Trending
Prev Story
Next Story

बन्धन

Nagarik News •
November 14, 2026 • 01:59 AM
3
3 reads 0 reactions

हरेक चिजको चरम निम्न बिन्दु र चरम उच्च बिन्दु हुन्छ। त्यो बिन्दुभन्दा तल वा माथि प्रकृतिले नै जान दिँदैन।

बन्धन

चितवन जाँदा म प्रायः हात्तीनजिक पुग्न रमाउँछु। अजङ अनि बलियो प्राणी हात्तीलाई मजस्तो लुखुरे मनुष्यले नजिकबाट जिस्काउन पाउनु चानचुने अवसर होइन। अहिले पनि संयोग त्यस्तै पर्‍यो, हात्तीलाई मुसार्ने मात्र होइन, हात्तीका कथासमेत सुन्न पाउने संयोग। अवसरको सदुपयोग गर्दौ माहुतेसँग मनको अमूर्त सन्दुक खोलेँ– ‘कति वर्षको भयो यो हात्ती ?’

माहुतेले भने– ‘यो हात्ती त ३० वर्षको भयो। यसको आमा पनि हामीसँग नै छ। आमा त ६५ वर्षको भयो। म र यो हात्ती एकै साल जन्मेका हौं रे। म पनि ३० वर्षकै भएँ।’

गफ हुँदै गर्दा ध्यान हात्तीको खुट्टामा बाँधिएको सिक्रीमा गयो। लाग्यो– भीमकाय हात्तीको जिन्दगीको बन्धन हो यो। विशाल शरीर, थामजस्ता खुट्टा, रुख उखेल्न सक्ने सामर्थ्य अनि जंगललाई नै आफ्नो पदचापमा थर्काउन सक्ने शक्ति भएको हात्ती एउटा सानो फलामको सिक्रीसँग पराजित देखिन्थ्यो। सिक्रीले उसको खुट्टामा सामान्य घेरा बनाएको थियो तर त्यस घेराभित्र एउटा विशाल जीवन कैद थियो।

हात्तीलाई थाहा छैन, म किन बाँधिएको छु ? उसलाई यो पनि थाहा छैन– यो हात्तीसारभन्दा पर म बाँच्न सक्ने जंगलरूपी अनन्त संसार छ किनभने ऊ त्यो संसारमा कहिल्यै पुग्न पाएको छैन। माहुतेलाई पनि थाहा छैन– म जीवनभर यही हात्तीको शुश्रूषामा मात्र किन बाँधिएको छु ? हात्तीसारभन्दा बाहिर पनि अनन्त संसार छ, अनन्त सम्भावना छ तर म जीवनभर किन यही गोठको घेरामा विवश छु ?

माहुतेको कुरा सुन्नासाथ अलि भावुक प्रकृतिको मेरो मनको बिरुवामा भावनाको कोपिला पलाइहाल्यो– हात्तीसारमा हात्तीका आमाछोरालाई बाँधिएको मात्र होइन, माहुतेका कम्तीमा तीन पुस्ताको जिन्दगानी पनि यिनै दुई हात्तीको स्याहारमा हात्तीसारमै बाँधिएको छ। फरक यत्ति हो, हात्तीको खुट्टामा सिक्री थियो, मान्छेको मनमा।

हात्तीलाई छाडा छोडिदिने हो भने मान्छे, घरखेत तहसनहस पारिदिन सक्छ। फेरि अनुशासन अनि आचरणको बन्धनले बाँध्ने हो भने त्यही हात्ती परम मित्र बन्छ, कतिपय मान्छेको जीवनको अपरिहार्य दोस्त। सांसारिक र अनुशासित बन्ने हो भने बन्धन ठुलो पनि चाहिँदो रहेनछ। हात्तीको खुट्टामा बाँधिएको सानो सिक्री संस्कारको बन्धन हो, अनुशासन र मार्गदर्शनको बन्धन हो। हात्तीसार छेउमा धेरैबेर मनले यस्तै केके सोचिरह्यो।

हाम्रो जीवनमा यस्ता घटना पटक पटक घटिरहन्छन्। कहिलेकाहीं लाग्छ– हरेक चिजको चरम निम्न बिन्दु र चरम उच्च बिन्दु हुन्छ। त्यो बिन्दुभन्दा तल वा माथि प्रकृतिले नै जान दिँदैन। हामीले गर्ने कामको निम्नता र उच्चता प्रकृतिले नै निर्धारण गरिदिएको छ।

