Trending
Prev Story
Next Story

एन्भिडिआ प्रकरणले हल्लायो चिप व्यापारको केन्द्र सिङ्गापुर

Bizshala •
November 14, 2026 • 05:04 PM
4
4 reads 0 reactions

-टेसा वङर,असमन्ड चिआ,सिङ्गापुर प्रविधि कम्पनी एन्भिडिआका प्रमुख कार्यकारी अधिकृत जेन्सन वाङ र एक जना सन्दिग्ध चिनियाँ...

एन्भिडिआ प्रकरणले हल्लायो चिप व्यापारको केन्द्र सिङ्गापुर

प्रविधि कम्पनी एन्भिडिआका प्रमुख कार्यकारी अधिकृत जेन्सन वाङ र एक जना सन्दिग्ध चिनियाँ जासुसबीचको सम्बन्धले विश्वव्यापी चिप केन्द्रको सफल पहिचान कायम गरेको सिङ्गापुरमाथि अवैध कारोबार हुने कथित स्थानको रूपमा ध्यान तानेको छ।

बिहीवार ती महिलासँग प्रेम सम्बन्ध रहेको स्वीकार गर्दै वाङले उक्त अग्रणी अमेरिकी चिप कम्पनीबाट राजीनामा दिएका थिए।

उनको सम्बन्ध एलिस वाङसँग थियो जसले सिङ्गापुरको डेटा सेन्टर कम्पनी मेगास्पिड चलाउँथिन्। उक्त कम्पनी एन्भिडिआले उत्पादन गर्ने चिपको मुख्य खरिदकर्ता थियो।

दशकौँदेखि सिङ्गापुरले अमेरिकी र चिनियाँ बजारमा खुला, व्यापार र अर्थतन्त्रमैत्री पहुँच सहजै उपलब्ध गराउने राष्ट्रका रूपमा आफ्नो प्रतिष्ठा सावधानीपूर्वक कायम राख्दै आएको छ।

आर्टिफिशल इन्टेलिजन्श एआईमा देखिएको व्यापक विस्तारसँगै हालैका वर्षहरूमा सिङ्गापुर उच्च गुणस्तरको सेमिकन्डक्टर चिपको व्यापारको प्रमुख केन्द्र बनेको छ।

सिङ्गापुरबाट एन्भिडिआले आफूले गर्ने कूल आम्दानीको पाँच भागको एक भाग आम्दानी अघिल्लो वर्ष गरेको थियो।

विश्वकै दोस्रो ठूलो बिलिङ केन्द्र सिङ्गापुर बनेको भएपनि आम्दानीको एक प्रतिशतभन्दा कम रकमले मात्रै त्यहाँ प्रवेश पाएका थियो। उक्त टापु राष्ट्रलाई कैयौँ एशियाली कम्पनीहरूले खरिदका लागि अर्डर गर्ने र अन्यत्र पठाउने केन्द्रका रूपमा प्रयोग गर्दै आएका छन्।

पछिल्लो प्रकरणले उठाएका प्रश्न के हुन्?

सन् २०२२ मा संयुक्त राज्य अमेरिकाले चीनमा अत्याधुनिक अमेरिकी सेमिकन्डक्टरहरूको आपूर्ति वा चिनियाँ कम्पनीलाई त्यसमा रोक लगाएसँगै अमेरिकी अधिकारीहरूले सिङ्गापुर जस्ता अन्य देशहरूलाई चिनियाँ कम्पनीहरूले चिपमाथि पहुँच हासिल गर्ने माध्यम बनाउनसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए।

उक्त कम्पनी दक्षिण पूर्वी एशियामा एन्भिडिआका चिपहरूको सबैभन्दा ठूलो खरिदकर्ता थियो र उसमाथि पर्दापछाडिबाट मलेशिया, इन्डोनेशिया र थाइल्यान्डमा रहेका आफ्ना डेटा सेन्टरहरूमार्फत चिनियाँ कम्पनीहरूलाई ती चिपमाथि पहुँच दिएको शङ्का गरिएको थियो।

सिङ्गापुरले विदेशमा रहेका कम्पनीहरूमा अत्याधुनिक एआई चिप्सहरू स्थानान्तरण गर्न प्रतिबन्ध लगाउँदैन तर त्यस्तो कदमले आपूर्तिमाथिको अमेरिकी नियन्त्रणलाई भने उल्लङ्घन गर्नसक्छ।

सिङ्गापुरले आफूले 'एकपक्षीय रूपमा अन्य देशहरूले लागु गरेका आपूर्ति नियन्त्रणहरूलाई' कार्यान्वयन नगर्ने भन्दै आफ्नो क्षेत्राधिकारमा रहेका सबै कम्पनीहरूले त्यस्तो नियमनलाई सम्मान गर्ने अपेक्षा गरेको जनाएको छ।

