साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७० वर्षीय धिरजबहादुर राईको आगलागीमा परेर ज्यान गएको छ।
खोटाङ — साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ७० वर्षीय धिरजबहादुर राईको आगलागीमा परेर ज्यान गएको छ। परिवारदेखि छुट्टिएर एक्लै बाँझेच्यानडाँडाको रातमाटेस्थित गोठमा बस्दै आएका वृद्ध राई गोठमा मृत फेला परेका हुन्।
करिब एक वर्षदेखि गोठमा बसेर सुन्तलाखेती र सुङ्गुरपालन गर्दै आएका राई आफैंले अगेनामा बालेको आगो गोठमा सल्किँदा जलेर उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष हेमन राईले जानकारी दिए।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको छ। घटनाको जानकारी पाएलगत्तै जिल्लाबाट टोली पठाएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए।
उत्तम चाैलागाई खोटाङबाट रिपोटिङ गर्छन् ।