२८ कात्तिक, तेह्रथुम । कुनै समय गाउँघरमा विवाह, व्रतबन्ध तथा अन्य शुभकार्य हुँदा नौमती बाजाको धुनले गाउँ नै गुञ्जायमान हुन्थ्यो । दमाहा, ट्याम्को, सनाई, झ्याली र नर्सिङ्गाको तालमा गाउँलेहरू रमाउँदै नाच्थे । विवाहको जन्ती निस्कँदा होस् वा अन्य शुभकार्य, नौमती बाजाको उपस्थितिले छुट्टै रौनक थप्थ्यो । तर अहिले समय फेरिएको छ । गाउँघरमा सुनिने नौमती बाजाको धुन विस्तारै हराउँदै गएको छ ।
तेह्रथुमको फेदाप गाउँपालिका–२, लोगुवाका सेतुराम नेपाली ७१ वर्षका भए । उमेरले सात दशक पार गरिसक्दा पनि उनी विवाह, व्रतबन्ध तथा अन्य शुभकार्यमा नौमती बाजा बजाउन पुग्ने गर्छन् । सानै उमेरदेखि बाजा बजाउन थालेका उनी जीवन रहुन्जेल यही पेसालाई निरन्तरता दिने बताउँछन् ।
‘मेरो बुवाको अंश भनेकै यही बाजा हो,’ सेतुराम भन्छन्, ‘सानैदेखि बजाउँदै आएँ, अहिले पनि सकेसम्म बजाउन जान्छु । बाँचुन्जेल यही बाजा बजाउँछु ।’
उनका लागि नौमती बाजा आम्दानीको माध्यम मात्र होइन, पुर्खाबाट प्राप्त सम्पत्ति र पहिचान पनि हो ।
तर उनीजस्ता पुरानो पुस्ताका बाजागाजाका जानकारहरू क्रमशः उमेरका कारण अशक्त हुँदै गएका छन् । उनीहरूले सिकेको सीप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन । जातीय विभेदका कारण बाजा बजाउने समुदायले भोग्नुपरेको सामाजिक व्यवहार, यही पेसाबाट परिवारको जीविकोपार्जन गर्न कठिनाइ र नयाँ पुस्ताको घट्दो आकर्षणले नौमती बाजाको अस्तित्व संकटमा परेको छ ।
फेदाप गाउँपालिका–२ का देउमान नेपालीका अनुसार अहिले नौमती बाजा बजाउने टोली पाउनसमेत मुस्किल हुन थालेको छ । विवाहमा बाजा बजाएबापत करिब १० हजार रुपैयाँ पारिश्रमिक पाइने भए पनि उक्त रकम नौजनाको टोलीले बाँड्नुपर्ने हुन्छ । नियमित काम नपाइने र प्राप्त पारिश्रमिकले परिवार चलाउन कठिन हुने भएकाले नयाँ पुस्ता यस पेसाप्रति आकर्षित हुन नसकेको उनको भनाइ छ ।
‘एउटा विवाहमा बाजा बजाएको दश हजार रुपैयाँ आउँछ, तर बजाउने टोली नै नौजनाको हुन्छ,’ देउमान भन्छन्, ‘यसरी आएको रकमले परिवार पाल्न गाह्रो हुन्छ । त्यसैले नयाँ पुस्ता यो पेसामा आउन चाहँदैन ।’
नेपाली मौलिक लोकसंस्कृतिको पहिचान बोकेको नौमती बाजा परापूर्वकालदेखि नै राज्याभिषेक, विवाह, व्रतबन्ध, पूजा तथा विभिन्न खुसीयालीका अवसरमा बजाइँदै आएको छ । यसको धुनले शुभकार्यलाई उल्लासमय बनाउनुका साथै नेपाली सामाजिक तथा सांस्कृतिक परम्परालाई जीवन्त राख्दै आएको छ ।
