Trending
Prev Story
Next Story

कुलेखानी जलाशय भरिन ८ सेन्टिमिटर मात्रै बाँकी

Ekantipur •
November 16, 2026 • 05:32 AM
4
4 reads 0 reactions

सोमबार बिहान १० बजेसम्म जलाशयमा पानीको सतह १ हजार ५ सय २९ दशमलव ९२ मिटर पुगेपछि विद्युत् उत्पादन गरेर सतह सन्तुलनमा राखिने ।

कुलेखानी जलाशय भरिन ८ सेन्टिमिटर मात्रै बाँकी

सोमबार बिहान १० बजेसम्म जलाशयमा पानीको सतह १ हजार ५ सय २९ दशमलव ९२ मिटर पुगेपछि विद्युत् उत्पादन गरेर सतह सन्तुलनमा राखिने ।

हेटौंडा — नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअप’का रूपमा रहेको कुलेखानी जलाशय भरिन अब ८ सेन्टिमिटर मात्रै बाँकी छ । सोमबार बिहान १० बजेसम्म जलाशयमा पानीको सतह १ हजार ५ सय २९ दशमलव ९२ मिटर पुगेको छ । जलाशयको अधिकतम क्षमता १ हजार ५ सय ३० मिटर हो ।

कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख प्रकाश राउतका अनुसार पानीको खपत नभए जलाशय भरिन अब २४ घण्टा लाग्नेछ । तर, दशैं, तिहार र छठ पर्व सकिएसँगै विद्युत्‌को माग बढ्ने भएकाले उत्पादन बढाएर जलाशयको पानीको सतह सन्तुलनमा राखिने उनले बताए ।

‘कुलेखानी जलाशय भरिन ८ सेन्टिमिटरमात्र बाँकी छ । पानी खपत भएन भने यो भरिन २४ घण्टा लाग्छ,’ राउतले भने, ‘अब विद्युत्‌को माग बढ्ने भएकाले त्यहीअनुसार कुलेखानी जलविद्युत् आयोजना सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसबेला दैनिक ४० सेन्टिमिटरसम्म पानी खपत हुने गर्छ ।’

अहिले कुलेखानी जलविद्युत् आयोजनाका तीनवटै युनिट सञ्चालन नगर्दा पनि दैनिक ४ देखि ५ सेन्टिमिटर पानी जलाशयमा थपिने गरेको छ । आइतबार बिहान १० बजे जलाशयको सतह १ हजार ५ सय २९ दशमलव ८८ मिटर थियो । त्यसको २४ घण्टामा चार सेन्टिमिटर मात्रै पानी थपिएको हो ।

पानीको सतह बढेर बाँधका ढोका खोल्नुपर्ने अवस्था नआउने आयोजना प्रमुख राउतको दाबी छ । ‘पानी भरिएर कुलेखानीको बाँध खोल्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘विद्युत् उत्पादन गरेर जलाशयको सतह सन्तुलनमा राख्नेछौं ।’

सुक्खायाममा विद्युत्‌को माग उत्पादनभन्दा बढी हुने भएकाले त्यतिबेला माग धान्न कुलेखानीका तीनवटै युनिट सञ्चालन गरिन्छ । त्यही समयको विद्युत् माग व्यवस्थापन गर्न अहिले जलाशयमा पानी सञ्चित गरेर राखिन्छ । तर, जलाशयमा पानीको सतह अधिकतम क्षमतानजिक पुगेकाले मागअनुसार विद्युत् उत्पादन गर्दै पानीको सतह व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।

अब जलाधार क्षेत्रमा वर्षा नहुने भएकाले कुलेखानी जलाशय एक्कासि भरिएर बाँधका ढोका खोल्नुपर्ने अवस्था नआउने प्राधिकरणले जनाएको छ । गत असोजमा जलाधार क्षेत्रमा भारी वर्षा भएपछि जलाशय भरिएर बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन साइरनको व्यवस्था गरिएको थियो । सम्भावित जोखिमबारे सचेत गराउन पहिलो पटक साइरनसमेत बजाइएको थियो । तर, बाँधका ढोका खोल्नुपर्ने अवस्था आएन ।

यसअघि २०८१ असोज १२ गते बिहान कुलेखानी जलाशय भरिएपछि बाँधका ढोका खोल्दा सिमखोलाको पुलसहित सिस्नेरीको सडक र ४९ वटा घर बगाएको थियो । त्यस घटनापछि जलाशयको सतह र बाँधबाट पानी छाड्नुपर्ने अवस्थालाई लिएर तटीय क्षेत्रका बासिन्दा थप सचेत रहँदै आएका छन् ।

गत भदौको दोस्रो सातादेखि कुलेखानी जलविद्युत् आयोजना पूर्ण रूपमा सञ्चालन गरिएको थियो । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले त्यस क्षेत्रका जलविद्युत् आयोजना क्षतिग्रस्त बनाएपछि कुलेखानीमा विद्युत् उत्पादनको चाप बढेको थियो । यही कारण जलाशयको पानी खपत बढेकाले अहिलेसम्म जलाशय नभरिएको आयोजना प्रमुखको भनाइ छ ।

कुलेखानी जलविद्युत् आयोजनाका तीनवटा केन्द्रबाट कुल १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ । कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुन्छ । तीनवटै युनिट २४ घण्टा सञ्चालन गर्दा जलाशयको पानीको सतह दैनिक करिब ४० सेन्टिमिटर घट्ने गर्छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1h ago
कुलेखानी जलाशय भरिन ८ सेन्टिमिटर मात्रै बाँकी

कुलेखानी जलाशय भरिन ८ सेन्टिमिटर मात्रै बाँकी

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअप’का रूपमा रहेको कुलेखानी जलाशय भरिन अब आठ सेन्टिमिटर मात्रै बाँकी छ । सोमबार बिहान १० बजेसम्म जलाशयमा पानीको सतह एक हजार ५२९ दशमलव ९२ मिटर पुगेको छ । ज...

#जलाशय #पानी #कुलेखानी
Compare →
Nagarik News
4d ago
‘किसान तीन महिना मात्रै काम गर्छन्, बाँकी नौ महिना गाँजा पिएर जय भोले भन्छन्’

‘किसान तीन महिना मात्रै काम गर्छन्, बाँकी नौ महिना गाँजा पिएर जय भोले भन्छन्’

किसानले खेतीपातीका लागि वर्षभरि नै मेहनत गर्नुपर्ने अवस्थामा उनीहरूको कामलाई तीन महिनामा सीमित गरेर गरिएको टिप्पणीप्रति असन्तुष्टि जनाइएको छ।

#मात्रै #बाँ
Compare →

Related Stories

Business & Economy
Build #2612