लुम्बिनीले अमेरिकामा खेलिरहेका ब्याटिङ अलराउन्डर अलि सेखलाई ‘डेब्यु’ गराइरहेको छ । उनले समिम हुसैनको स्थान लिनेछन् । त्यस्तै विराटनगरले एन्जेलो म्याथ्युज र प्रतिश जिसीको स्थानमा शुभम रन्जने र सुजन थपलियालाई खेलाइरहेको छ ।
काठमाडौँ — लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटको शनिबारको खेलमा विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर विराटनगरलाई ब्याटिङका लागि बोलाएका हुन् । लुम्बिनी यसअघि नै प्लेअफमा निश्चित भइसकेको छ र यस खेल जितेमा शीर्ष टोली बन्दै क्वालिफायरमा पुग्ने छ । विराटनगरलाई प्लेअफमा पुग्ने आशालाई जिवितै राख्न यस खेल जित्नै पर्ने दबाब रहेको छ । लुम्बिनी ९ अंकसहित दोस्रो स्थानमा छ ।
विराटनगरमाथि विजय हात पारेमा १० अंकमा रहेको सुदूरपश्चिम रोयल्सलाई उछिन्दै लुम्बिनी शीर्ष स्थानमा निश्चित हुनेछ । विराटनगरले जित हात पारेमा ८ अंक पुग्ने छ र चौथो स्थानमा उक्लने छ । विराटनगरको प्लेअफमा पुग्ने आशा चितवन राइनोज र कर्णाली याक्स बीचको खेलमा अड्किएको छ । चितवनले कर्णालीलाई पराजित गरेमा विराटनगर प्लेअफ दौडबाट बाहिरिने छ ।
लुम्बिनीले अमेरिकामा खेलिरहेका ब्याटिङ अलराउन्डर अलि सेखलाई ‘डेब्यु’ गराइरहेको छ । उनले समिम हुसैनको स्थान लिनेछन् । त्यस्तै विराटनगरले एन्जेलो म्याथ्युज र प्रतिश जिसीको स्थानमा शुभम रन्जने र सुजन थपलियालाई खेलाइरहेको छ ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।