Trending
Prev Story
Next Story

दसैंमा गाउँकै घर प्यारो

Ekantipur •
October 22, 2026 • 05:00 PM
3
3 reads 0 reactions

सहरमा घर र व्यवसाय भए पनि दसैं मनाउन गाउँ फर्किनेहरू बढेका छन् । आफन्तसँगको भेटघाट, स्थानीय परिकारको स्वाद र गाउँको आत्मीयताले उनीहरूलाई पुर्ख्यौली थलोसँग जोडिरहेको छ ।

दसैंमा गाउँकै घर प्यारो

सहरमा घर र व्यवसाय भए पनि दसैं मनाउन गाउँ फर्किनेहरू बढेका छन् । आफन्तसँगको भेटघाट, स्थानीय परिकारको स्वाद र गाउँको आत्मीयताले उनीहरूलाई पुर्ख्यौली थलोसँग जोडिरहेको छ ।

अर्घाखाँची — सहरमा घर र व्यवसाय छ, सुविधासम्पन्न जीवन छ । तर दसैं लागेपछि धेरैको मन गाउँतिरै तानिन्छ । वर्षभरि सुनसान रहने पुर्ख्यौली घरका ढोका खुलेका छन् । आँगनमा आफन्त र साथीभाइको जमघट, गाउँका बाटाघाटा र मन्दिरमा चहलपहल छ । कच्ची घरका भित्तामा रातो माटो र कमेरो पोतिएको छ । अर्घाखाँचीका गाउँबस्तीमा दसैंले यसरी नै रौनक फर्काएको छ ।

लामो समय वैदेशिक रोजगारीमा बिताएका राम बेल्वासेको काठमाडौंको बानेश्वरमा घर छ । तर दसैं मनाउने बेला उनी शितगंगा नगरपालिका–३, ठाडास्थित गाउँको घरमा आए । यसपालि दसैंको टीका नभए पनि उनी काठमाडौं छाडेर गाउँ फर्किए ।

‘दसैंमा काठमाडौंभन्दा गाउँमै रमाइलो हुन्छ,’ बेल्वासेले भने, ‘सहरमा दसैंका बेला धेरै मानिस जन्मथलो फर्किन्छन् । गाउँमा भने नातेदार, इष्टमित्र र विद्यालयमा सँगै पढेका साथीभाइसँग भेटघाट हुन्छ । अरू बेला गाउँ आउँदा परिवारका सदस्यसँग मात्रै भेट हुन्छ, दसैंमा सबैसँग भेटेर पुराना कुरा साट्न पाइन्छ ।’

दसैं आफन्तसँग भेटघाट गर्ने अवसर मात्रै होइन, बाल्यकालका सम्झना ताजा बनाउने र स्थानीय रहनसहनसँग जोडिने समय पनि भएको उनी बताउँछन् । गाउँमा बसेर स्थानीय परिकार र खसीबोकाको मासुको स्वाद लिनु, छिमेकीसँग दुःखसुख साट्नु र साथीभाइसँग घुमघाम गर्नुको आनन्द बेग्लै हुने उनले बताए ।

दसैंमा जन्मथलो फर्किँदा बेल्वासे सराय नाच हेर्न र सहभागी हुन पनि उत्साहित हुन्छन् । एकादशीदेखि पूर्णिमासम्म विभिन्न दुर्गाभगवती मन्दिरमा तरबार, खुँडा र भाला नचाउँदै बाजागाजासहित सराय नाच्ने परम्परा छ । यो अर्घाखाँचीको सांस्कृतिक पहिचान पनि हो । ‘सराय नाच्दा र हेर्दा साह्रै रमाइलो हुन्छ । यसले हाम्रो परम्परा र संस्कृति जोगाउन पनि मद्दत गर्छ,’ उनले भने, ‘दसैंमा गाउँमा बस्दा साथीभाइसँग भेटघाट हुन्छ, घुमघाम गर्न पाइन्छ । सहरको व्यस्तताबाट टाढा भएर मनलाई ताजा बनाउन पनि आउँछु ।’

