३० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफका खेलहरू मंगलबारदेखि सुरु हुँदैछन् । प्लेअफ अन्तर्गत पहिलो क्वालिफायरमा मंगलबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
लिग चरणमा शीर्ष दुई स्थानमा रहेका यी टोलीबीचको खेल जित्ने टोली सिधै फाइनल पुग्नेछ। त्यसैले दुवै टोलीको लक्ष्य पहिलो प्रयासमै फाइनलमा स्थान सुरक्षित गर्नु हुनेछ।
लुम्बिनीका लागि यो खेल सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित निकाल्ने अवसर पनि हो। गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको लुम्बिनीले यस संस्करणको पहिलो खेलमा पनि ७ विकेटको जित निकालेको थियो।
ती दुवै खेलमा लुम्बिनीले सुदूरलाई १०० रनभित्रै अलआउट गरेको थियो । अब पहिलो क्वालिफायरमा पनि सुदूरपश्चिमलाई हराउन सके लुम्बिनीको सुदूरपश्चिमविरुद्ध जितको ह्याट्रिक पूरा हुनेछ।
लिग चरणमा दुवै टोलीले ५-५ जित निकालेका छन् । सुदूरपश्चिमले २ खेल हार्दा लुम्बिनीले एक खेल मात्र हारेको छ । एक खेल रद्द भएको थियो जसका कारण लुम्बिनीको १ अंक बढी रह्यो ।
एनपीएलका पछिल्ला दुई भेटमा लुम्बिनीले सुदूरपश्चिमलाई हराएको छ। गत संस्करणको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो।
यस सिजनको उद्घाटन खेलमा भने लुम्बिनीले सुदूरपश्चिमलाई ८७ रनमा समेट्दै ९.५ ओभरमै लक्ष्य पूरा गरेको थियो। दुई टोलीबीच अहिलेसम्म भएका चार भेटमा दुवैले समान दुई खेल जितेका छन्।
लिग चरणमा लुम्बिनीले सात खेलबाट पाँच जित, एक हार र एक नतिजाविहीन खेलसहित ११ अंक जोडेर शीर्ष स्थान हासिल गर्यो। पछिल्ला पाँच खेलमा लुम्बिनीले चार जित निकालेको छ। काठमान्डुसँग पराजित भए पनि त्यसपछि कर्णाली र विराटनगरलाई हराउँदै टोलीले लय समातेको छ।
सुदूरपश्चिमले पनि सात खेलमा पाँच जित र दुई हारसहित १० अंक जोडेको छ। टोलीले पछिल्ला पाँच खेलमा लगातार चार जित निकालेको छ। काठमान्डुविरुद्धको पछिल्लो खेलमा सात रनको जित निकाल्दै सुदूरपश्चिमले दोस्रो स्थान पक्का गरेको थियो।
त्यसैले पछिल्लो लयका हिसाबले दुवै टोली आत्मविश्वासका साथ मैदान उत्रनेछन्।
लुम्बिनीका लागि टप अर्डरमा डार्शी शर्ट र आसिफ शेखले पछिल्लो खेलमा लय समातेका छन् भने कप्तान रोहित पौडेलको ब्याटबाट सन्तोषजनक प्रदर्शन देखिएको छैन । दिलिप नाथ, निरोशन डिक्वेला, सन्दीप जोरा र अली शेख मध्यक्रममा छन् भने तल्लोक्रममा रुबेन ट्रम्पलमनले ब्याटबाट योगदान दिन सक्छन् ।
बलिङमा ट्रम्पलमनसँगै शेर मल्ल, अभिशेष गौतम, किशोर महतो, तिलक राज भण्डारी र अली शेखको विकल्प छ । तिलकले अघिल्लो खेल खेलेका थिएनन् । सुदूरविरुद्ध उनलाई टोलीमा फेरि ल्याइन सक्छ ।
यता सुदूरको टोलीले नेपाली खेलाडीमा हालसम्म कुनै परिवर्तन गरेको छैन । जति पनि परिवर्तन भएका छन् सबै विदेशी खेलाडीहरू नै छन् ।