यस्तो व्यवस्थाको कार्यान्वयनमा पनि उसले केही सफलता हासिल गरेको थियो। चिनियाँ एआई कम्पनी डिपसीकले एन्भिडिआका चिपहरू सिङ्गापुर र अन्यत्रका तेस्रो पक्षबाट खरिद गरेको भन्ने अमेरिकी चासोपछि उसले चार कम्पनी र पाँच व्यक्तिहरूमाथि जालसाजीसहितका अभियोगमा मुद्दा दायर गरेको छ।

उनीहरूले मेगास्पिडमाथि पनि छानबिन गर्ने प्रयास गरेका थिए तर कैयौँ अप्ठ्याराहरू सामना गर्नुपरेको उनीहरूले बताएका थिए।

बिहीवार सार्वजनिक गरिएको एउटा विज्ञप्तिमा सरकारले सन् २०२५ यता आफूहरूले मेगास्पिड र अन्य फर्महरूले खरिद गरेर सिङ्गापुरबाट विक्री गरिएका डेटा सर्भरहरूबारे गलत घोषणा गरे नगरेकोबारे जाँच गरिरहेको जनाएको थियो।

कम्पनीहरूले ती सामाग्रीहरू छिमेकी मलेशियामा पुग्ने गरेका बताए पनि सिङ्गापुरका अधिकारीहरूले ती उपकरणका अन्तिम गन्तव्य अन्यत्र रहेको हुनसक्ने आशङ्का गरेका छन्।

सिङ्गापुरले आफूले कैयौँ पटक छानबिनमा परेको एउटा अमेरिकामा मुख्यालय रहेको एउटा कम्पनीबारे अमेरिकी अधिकारीहरूसँग सूचना माग गरेको पनि जनाएको छ। सुपरमाइक्रो नामक उक्त कम्पनीले मेगास्पिडलाई कम्प्यूटर सर्भरहरू आपूर्ति गर्ने गरेको बीबीसीले थाहा पाएको छ।

तर 'बारम्बारको अनुरोधका बाबजुद सिङ्गापुरले हालसम्म सीमित जानकारी वा सहयोग मात्रै प्राप्त गरेको' उसले विज्ञप्तिमा भनेको छ। बीबीसीले यसबारे अमेरिकी विदेश मन्त्रालयको प्रतिक्रिया माग गरेको छ।

सिङ्गापुरका अधिकारीहरूले आफूहरूले एलिस वाङमाथि पनि छानबिन गरेको उल्लेख गरेका छन्। जासुसीमा संलग्न भएको आरोपमा नभएर मेगास्पिडमा आशङ्का गरिएको किर्ते गतिविधिमा कुनै सम्भावित भूमिकाका लागि जाँच गरिएको अधिकारीहरूले उल्लेख गरेका छन्।

अन्त्यमा उनीहरूले त्यस्तो कसुरको 'अपर्याप्त प्रमाण' फेला परेको र कैयौँ महिना रोक्का गरिएको राहदानी फुकुवा गरेर उनलाई यसै वर्षको फेब्रुअरीमा सिङ्गापुर छाड्न दिइएको जनाएका छन्।

अनुसन्धान थालेको करिब दुई वर्ष यता सिङ्गापुरले मेगास्पिड वा यो घटनासँग जोडिएको कुनै पनि कम्पनी वा व्यक्तिविरुद्ध कुनै अभियोग दर्ता गराएको छैन।

सिङ्गापुर र अमेरिकाले मेगास्पिडमाथि अझै अनुसन्धान गरिरहेका छन्।

सन् २०२४ मा अमेरिकी अधिकारीहरूले मेगास्पिडको स्वामित्वमा रहेको मलेशियास्थित डेटा सेन्टरको भ्रमण गरेका थिए र उनीहरूले त्यहाँ बाकसमा एन्भिडिआका उपकरणहरू देखेका थिए। त्यसबेला मेगास्पिडले अन्यत्रबाट उच्च क्षमताका चिप्स आपूर्ति गरिरहेको चिन्ता व्यक्त गरिएका न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा उल्लेख छ।

अघिल्लो वर्ष मेगास्पिडले एन्भिडिआले गणना गरेको भन्दा ५० हजार थान बढी चिप्स आपूर्ति गरेको जस्तो देखिएको ब्लुम्बर्गमा प्रकाशित विवरणमा उल्लेख छ। एन्भिडिआले थप गोदामहरूको भ्रमण गरेपछि आफ्नो तथ्याङ्क सच्याएको थियो।

