३० कात्तिक, सिन्धुपाल्चोक । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी अहिले बन्द छ । भोटेकोशीमा आएको बाढीपछि रसुवागढी नाका अवरुद्ध छ भने चीनले तातोपानी नाकाबाट हुने नियमित व्यापारिक आवागमनमा समेत रोक लगाएको छ ।
परिणामत: नेपाल–चीन व्यापारको चाप अहिले मुस्ताङको कोरला नाकामा परेको छ । लामो दूरीबाट सामान ढुवानी गर्नुपर्दा लागत बढेको छ । बजारमा मूल्यवृद्धिको दबाब परेको छ भने तातोपानी क्षेत्रका व्यवसायी र स्थानीयको रोजीरोटी समेत गुम्दै गएको छ ।
अरनिको राजमार्गमा पहिरो र बाढीको जोखिम देखाउँदै चीनले २०८३ भदौ १४ गतेदेखि तातोपानी नाका व्यापारिक प्रयोजनका लागि बन्द गरेको छ । दशैँलाई लक्षित गरी तीन दिन खुलाइए पनि त्यसपछि पुन: बन्द हुँदा सीमावर्ती क्षेत्रको व्यापार व्यवसाय ठप्पजस्तै बनेको छ । होटल, पसल, यातायात र मजदुरीमा निर्भर स्थानीयको रोजीरोटी संकटमा परेको छ ।
भोटेकोशी बाढीले रसुवागढी नाका पनि अवरुद्ध भएपछि नेपाल–चीन व्यापार थप प्रभावित बनेको छ । तातोपानी र रसुवागढी दुवै नाका बन्द भएपछि व्यवसायीहरू सामान आयातका लागि मुस्ताङस्थित कोरला नाकातर्फ केन्द्रित हुन थालेका छन् । तर कोरला हुँदै सामान ल्याउँदा ढुवानी खर्च अस्वाभाविक रूपमा बढेको छ ।
तातोपानी र रसुवागढी हुँदै प्रतिकन्टेनर करिब ६० हजार रुपैयाँमा काठमाडौं आइपुग्ने सामान कोरला नाका प्रयोग गर्दा ६ लाख रुपैयाँसम्म खर्च लाग्ने गरेको व्यवसायी बसन्त नेपालको भनाई छ ।
कोरला नाका प्रयोग गर्दा ल्हासाबाट करिब ९ सय किलोमिटर र लोमान्थाङबाट साढे चार सय किलोमिटर दूरी पार गर्नुपर्ने भएकाले ढुवानी लागत बढेको हो । यसको प्रत्यक्ष असर आयातित वस्तुको मूल्यमा परेको छ । व्यवसायीको लागत बढेसँगै उपभोक्तासमेत महँगो मूल्य तिर्न बाध्य भएको व्यवसायी नानीराम तिवारीको अनुभव छ ।
व्यवसायीले तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग कूटनीतिक पहल तीव्र बनाउन माग गरेका छन् । उनीहरूका अनुसार नाका खुलाउने विषयमा संघीय सरकारको उच्चस्तरीय सक्रियता पर्याप्त देखिएको छैन । यद्यपि नाका सञ्चालनका विषयमा चीनसँग राजनीतिक तहमा संवाद भइरहेको छ ।
सिन्धुपाल्चोकका निवर्तमान प्रतिनिधिसभा सदस्य माधव सापकोटा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का परराष्ट्र सल्लाहकार एवं परराष्ट्रविद् डा. रूपक सापकोटाले चिनियाँ राजनीतिक नेतृत्वसँग भेटवार्ता गरी नाका पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरेका छन् । चिनियाँ पक्षले पनि यस विषयलाई गम्भीरतापूर्वक लिएको र सकारात्मक धारणा व्यक्त गरेको निवर्तमान प्रतिनिधिसभा सदस्य माधव सापकोटाको भनाइ छ ।
तर, नाका सञ्चालनको विषय व्यापारिक मागमा मात्रै सीमित छैन । भोटेकोशी बाढी, सम्भावित हिमताल विस्फोट र नाका नजिकैको पहिरोका कारण चीनले सीमा क्षेत्रको सुरक्षालाई प्राथमिकतामा राखेको छ ।
नेपाल–चीन व्यापार सहज बनाउन कूटनीतिक संवादसँगै सुरक्षित सडक, भरपर्दो पूर्वसूचना प्रणाली र जोखिम न्यूनीकरणका पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्ने सरोकारवालाको भनाइ छ ।