Trending
Prev Story
Next Story

छठमा बेग्लै रौनक ल्याउने शारदा

Nagarik News •
November 14, 2026 • 11:54 AM
2
2 reads 0 reactions

यी गीतले थप पर्वको उत्साहलाई बढाउने काम गरेको देखिन्छ।

छठमा बेग्लै रौनक ल्याउने शारदा

छठ पर्वको रौनक काठमाडौंमा पनि बढ्न थालेको छ। राजधानीका विभिन्न स्थानमा छठ घाट निर्माण भइरहेका छन्। पछिल्ला केही वर्षयता काठमाडौं उपत्यकामा छठ पर्व भव्य रूपमा मनाउन थालिएको छ। मधेश प्रदेशको सांस्कृतिक पहिचानका रूपमा स्थापित यो पर्व अहिले राजधानी हुँदै देशका विभिन्न भाग र विदेशमा रहेका नेपाली तथा भारतीय समुदायसम्म फैलिएको छ।

छठ केवल धार्मिक अनुष्ठान मात्र होइन, प्रकृति, आस्था, परिवार र सामाजिक सद्भावसँग जोडिएको पर्व पनि हो। विशेषगरी सूर्यदेव र षष्ठी देवी अर्थात् छठी माताको पूजा आराधना गरिने यस पर्वमा व्रतालुले सन्तान प्राप्ति, सन्तानको दीर्घायु, परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्छन्। कठोर नियम पालना गर्दै निर्जला व्रत बस्ने, अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्पराले यस पर्वलाई विशिष्ट बनाएको छ।

छठ आउनुभन्दा केही साताअघिदेखि नै तराई–मधेशका गाउँघरमा छठका गीत गुन्जिन थाल्छन्। घरदेखि घाटसम्म सुनिने यी गीतले पर्वको उत्साह र धार्मिक वातावरणलाई थप जीवन्त बनाउँछन्। छठ गीतको चर्चा हुँदा सबैभन्दा पहिले सम्झिने नाम हो, प्रसिद्ध लोकगायिका शारदा सिन्हा।

जसरी तीजमा विष्णु माझीका गीतले छुट्टै रौनक थप्छन्, त्यसरी नै छठ पर्वमा शारदा सिन्हाका गीतको आफ्नै स्थान छ। उनका गीतबिना छठको माहोल अधुरो लाग्ने धेरै श्रोताको अनुभव छ। अहिले शारदा सिन्हा भौतिक रूपमा हामीमाझ छैनन्। तर उनले गाएका कालजयी भोजपुरी छठ गीतहरू हरेक वर्ष पर्वको आगमनसँगै घरघर र घाटघाटमा गुन्जिरहेका छन्। उनका गीतले छठको धार्मिक आस्था, पारिवारिक भावना र सांस्कृतिक परम्परालाई पुस्तान्तरण गर्नसमेत योगदान पुर्‍याएका छन्।

‘पहिले पहिले हम कइली छठी मैया वरत तोहर’

शारदा सिन्हाको चर्चित छठ गीतमध्ये एक हो, ‘पहिले पहिले हम कइली छठी मैया वरत तोहर’। दशकअघि सार्वजनिक भएको यस गीतमा सहरी परिवेशमा हुर्किएकी महिलाले पहिलो पटक छठ व्रत गर्दाको अनुभव व्यक्त गरेकी छन्।

हरिदे नारायण झाको शब्द रहेको गीतमा पहिलो पटक व्रत बस्दा आफूबाट कुनै गल्ती भए क्षमा गरिदिन छठी मातासँग आग्रह गरिएको छ। गीतमा सन्तान र श्रीमान्को सुख, शान्ति तथा परिवारको कल्याणको कामना गरिएको छ। गीतको दृश्यमा व्रतको पहिलो दिनदेखि छठ घाट सजाउने र पूजाका लागि गरिने तयारीसमेत समेटिएको छ।

पहिलो पटक छठ व्रत बस्ने महिलाको मनोभाव, धार्मिक विश्वास र छठी माताप्रतिको समर्पण गीतमा सुन्न सकिन्छ। त्यसैले यो गीत नयाँ व्रतालुका लागि मात्र नभई छठको परम्परा बुझ्न चाहनेहरूका लागि पनि अर्थपूर्ण बनेको छ।

‘दुखवा मिटाइ छठी मैया’ शारदा सिन्हाको अर्को चर्चित छठ गीत हो। यसमा छठी मातासँग जीवनका दुःख, कष्ट र सङ्कट हटाइदिन प्रार्थना गरिएको छ।

उनको निधन हुनुभन्दा एक दिनअघि मात्र सार्वजनिक भएको यस गीतलाई उनका छोराले सार्वजनिक गरेका थिए। गीतमा सन्तान प्राप्तिको कामनासहित परिवारको सुख र शान्तिका लागि छठी मातासँग गरिएको पुकार समेटिएको छ।

हरिदे नारायणको शब्द रहेको गीतमा श्रीमान्को माया, सन्तान प्राप्ति, सासू–ससुराको दीर्घायु तथा अँध्यारोबाट उज्यालोतर्फको जीवन यात्राको कामना गरिएको छ। पारिवारिक सुख, सन्तानप्रतिको चाहना र जीवनका सङ्कटबाट मुक्ति पाउने आशा यस गीतका मुख्य भाव हुन्। छठ पर्वको मूल मर्मसमेत यसले उजागर गर्छ।