मेगास्पिडले आफूले सदैव कानुनी हिसाबले काम गरेको र विगतमा अधिकारीहरूले गरेका अनुगमनमा गैरकानुनी गतिविधिका कुनै पनि प्रमाण फेला नपरेको उल्लेख गरेको छ।

बिहीवार उक्त कम्पनीले आफूले 'सरकारको उपयुक्त जाँचको स्वागत गर्ने' भन्दै अमेरिकी सरकारसँग 'रचनात्मक र पारदर्शी ढङ्गले काम गर्न तयार रहेको' पनि जनाएको छ।

चीनले आफ्ना कम्पनी र निकायहरूले गैरकानुनी ढङ्गले उच्च गुणस्तरका अमेरिकी चिपहरू हासिल गरेको आरोप लामो समयदेखि अस्वीकार गर्दै आएको छ।

मेगास्पिड र एलिस वाङ कसरी सिङ्गापुर आए भन्ने विषयले उक्त देशको खुलापनका कारण निम्तिएका अन्य कमजोरीहरूलाई उजागर गर्छ।

हालैका वर्षहरूमा सिङ्गापुर चिनियाँ कम्पनीहरूका लागि एउटा मुख्य गन्तव्य हो र टिकटक अनि मानुस जस्ता प्रविधि फर्महरूको विश्वव्यापी मुख्यालय सिङ्गापुरमा नै छ। सहज व्यवसाय गर्ने परिस्थिति बाहेक सिङ्गापुरको जनसङ्ख्या जातीय हिसाबले सर्वाधिक चिनियाँ रहेको छ र अधिकांशले चीनलाई सकारात्मक रूपमा लिन्छन्।

कुनै पनि चिनियाँ फर्मलाई सिङ्गापुरले मूलभूमि नजिकैको आधारस्थल प्रदान गर्छ। र त्यो 'तटस्थ ठेगाना'लाई विश्वभरका उपभोक्ता र लगानीकर्ताले स्वीकार गरेका न्यूयोर्क विश्वविद्यालयका एड्जङ्क्ट प्राध्यापक विन्स्टन मा बताउँछन्।

तर आलोचकहरूले यसले 'सिङ्गापुर-वासिङ' भन्ने प्रवृत्तिलाई बढावा दिएको ठान्छन्। त्यसको अर्थ चिनियाँ कम्पनीहरूले उक्त राज्यको स्वच्छ छविलाई आफ्नो वास्तविक उत्पत्ति ओझेलमा पार्न, आशङ्का कम गर्न र शङ्कास्पद गतिविधिलाई ढाक्नसमेत प्रयोग गर्ने गरेको ठानिन्छ।

वासिङ्टनमा आधारित सुरक्षा विश्लेषण समूह सीफोरएडीएसले बीबीसीलाई आफूहरूले एलिस वाङले स्थापना गरेको मेगास्पिडलाई एउटा त्यस्तै संस्थाका रूपमा लिएको उल्लेख गरेको छ।

चीन, हङकङ र सिङ्गापुरका कर्पोरेट अभिलेखहरूको बीबीसीले गरेको अध्ययनले सन् २०१९ मा वाङले एउटा गेमिङ कम्पनी र त्यसको सहायक कम्पनीहरू चिनियाँ गेमिङ फर्म सेभेनरोडलाई विक्री गरेको देखाउँछ।

सन् २०२३ को मार्चमा सेभेनरोडको एउटा सहायक कम्पनीले वाङलाई आफ्नो कार्यकारी निर्देशकमा नियुक्त गर्छ। त्यसको भोलिपल्टै उक्त कम्पनीको नाम मेगास्पिडमा परिणत भएको देख्न सकिन्छ।

एकजना सिङ्गापुरका पुरुषलाई कम्पनी हस्तान्तरण गर्नुअघि ८ महिनासम्म उनले नै उक्त संस्थाको नेतृत्व गरेकी थिइन्।

त्यो अवधिमा मेगास्पिडमा 'संवेदनशील कर्पोरेट पुनर्संरचना र क्षेत्रीय विस्तार' गरिएको र उनको कर्पोरेट सम्बन्धले मेगास्पिडको सिङ्गापुरको पहिचान वास्तविक रहेको वा त्यो व्यवहारिक रूपमा चिनियाँ नियन्त्रणमा नै रहेको भन्नेबारे प्रश्न खडा गरेको सीफोरएडीएसले जनाएको छ।

सीफोरएडीएसको विश्लेषण अनुसार मेगास्पिडमा जिम्मेवारी हस्तान्तरण गरिसकेपछि पनि उनले नै 'व्यवहारिक रूपमा नियन्त्रण' गरिरहेकी थिइन्।