जन्मघर ठाडामा साथीभाइ र छिमेकीसँग भेटघाट गरेपछि बेल्वासे श्रीमतीसहित परिवार लिएर सन्धिखर्क नगरपालिका–१२, डिभर्नास्थित ससुराली घरमा पनि पुगे । गाउँको घर, स्थानीय पर्यटकीय स्थल, दुर्गाभगवती मन्दिर र साथीभाइसँगका भेटघाटका तस्बिर तथा भिडियो फेसबुक र टिकटकमा राखेर उनले गाउँको दसैं, पर्यटकीय गन्तव्य डमरु दह र भूगोललाई सामाजिक सञ्जालमार्फत अरूसँग पनि बाँडेका छन् ।

काठमाडौंमा व्यवसाय गर्दै आएकी सुभद्रा खत्रीलाई पनि दसैंमा आफ्नो गाउँको घर प्यारो लाग्छ । दसैंको टीकाभन्दा चार दिनअघि नै उनी सिद्धारा गाउँको घरमा पुगिन् । कच्ची घरका भित्तामा कमेरो र रातो माटोले लिपपोत गरिन् । घर वरिपरि सरसफाइ गरेर चिटिक्क पारिन् । दसैंको दिन त्यही घरमा सासू–ससुराको हातबाट टीका लगाएर पर्व मनाइन् ।

‘व्यापार गर्न काठमाडौं बस्छु, दसैं मनाउन आफ्नो ठाउँ आउँछु,’ खत्री भन्छिन्, ‘भरसक दसैं काठमाडौंमा मनाउँदिनँ । स्थानीय खसीबोकाको मासु, काँक्रा, तितेकरेला र गिठाको अचार खान पाइन्छ । आफ्नो गाउँको स्वाद नै बेग्लै हुन्छ ।’ गाउँ फर्किनुको खुसी खानपिनमा मात्रै सीमित छैन । घरमा टीका लगाएपछि नजिकै रहेको माइतीघर पुगेर बुवाआमा र दाजुभाउजूको हातबाट टीका तथा आशीर्वाद लिन पाउँदा थप आनन्द मिल्ने उनले बताइन् । सँगै पढेका साथीभाइदेखि पुराना चिनजानका मानिससँग भेटघाट गर्न पाउनु पनि दसैंको अर्को आकर्षण भएको उनको भनाइ छ ।

‘दसैंमा मलाई गाउँकै घर प्यारो लाग्छ । साथीभाइसँग भेटघाट हुन्छ, सराय नाच्न र हेर्न पाइन्छ । डाँडाकाँडा घुमेर रमाइलो गर्छौं,’ उनी भन्छिन्, ‘पूर्णिमाको भोलिपल्ट काठमाडौं फर्किने तयारीमा छौँ ।’

बुटवलमा बस्दै आएका मालारानीका गोकर्ण राना पनि परिवारसहित दसैं मनाउन गाउँ फर्किएका छन् । अघिल्लो वर्ष उनले सहरमै दसैं मनाएका थिए । तर गाउँमा जस्तो रमाइलो अनुभव गर्न पाएनन् । ‘दसैंका दुई–चार दिन बजार सुनसान भयो । भेटघाट गर्ने मानिस पनि भएनन्,’ रानाले भने, ‘यसपालि गाउँमा आएपछि पुराना साथीभाइसँग भेट भयो । उनीहरूका छोराछोरीसँग पनि चिनजान गर्ने अवसर मिल्यो ।’