सन् १९८६ मा सार्वजनिक भएको ‘हो दीनानाथ’ पनि शारदा सिन्हाको लोकप्रिय छठ गीत हो। यहाँ दीनानाथ भन्नाले सूर्यदेवलाई सम्बोधन गरिएको छ। सूर्यलाई जीवन र ऊर्जाको स्रोत मान्दै गरिने आराधना यस गीतको मुख्य विषय हो।

करिब चार मिनेटको यस गीतमा सूर्यदेव र व्रतीबीचको संवादात्मक भाव प्रस्तुत गरिएको छ। सूर्यदेवको आगमनमा भएको ढिलाइप्रति व्रतीले जिज्ञासा राख्दै उनको महिमा र महत्त्व व्यक्त गरेको गीतमा सुनिन्छ। सूर्यदेवलाई संसारको एक मात्र प्रकाशदाता र जीवनको आधारका रूपमा चित्रण गर्दै अर्घ्य अर्पण गरिएको प्रसङ्गसमेत गीतमा समेटिएको छ।

यस गीतमा शारदाको स्वर मात्र होइन, शब्द र सङ्गीत निर्देशनसमेत रहेको छ। सूर्यप्रतिको श्रद्धा र छठको धार्मिक दर्शन बुझाउने गीतका रूपमा यसले विशेष स्थान बनाएको छ।

छठ पूजामा प्रयोग हुने सामग्रीको पनि आफ्नै धार्मिक र सांस्कृतिक महत्त्व छ। बाँसबाट बनेको सुपा अर्थात् नाङ्लो छठ पूजाका लागि आवश्यक सामग्रीमध्ये एक हो। अन्न र पूजा सामग्री राख्न प्रयोग गरिने सुपाको महत्त्वलाई शारदा सिन्हाले ‘सुपओ न मिले माई’ गीतमार्फत प्रस्तुत गरेकी छन्।

सन् २०१६ मा सार्वजनिक भएको यस गीतमा शारदा सिन्हा र शान्ति जैनको शब्द रहेको छ। छठ पर्वका लागि आवश्यक सुपा नपाएको अवस्थामा व्रतीले छठी मातासँग गरेको गुनासो गीतमा सुनिन्छ। पूजाका सामग्री जुटाउन नसक्दाको दुःख र छठी माताप्रतिको विश्वासलाई गीतले समेटेको छ।

यसको भिडियो सम्पादन गजेन्द्र सिंह सोलंकीले गरेका हुन्। छठ पर्वमा आवश्यक सामग्रीको महत्त्व र त्यससँग जोडिएको धार्मिक भावनालाई गीतले जीवन्त बनाएको छ।

छठ पर्वको चर्चा गर्दा छुटाउनै नहुने अर्को गीत हो, ‘केरवा के पात पर’। सन् १९८६ मा सार्वजनिक भएको यस गीतमा शारदा सिन्हाको स्वर र शब्द रहेको छ। छठको समयमा सबैभन्दा बढी सम्झिने र सुनिने परम्परागत गीतमध्ये यो पनि एक हो।

गीतमा केराको पात, सूर्यदेवको महिमा र प्रकृतिसँग जोडिएको छठको धार्मिक परम्परालाई प्रस्तुत गरिएको छ। सूर्यदेवले संसारलाई प्रकाश र आशीर्वाद दिने भाव गीतमा व्यक्त गरिएको छ।

यस गीतको लोकप्रियता शारदा सिन्हाको स्वरमा मात्र सीमित छैन। पछि अनुराधा पौडवाल, पवन सिंह र देवीसहित थुप्रै चर्चित कलाकारले पनि आफ्नै स्वरमा यसलाई प्रस्तुत गरेका छन्। विभिन्न पुस्ताका कलाकारले गाएको यो गीत छठको सांस्कृतिक पहिचानसँग जोडिएको छ।

छठ पर्वमा सूर्यलाई अर्घ्य दिनु प्रकृतिप्रतिको सम्मान र जीवनप्रतिको कृतज्ञताको अभिव्यक्ति पनि हो। यस पर्वमा गाइने गीतहरूले व्रतालुको आस्था, परिवारप्रतिको माया, सन्तानको कामना र सामाजिक एकताको भावलाई उजागर गर्छन्।

काठमाडौंका नदी किनार र विभिन्न छठ घाटमा अहिले बढ्दै गएको चहलपहलसँगै शारदा सिन्हाका गीत पनि गुन्जिन थालेका छन्। समय फेरिएको छ, छठ मनाउने स्थान र समुदाय विस्तार भएका छन्, तर उनका गीतमा अभिव्यक्त आस्था र भावनाको महत्त्व घटेको छैन। शारदा सिन्हा आज हामीमाझ नरहे पनि उनका स्वरले हरेक छठमा उनलाई सम्झाइरहनेछन्।

प्रकाशित: २८ कार्तिक २०८३ १७:३९ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1h ago
छठ पर्व :  काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तयारी

छठ पर्व : काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तयारी

काठमाडौं : छठ पर्वअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिँदैछ। लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सबै तया...

#पर्व #काठमाडौं
Compare →
Onlinekhabar
3h ago
छठमा उखु बेच्न व्यस्त सिरहाका किसान (तस्वीरहरू)

छठमा उखु बेच्न व्यस्त सिरहाका किसान (तस्वीरहरू)

२८ कात्तिक, सिरहा । आस्थाको पर्व छठ नजिकिएसँगै सिरहाका बजार तथा सडक किनारमा उखु बेच्ने किसानहरूको चहलपहल बढेको छ । छठपर्वका लागि उखु किन्न उपभोक्ताहरू बजार पुग्न थालेपछि किसानहरू बिक्री गर्न व्यस्त देखिएका छन् । सिरहाको गोलबजारसहित …

#पर्व #छठमा
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612