घोरेपानीबाट फर्कने आन्तरिक तथा विदेशी पर्यटक लेसपार, क्याङ, शालीजा र फलामेडाँडामा बस्दै पदयात्रा, होमस्टे र स्थानीय जीवनशैलीको अनुभव लिन थालेका छन्।
बागलुङ — पर्यटकीय क्षेत्रका रूपमा चिनिएको घोरेपानी पुग्ने पर्यटकले आसपासका गाउँलाई पनि गन्तव्य बनाउन थालेका छन्। फर्कंदा पदमार्ग हुँदै गाउँ पस्ने र रमाउने क्रम बढेपछि पर्वतको मोदी गाउँपालिकाका लेसपार र क्याङ तथा जलजला गाउँपालिकाका शालीजा र फलामेडाँडा गाउँमा चहलपहल बढेको छ ।
केही पर्यटक बेनी र बागलुङ बजारसम्म आइपुग्छन् । तर अधिकांशले पदमार्ग रोज्न थालेका छन् । नयाँपुलदेखि पैदल र गाडीमार्फत घोरेपानी पुग्ने आन्तरिक तथा विदेशी पर्यटक बस्तीमा पसेर अर्गानिक खाना र स्थानीय संस्कृति रुचाउन थालेको वडा अध्यक्ष मोहनसिं चोचाङ्गी पुनले बताए ।
गर्मी मौसममा घोरेपानीबाट पुनहिल जाने पर्यटक चिसो बढेपछि अधिकांशले गाउँ रोज्ने गरेको पुनको भनाइ छ । ती पर्यटकका कारण पर्वतको मोदी गाउँपालिका–४ का लेसपार, क्याङ, भुकताङलेलगायत गाउँमा चहलपहल बढेको छ ।
घोरेपानी पुगेका अधिकांश पर्यटक पर्वतको फलामेडाँडा, शालीजा, हम्पाल र लेसपार हुँदै पातीचौर झर्न रुचाउँछन् । आकर्षक पदमार्ग, बस्तीमा अर्गानिक खाना र स्थानीयको स्वागत पाउने भएपछि पर्यटकले गाउँ रोज्ने गरेको उनले बताए । ‘अर्गानिक खानाका लागि लेसपार गाउँको बसाइ रोजेको हुँ,’ एक फ्रान्सेली पर्यटकले बताए । आन्तरिक पर्यटक पनि ती गाउँमा लोकगीत गाएर नाच्न पाइने आसमा पुग्ने गरेका छन् । गाउँमा बास बस्ने, अर्गानिक खाना खाने र पैदल हिँडेर रमाउने गर्दै पातीचौरसम्मको पदयात्रा गर्न सहज पदमार्ग बनेको छ ।
केही पर्यटक भने लेसपार गाउँको पुछारबाट गाडी चढेर फर्कन्छन् । निर्माणाधीन सडक भए पनि पातीचौरदेखि जिपमा एक घण्टामा यहाँ पुग्न सकिन्छ । मोदी गाउँपालिका–३ को लेसपार गाउँका तल्लो र माथिल्लो दुवै बस्तीका होमस्टेमा पर्यटक आउने क्रम बढेको स्थानीय ज्ञानमाया पुनले बताइन् । यहाँ केही विदेशी र धेरै आन्तरिक पर्यटक आउने गरेका छन् । ‘अंग्रेजी बोल्ने विदेशी पर्यटक भरियासहित आइरहेका छन्,’ पुनले भनिन्, ‘आन्तरिक पर्यटक त फोन गरेर पनि आउँछन् ।’ उनीहरूलाई अर्गानिक खाना र फूलमालाले स्वागत गर्ने गरिएको उनले बताइन् ।
समुद्री सतहबाट २ हजार २ सय मिटरको उचाइमा रहेको लेसपारमा झन्डै २ सय ५० घर एकै ठाउँमा झुम्मिएका छन्। हेर्दा पनि यो गाउँ आकर्षक देखिन्छ । सरसफाइका लागि टोलटोलमा फोहोर संकलन गरिन्छ । घरहरू एउटै रंगका छन् । हरेक घर तरकारी र धानबाहेक अन्य अन्नमा आत्मनिर्भर छन् । यहाँ जंकफुडजन्य खानेकुरा निषेधजस्तै छ । पाहुनालाई कोदो, फापर र मकैको ढिँडोलगायत परिकार, साग, लोकल कुखुरा र सिलमको चटनी खुवाउने गरिन्छ । स्थानीय सिमी र भटमास पनि गाउँको पहिचानका रूपमा छन् । स्थानीयले लोकगीत र संगीतमार्फत पनि पर्यटक आकर्षित गर्छन् । सिसाजन्य मदिरासमेत बिक्री गरिँदैन ।