नौमती बाजामा दुई दमाहा, दुई ट्याम्को, दुई सनाई, एक झ्याली र दुई नर्सिङ्गा गरी नौवटा बाजा समावेश हुन्छन् । यी बाजालाई ताल र लय मिलाएर बजाउन विशेष सीप, अभ्यास र सामूहिक समन्वय आवश्यक पर्छ । यसको समूहमा सामान्यतया ९ देखि ११ जनासम्म सहभागी हुने गरेका छन् । तर अहिले गाउँघरमा यस्ता टोली फाट्टफुट्ट मात्र भेटिन्छन् ।
नौमती बाजाको लोकप्रियता घट्नुमा विवाह तथा सामाजिक संस्कार मनाउने शैलीमा आएको परिवर्तन पनि एउटा कारण बनेको छ । पहिले विवाह दुई–तीन दिनसम्म चल्ने र जन्ती तथा पाहुनाको मनोरञ्जनका लागि बाजागाजा बजाउने चलन थियो । बाजाको तालमा नाचगान गर्दै विवाहको रौनक बढाइन्थ्यो । अहिले विवाह एकै दिनमा सम्पन्न गर्ने प्रचलन बढेको छ । आधुनिक गीतसंगीतको प्रयोगले पनि परम्परागत बाजाको स्थान साँघुरिँदै गएको छ ।
म्याङलुङ नगरपालिका–४, पिप्लेका रामबहादुर कटुवालले छोराको विवाहका लागि नौमती बाजा बजाउने टोली खोज्न निकै कठिन भएको अनुभव सुनाए । उनका अनुसार विवाहमा नौमती बाजा बज्दा मात्रै परम्परागत विवाहको वास्तविक रौनक महसुस हुन्छ ।
‘बाजा बजेन भने विवाहजस्तै लाग्दैन,’ कटुवाल भन्छन्, ‘पहिले गाउँघरमा विवाह हुँदा बाजा बजाउने टोली सहजै पाइन्थ्यो, अहिले खोज्दै हिँड्नुपर्ने अवस्था छ ।’
नौमती बाजा बजाउने मानिसको अभावसँगै यसको अर्को चुनौती बाजा निर्माण गर्ने सीप हराउँदै जानु पनि हो । कुनै समय गाउँघरमै बाजा मर्मत गर्ने र आवश्यक परे नयाँ बाजा बनाउने सीप भएका कालीगढ भेटिन्थे । अहिले बाजा बजाउन जान्ने मानिस नै कम हुँदै गएका बेला बाजा बनाउन र मर्मत गर्न जान्ने व्यक्ति पाउनसमेत कठिन हुन थालेको छ । यसले नौमती बाजाको संरक्षण र निरन्तरतामा थप चुनौती सिर्जना गरेको छ ।
नौमती बाजा कुनै एउटा समुदायको पेसा मात्र नभई नेपाली समाजको साझा सांस्कृतिक सम्पदा हो । यसको संरक्षणका लागि बाजा बजाउने समुदायको सम्मान, पेसाको उचित मूल्यांकन र नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्ने वातावरण आवश्यक छ ।
स्थानीय तहले बाजा बजाउने समूहलाई प्रोत्साहन गर्ने, तालिम सञ्चालन गर्ने, बाजा खरिद तथा मर्मतमा सहयोग गर्ने र सांस्कृतिक कार्यक्रममा नौमती बाजाको प्रयोगलाई प्राथमिकता दिन सके यसको संरक्षणमा सहयोग पुग्ने स्थानीय बताउँछन् ।
पुर्खाले पुस्तौँदेखि जोगाउँदै आएको नौमती बाजा अहिले संरक्षणको पर्खाइमा छ । पुरानो पुस्तासँगै यसको धुन र बजाउने सीप पनि हराउँदै जाने हो भने भोलिका पुस्ताले नौमती बाजालाई इतिहासका पानामा मात्र भेट्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले यसको संरक्षण गर्नु बाजा बजाउने समुदायको मात्र दायित्व होइन, नेपाली मौलिक कला, संस्कृति र पहिचान जोगाउन राज्य, स्थानीय सरकार र समग्र समाजकै साझा जिम्मेवारी हो ।