रानाले केही समयअघि गाउँको कच्ची घरका भित्ता र भुइँमा सिमेन्टको प्लास्टर गरेर बस्नयोग्य बनाएका छन् । दसैंमा, कुलपूजा र अन्य अवसरमा गाउँ आएर बस्न पाइयोस् भनेर घरजग्गाको संरक्षण गर्दै आएका छन् । सहरमा बसे पनि पुर्ख्यौली घरसँगको सम्बन्ध कायम राख्न उनी चाहन्छन् । अग्लो डाँडामा रहेको गाउँको घरमा बस्दा मन फुरुंग हुन्छ । यहाँको वातावरणमा रमाउन पाउनुका साथै छोराछोरीलाई गाउँको परिवेश बुझाउने अवसर पनि मिलेको उनले बताए । ‘दसैं–तिहारको बिदामा छोराछोरीलाई गाउँ ल्याउँदा उनीहरूले धेरै कुरा सिक्छन् । खेतीपाती कसरी गरिन्छ, अन्न कहाँ कसरी फल्छ र पशुपालन कसरी हुन्छ भन्ने बुझ्छन्,’ रानाले भने, ‘गाउँमा आउनु उनीहरूका लागि रमाइलो मात्रै होइन, सिकाइ पनि हो । त्यसैले दसैं गाउँमै मनाउन मन लाग्छ ।’ उनका छोराछोरीले कच्ची घर, खेतीपाती, अग्ला पाखापखेरामा पुगेर तस्बिर खिचेर सामाजिक सञ्जालमा रमाएका छन् ।

दसैंसँगै अर्घाखाँचीका गाउँबस्तीमा चहलपहल बढेको छ । वर्षभरि सुनसान रहने घरका ढोका खुलेका छन् । कतै कच्ची घरका भित्तामा रातो माटो र सेतो कमेरो पोतिएको छ, कतै घरआँगन सफा गरेर चिटिक्क पारिएको छ । ढुंगाको छानो भएका पुराना घरमा समेत विजया दशमी तथा दीपावलीका शुभकामना लेखिएका छन् ।

स्वदेशका विभिन्न सहरमा पेसा, व्यवसाय, अध्ययन र रोजगारीमा रहेका तथा विदेश पुगेका मानिस दसैं मनाउन गाउँ फर्किएपछि बस्तीमा रौनक थपिएको छ । घरआँगनमा बालबालिकाको चहलपहल बढेको छ । लामो समयदेखि नभेटिएका आफन्त र साथीभाइबीच भेटघाट भइरहेको छ । गाउँका बाटाघाटा, मन्दिर र पर्यटकीय स्थलमा पनि मानिसको आवागमन बाक्लिएको छ ।

सहरमा घर बनाएर बसेका धेरैका लागि गाउँको घर दसैंमा फर्किने थलो बनेको छ । आफन्तसँगको भेटघाट, स्थानीय परिकारको स्वाद, परम्परागत सराय नाच र गाउँको आत्मीयताले उनीहरूलाई पुर्ख्यौली थलोप्रति जोडिरहेको छ । नयाँ पुस्तालाई गाउँको रहनसहन बुझ्ने अवसर मिल्ने गरेको छ ।

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
पीएचडी गरेका कमलको कृषि र पर्यटनलाई जोड्ने बन्दीपुर फार्म हाउस

पीएचडी गरेका कमलको कृषि र पर्यटनलाई जोड्ने बन्दीपुर फार्म हाउस

२६ कात्तिक, तनहुँ । सहरको सुविधासम्पन्न जीवन, आफ्नै पाँचतले घर र दुई दशकभन्दा लामो जागिरे जीवन छाडेर गाउँ फर्किनु धेरैका लागि सहज निर्णय होइन। तर डा. कमल पण्डितका लागि भने सहरको भीडभाड र कोलाहलभन्दा गाउँको …

#गाउँ #सहर
Compare →
Hamro Patro News
31m ago
तिहार र छठको बिदामा भरिए घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ

तिहार र छठको बिदामा भरिए घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ

काठमाडौँ- तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्। आन्तरिक पर्यटकको आगमन बढेसँगै यी गाउँका होटल र घरबासमा पाहुनाको च...

#गाउँ
Compare →
Nagarik News
4h ago
इन्जिनियर बनेर गाउँमै सुन्दर घर बनाएर आमालाई राख्ने बिकेशको सपना चिसापानीमै बिलायो

इन्जिनियर बनेर गाउँमै सुन्दर घर बनाएर आमालाई राख्ने बिकेशको सपना चिसापानीमै बिलायो

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरमा अहिले एउटा परिवारको मात्र होइन, सिंगो गाउँको सपना र खुसी लुटिएको छ।

#गाउँ
Compare →
Bizshala
20h ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#गाउँ
Compare →

Related Stories

Technology
Build #2612