मेगास्पिडका माध्यमबाट अर्को कम्पनीसँगको उनको सम्बन्ध र लिन्ङ्क्डइन पोष्टमा राखिएको विवरणमा उनले कन्फ्रेन्सहरूमा मेगास्पिडको 'अध्यक्षका रूपमा चिनाएको पाइएको छ।

मेगास्पिडले कम्पनी र एलिस वाङको चीन र चीन सरकारसँगको सम्बन्धबारे बीबीसीका प्रश्नको जवाफ दिएको छैन।

यी सबैले सिङ्गापुरले सामना गरिरहेको दुबिधालाई बल दिएको छ।

"सबैभन्दा लामो समयसम्म अमेरिका र चीन दुवैसँग उत्कृष्ट सम्बन्ध कायम गरेर सिङ्गापुरले दुवै देशबाट लाभ उठाएको थियो," नानयाङ टेक्नोलोजिकल विश्वविद्यालयका राजनीति तथा अन्तर्राष्ट्रिय अध्ययनका प्राध्यापक डिलन लोह भन्छन्।

सिङ्गापुरले लामो समयदेखि यी दुई महाशक्तिबीच आफूलाई एक तटस्थ पक्षका रूपमा प्रस्तुत गरेको थियो। सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले आफ्नो देश न चीनपक्षीय न अमेरिकापक्षीय भएको भन्दै आफ्नो देश "सिङ्गापुरपक्षीय" रहेको बताउँदै आएका छन्।

चिपसम्बन्धी अमेरिका-चीन विवाद चर्किँदै जाँदा यो सन्तुलन कायम राख्ने प्रयास "अहिले झन् कठिन र कहिलेकाहीँ थप जोखिमपूर्ण" बन्दै गएको लोह ठान्छन्।

मेगास्पिड प्रकरणपछि सिङ्गापुरले दुई शक्तिबीच कायम राख्दै आएको यो नाजुक सन्तुलन झन् चुनौतीपूर्ण बन्ने विश्लेषकहरू बताउँछन्।

कार्नेगी चाइनामा आबद्ध एक जना सिङ्गापुरका राजनीतिशास्त्री चोङ जा इआन बेइजिङले सिङ्गापुरलाई अमेरिकी प्रतिबन्धसँग जोडिएका विषयमा किन छानबिन गरिरहेको भनेर सोध्न सक्ने बताउँछन्। उनका अनुसार उसले अमेरिकी स्वार्थलाई साथ दिन थालेको हो वा होइन भन्ने प्रश्न पनि सामना गर्नुपर्ने हुन्छ।

अर्कोतर्फ वासिङ्टनले चाहिँ सिङ्गापुरको पछिल्लो अभिव्यक्तिलाई अमेरिकातर्फ 'आरोप पन्छाएको' अर्थमा लिनसक्छ जसका कारण ह्वाइट हाउसबाट प्रतिकूल प्रतिक्रिया सामना गर्नुपर्ने हुनसक्छ।

"सिङ्गापुरले कसैको पनि पक्ष नलिने नीतिगत अडान राख्दै आएको छ। तर कसैको पनि पक्ष नलिएर, उनीहरूले एकतर्फको एजेण्डामा सहयोगीको भूमिका खेलेको ठानिने जोखिम पनि हुन्छ।"

सिङ्गापुरको एस राजारतनम स्कूल अफ इन्टरन्याश्नल स्टडिजका सहप्राध्यापक र चीन विज्ञ बेन्जमिन हो यो अमेरिका र चीनबीचको रस्साकस्सीमा सिङ्गापुर फसेको पहिलो वा अन्तिम घटना नभएको बताउँछन्।

उनले भने, "खुला अर्थतन्त्रले चुकाउनुपर्ने मूल्य यो हो। सम्बन्ध बिग्रँदा तपाईँ बीचमा पर्नुहुन्छ।"

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
9h ago
व्यवसायमैत्री सिङ्गापुरलाई जेन्सन वाङ प्रकरण कसरी टाउको दुखाइ बनिरहेको छ?

व्यवसायमैत्री सिङ्गापुरलाई जेन्सन वाङ प्रकरण कसरी टाउको दुखाइ बनिरहेको छ?

प्रविधि कम्पनी एन्भिडिआका प्रमुख कार्यकारी अधिकृत जेन्सन वाङ र एक जना सन्दिग्ध चिनियाँ जासुसबीचको सम्बन्धले विश्वव्यापी चिप केन्द्रको सफल पहिचान कायम गरेको सिङ्गापुरमाथि अवैध कारोबार हुने कथित स्था...

#एन्भिडिआ #चिप #वाङ
Compare →

Related Stories

Business & Economy
Build #2612