गाउँभरि स्थानीय ढुंगाले छाएका घर छन् । बाटो पनि ढुंगाले छापिएको छ । सिँढीमार्ग हुँदै गाउँबाट हलजुरे डाँडा र हम्पालसम्म पुग्ने पदमार्ग बनाइएको छ । स्थानीयले सामूहिक र व्यक्तिगत लगानीमा बाटो तथा ठाउँठाउँमा चौतारा बनाएका छन् । बाटोमा पानीका धारा र पानी पिउन गिलास तथा कपसमेत राखिएका छन् ।
डेढ घण्टाको उकालो चढेपछि २ हजार ५ सय मिटरको हलजुरे पुगिन्छ भने तीन घण्टाको उकालोमा ३ हजार मिटरभन्दा अग्लो हम्पाल पुग्न सकिन्छ । हम्पाल धार्मिक रूपमा प्रसिद्ध पहाड हो । यो पहाड जडीबुटीका लागि पनि प्रसिद्ध मानिन्छ ।
पर्यटक पुग्न थालेपछि लेसपार गाउँवासी व्यावसायिक पनि बनेका छन् । उनीहरूले घरघरमा पाहुना कोठा, अर्गानिक खाना र पाहुनाको स्वागतका लागि फूलमालाको व्यवस्था गरेका छन् । चिसो मौसम भएकाले यहाँ फागुनसम्म पनि सयपत्रीलगायत फूल ताजा रहन्छन् ।
यहाँका उद्यमीले अल्लो संकलन गरेर धागो निकाल्ने र कपडासमेत बुन्ने गर्छन् । त्यसैले घुम्न आउनेले उद्यमीहरूको सीपसमेत हेर्न पाएको बताए । ‘हामीलाई घुमाइ मात्र होइन, धेरै कुरा जान्न पाउने अवसर पनि मिल्यो,’ आन्तरिक पर्यटकका रूपमा घुम्न गएका बद्रीप्रसाद तिवारीले भने, ‘अर्गानिक खाना, लोकसंस्कृति र परम्परा धानेर बसेको समुदायबारे बुझ्न र घुम्न पाएर खुसी लाग्यो ।’ यहाँका घर, गोठ र बाटोमा सिमेन्टलगायत आयातित सामग्री प्रयोग गरिएको छैन । स्थानीयले बास्केटबल कोर्ट बनाउन भने सिमेन्ट प्रयोग गरेका छन् ।
कृषि र पशुपालन गरेर बसेकाले गाउँलेलाई बजारबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यता छैन । धान उत्पादन नहुने भएकाले चामल भने बजारबाट ल्याइन्छ । तर स्थानीयले चामलभन्दा कोदो, मकै, जौ र फापरका परिकार बढी खाने गरेको स्थानीय डिलबहादुर पुनले बताए । ‘भात खान खोज्ने पाहुनाका लागि मात्रै चामल ल्याएका छौं, अन्य परिकार स्थानीय उत्पादन हुन्,’ उनले भने, ‘तरकारीसमेत बजारबाट आएको छैन ।’ स्थानीय रूपमा उत्पादन हुने मुला, आलु, चरेला, कर्कलो र सागजस्ता तरकारी पाहुनालाई खुवाउने गरिएको उनले बताए ।
गाउँमा कति पर्यटक आउँछन् भन्ने तथ्यांक भने राखिएको छैन । लेसपार सामुदायिक होमस्टेका सदस्य नर्सिङबहादुरका अनुसार अब पर्यटकको तथ्यांक राख्ने तयारी छ । ‘पाहुनाको चाहनाअनुसार आकर्षक शौचालय, नुहाउने कोठा र तातोपानीको व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘गाउँ र समाजको संस्कृति जोगाउन सकियो भने पर्यटक बढाउन सकिन्छ ।’ युवा पुस्तालाई गाउँमै रोकेर पर्यटन क्षेत्रमा सक्रिय बनाउन भने राज्यको लगानी आवश्यक भएको उनले बताए ।
प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।