालसम्म ल्याउन सके जुम्लाको पर्यटनमा नयाँ गन्तव्य थपिने र स्थानीयले रोजगारी पाउने उनको विश्वास छ।

'रारा तालसम्म पुगेका पर्यटकलाई यहाँसम्म ल्याउन सके स्थानीयको आर्थिकस्तर सुधार हुनुका साथै रोजगारीका अवसर सिर्जना हुने थिए,' उनले भने।

ताल अवलोकन गरेर फर्किएकी स्थानीय सम्झना खड्का पनि यसको सौन्दर्यबाट प्रभावित छन्। हिमालको फेदीमा रहेको आकाशे निलो पानीको दृश्यले आफूलाई आकर्षित गरेको उनले बताइन्। तालको प्रचारप्रसार र पर्यटकीय गतिविधि विस्तार गर्न सके कर्णालीको पर्यटनमा महत्त्वपूर्ण योगदान पुग्नेछ।

आकाशे तालको चर्चा बढ्दै गए पनि पर्यटकलाई आवश्यक पर्ने पूर्वाधारको अवस्था कमजोर छ। तालसम्म पुग्ने सुरक्षित पदमार्ग, संकेत चिह्न, व्यवस्थित वासस्थान, खानेपानी, सरसफाइ र उद्धारको प्रबन्धजस्ता आधारभूत सुविधा विस्तार हुन सकेका छैनन्। पर्यटकको आगमन बढे पनि त्यसलाई स्थानीय अर्थतन्त्रसँग जोड्ने व्यवस्थित योजना देखिँदैन।

गुठीचौर गाउँपालिकाका सब इन्जिनियर मिनबहादुर भण्डारीका अनुसार गाउँपालिकाको वडा नम्बर १ ले आर्थिक वर्ष २०८२/८३ को बजेटबाट तीन लाख रुपैयाँ खर्च गरेर आकाशे तालसम्बन्धी वृत्तचित्र निर्माण गरेको छ। ताल उक्त वडाभित्र पर्छ।

वृत्तचित्र निर्माणले तालको पहिचान र प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। तर एउटा वृत्तचित्र निर्माणले मात्रै यसको पर्यटकीय सम्भावना उपयोग गर्न सकिँदैन। व्यवस्थित पर्यटन योजना, पर्याप्त बजेट र तीन वटै तहका सरकारबिच समन्वय आवश्यक छ।

स्थानीयले तालको प्रचारप्रसारसँगै पूर्वाधार विकासमा जोड दिएका छन्। उनीहरूका अनुसार ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके स्थानीय युवाले आफ्नै ठाउँमा रोजगारी पाउन सक्छन्। होटल, होमस्टे, गाइड, यातायात तथा स्थानीय उत्पादनको व्यापार विस्तार हुन सक्छ।

तर पर्यटन विकासका नाममा प्राकृतिक सम्पदाको विनाश हुन नदिन संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने देखिन्छ। उच्च हिमाली क्षेत्रको संवेदनशील पर्यावरण जोगाउँदै पर्यटकको आवागमन व्यवस्थापन गर्न आवश्यक छ।

कर्णाली प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाले भरिपूर्ण प्रदेश हो। जुम्लाकै पातारासी हिमाल, संसारकै उच्च स्थानमा धान फल्ने छुमचौर ज्यूला, तातोपानी गाउँपालिकामा पहाड फोडेर निस्किएको तातोपानी धारा, लक्षालकृति पैकला, मार्सी धानको सुरुआतसँग जोडिएको गुरुफोक्टो, चन्दननाथ-भैरवनाथ मन्दिर, मष्टो परम्परा, गुठीचौर भेडा अनुसन्धान केन्द्र र तिला त्रिवेणीजस्ता स्थलले पर्यटनको ठुलो सम्भावना बोकेका छन्।

तर सम्भावना र उपलब्धिबिचको दूरी अझै ठुलो छ। धेरै स्थलको पर्याप्त अध्ययन, अनुसन्धान, अभिलेखीकरण र प्रचारप्रसार हुन सकेको छैन। पर्यटकीय गन्तव्यको पहिचान र संरक्षणमा सरकारी लगानी कमजोर छ। कतिपय स्थल त स्थानीय बासिन्दाको अनुभव र संयोगकै भरमा बाहिरी संसारमा परिचित हुन थालेका छन्।

आकाशे ताल त्यसैको एउटा उदाहरण हो। चौँरी खोज्दै पुगेका गोठालाले देखाएको बाटोमा अहिले विदेशी पर्यटक हिँड्न थालेका छन्। स्थानीय युवाले पर्यटकलाई गन्तव्यसम्म पुर्‍याउन थालेका छन्। बेसक्याम्पमा चिया पसल खुल्न थालेका छन्। तर यो क्रमलाई व्यवस्थित पर्यटन उद्योगमा रूपान्तरण गर्ने जिम्मेवारी राज्यले पूरा गर्न सकेको छैन।

प्रकाशित: १ मंसिर २०८३ १२:४६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगञ्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले ठूलो लगानी गरेर ...

#ताल #पर्यटकीय
Compare →
Onlinekhabar
3h ago
रसुवाको डिल्पु कुण्ड : पर्यटकीय सम्भावना, पूर्वाधारको अभाव

रसुवाको डिल्पु कुण्ड : पर्यटकीय सम्भावना, पूर्वाधारको अभाव

१ मङ्सिर, रसुवा । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताले धनी छ । यहाँका गोसाइँकुण्ड र पार्वतीकुण्डजस्ता पर्यटकीय गन्तव्य स्वदेश तथा विदेशमा परिचित भए पनि कतिपय आकर्षक स्थल अझै प्रचारप्रसारको पर्खाइमा …

#पर्यटकीय #पर्यटक
Compare →
Ekantipur
1d ago
बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ

बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ

चाडपर्वको बिदा र पर्यटकीय यामका कारण बन्दीपुरमा पर्यटकको आगमन बढेको हो ।

#पर्यटकीय #पर्यटक
Compare →
Bizshala
1d ago
अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटकको ओइरो, एक महिनामै झण्डै ४२ हजार पुगे, गत वर्षभन्दा १३ प्रतिशतले वृद्धि

अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटकको ओइरो, एक महिनामै झण्डै ४२ हजार पुगे, गत वर्षभन्दा १३ प्रतिशतले वृद्धि

काठमाण्डौ । नेपालको प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको...

#पर्यटकीय #पर्यटक
Compare →

Related Stories

Technology
Build #2612