सुदूरपश्चिमको ब्याटिङमा कप्तान दीपेन्द्रसिंह ऐरीसँगै विनोद भण्डारी, आरिफ शेख र इशान पाण्डे महत्त्वपूर्ण हुनेछन्। टोलीमा नयाँ थपिएका स्कटल्यान्डका जर्ज मन्सेको आगमनले ओपनिङमा विकल्प थपिएको छ। यद्यपि उनी नेपाल आइपुग्ने बित्तिकै खेल्ने छन् वा छैनन् त्यो निश्चित छैन ।
बलिङमा स्कट कुग्लेइन, अनिल खरेल, थरिन्दु रत्नायके र हेमन्त धामीको भूमिका रहनेछ।
लुम्बिनीको सम्भावित ११ : डार्सी शर्ट, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, निरोशन डिकवेला, दिलीप नाथ, अली शेख, रुबेन ट्रम्पलमन, शेर मल्ल, किशोर महतो र अभिशेष गौतम।
सुदूरपश्चिमको सम्भावित ११ : विनोद भण्डारी, जर्ज मन्से/थनुका दबारे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, इशान पाण्डे, अनिल खरेल, थरिन्दु रत्नायके, हेमन्त धामी, अविनाश बोहरा, स्कट कुग्लेइन र फेबियन एलेन/सेफ जैब।
लुम्बिनीका लागि डार्शी सर्ट र सन्दीप जोरा ब्याटिङका मुख्य खेलाडी हुन्। सर्टले शीर्षक्रममा टोलीलाई आक्रामक सुरुवात दिन सक्छन् भने जोरा मध्यक्रममा तीव्र गतिमा रन बनाउन सक्षम छन्। डार्शी लुम्बिनीका लागि सर्वाधिक रन बनाएका खेलाडी हुन् ।
बलिङतर्फ रुबेन ट्रम्पलमन र शेर मल्लको प्रदर्शन महत्त्वपूर्ण हुनेछ। नयाँ बलमा ट्रम्पलमनको गति र स्विङ तथा शेरको प्रभावकारी मिस्ट्री स्पिन बलिङले सुदूरपश्चिमको ब्याटिङलाई दबाबमा राख्न सक्छ।
यस्तै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी तीनवटै पक्षमा अब्बल खेलाडी हुन् । उनले ब्याटिङ नभए बलिङ र फिल्डिङमार्फत् पनि खेल बदल्न सक्छन् । दीपेन्द्रले पछिल्लो खेलमा काठमान्डुविरुद्ध ६० रनको कप्तानी पारी खेलेका थिए। यस्तै थरिन्दु रथ्नायकेले तल्लोक्रममा पिन्च हिटिङ गर्दै क्यामिओ खेलिरहेका छन् ।
बलिङमा अनिल खरेल र स्कट कुग्लेइनको प्रदर्शन निर्णायक बन्न सक्छ। अनिलले लिग चरणमा १० विकेट लिएका छन् भने कुग्लेइनले बलिङसँगै तल्लोक्रममा ब्याटिङबाट पनि योगदान दिन सक्छन्।
पहिलो क्वालिफायर जित्ने टोलीले शनिबार हुने फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छैन।
उसले दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्ने अवसर पाउनेछ। त्यसैले दुवै टोलीका लागि जित महत्त्वपूर्ण भए पनि हारले फाइनल पुग्ने सम्भावना समाप्त गर्ने छैन।
तर पहिलो क्वालिफायर जित्ने टोलीले त्यसपछि सिधै शनिबारको फाइनल खेल्ने भएकाले आराम र तयारीका लागि प्रशस्त समय पाउनेछ ।
लुम्बिनी सुदूरपश्चिमविरुद्धको पछिल्लो सफलतालाई निरन्तरता दिन चाहन्छ भने सुदूरपश्चिम पुराना हारको बदला लिँदै सिधै फाइनल पुग्ने लक्ष्यमा हुनेछ।
खेल : लुम्बिनी लायन्स भर्सेस् सुदूरपश्चिम रोयल्स, पहिलो क्वालिफायर मिति र समय : मंसिर १ गते, साँझ ५ बजेदेखि स्थान : त्रिवि क्रिकेट मैदान मौसम : सफा