लाग्छ– यहाँभन्दा धेरै नबोल, लामो जीवनमा गर्न सक्ने सबै काम गरिसक्यौ भनेर हो कि बिपी कोइरालाको रुद्रघन्टीलाई असमयमै प्रकृतिले नै थला बसालेको; सिंगो जीवनमा लेख्नुपर्नेजति लेखिसक्यौ, तिमीहरूको लेखनको उच्चता यत्ति हो भनेर हो कि मोतीराम भट्ट, भैरव अर्याल अनि लक्ष्मीप्रसाद देवकोटालाई क्रमशः ३०, ४०, ५० वर्षमा प्रकृतिले नै जीवनोन्मुक्ति दिएको; अरु २० वर्ष तैंले गाइस् भने समयले थेग्न सक्दैन भनेर हो कि नारायण गोपालको स्वरले असमयमै विश्रान्ति पाएको; केही वर्षअघिसम्म सामाजिक सञ्जालमा छन्दमा सुन्दर कविता वाचन गर्ने सरु गुरागाईंको गला प्रकृतिले अवरुद्ध पारिदियो। कविता वाचनमा उच्च क्षमता देखाइसक्यौ, त्यो उच्चताको शिखर यही हो भनेर हो कि प्रकृतिले नै त्यो क्षमता त्यहाभन्दा माथि जान नदिएको ?

पासाङ ल्हमु शेर्पाले ३२ वर्षमै कुनै महिलाले गर्न नसकेको महान् काम गरिन्। प्रथम महिलाका रूपमा सगरमाथाको सफल आरोहण गरिन् अनि फर्कने क्रममा खराब मौसम र कठिन हिमाली परिस्थितिका कारण उनको जीवन नै समाप्त भयो। सायद उनले गर्ने कर्मको उच्चतम बिन्दु थियो त्यो। उनी यहाँ त्यही बिन्दुसम्म कर्म गर्ने भूमिकामा आएकी थिइन्। भूमिका पूरा भयो, त्यसपछि प्रकृतिले उनको थप आवश्यकता महसुस गरेन। उनमा अदम्य साहस थियो तर हिमालको कठोर बन्धनमा परिन्। प्रकृतिको बन्धन सायद यही हो– हामी उचाइ चुम्न सक्छौं तर हरेक उचाइबाट सुरक्षित फर्किने सुनिश्चितता आफ्नो हातमा राख्न सक्दैनौं। मानिसको साहसले सम्भावनाको ढोका खोल्न सक्छ तर प्रकृतिका सबै बन्धन हटाउन सक्दैन।

यस्ता परिघटना मनमा मन्थन हुँदैगर्दा कहिलेकाहीं लाग्छ– कर्मको निम्नता र उच्चता प्राप्त गर्न हतारिनु हुन्न। त्यो निम्नता र उच्चता त जीवनभरमा प्राप्त गर्ने हो; आजको भोलि पाउने चिज होइन। हामीले जीवनमा त्यही काम गर्न आएका छौं, त्योभन्दा तल वा माथि जाने अनुमति हामीलाई छैन भने पूर्णता प्राप्तिका लागि धेरै हतारिनु पनि हुँदैन। आखिर पुग्नु त त्यही उच्च बिन्दुसम्म नै हो, त्यहाँभन्दा माथि जाने सिँढी नै छैन जस्तो पनि लाग्छ।

लाग्छ– पूर्ण जीवनभर गर्नुपर्ने काम मोतीराम भट्टले ३० वर्षमै गरिसिद्धाए, आफ्नो भागको पूर्ण काम गर्न भैरव अर्यालले ४० वर्ष मात्र कुरे। देवकोटा धेरै लेख्न आएका रहेछन्। उनले पनि आफ्नो भागको सम्पूर्ण काम ५० वर्षमै सके। अर्को कुरा यो धरतीमा हामीले आफ्नो भागको माग गर्न आएका हौं। काम सकिएपछि यो धरामा बसिरहनु औचित्य पनि हुँदैन वा प्रकृतिले नै हामीलाई बस्न दिँदैन।

कतै पढेको कथाको सम्झना आउँछ– हात्ती र सिक्री। हात्तीलाई सानो छँदै खुट्टामा सिक्री बाँधेर राख्ने गरिन्छ। सानो हात्तीले सिक्री तोड्न धेरैपटक प्रयास गर्छ। उसको शरीरमा पर्याप्त शक्ति हुँदैन। ऊ सिक्री तान्छ, छटपटाउँछ, थाक्छ। उसलाई लग्छ– यो सिक्री मैले छुटाउन सक्दिनँ। समय बित्दै जान्छ। उसको शरीर विशाल हुन्छ, शक्ति बढ्छ तर उसको मनमा गडेर बसेको पुरानो जरा मर्दैन– सिक्री तोड्न सकिँदैन। बच्चा अवस्थामा जुन सिक्रीले हात्तीलाई बाँधिएको थियो, युवावस्थामा पनि उसलाई बाँध्न त्यही सिक्री पर्याप्त हुन्छ। अब उसले चाहेमा सजिलै सिक्री चुँडाल्न सक्छ तर ऊ त्यो प्रयास नै गर्दैन। उसको शरीरमा शक्ति छ, खुट्टामा सामथ्र्य छ, अगाडि खुला संसार छ तैपनि उसको मनमा एउटा अदृश्य बन्धन छ– म यो सिक्री चुँडाल्न सक्दिनँ।

हाम्रो जीवनमा पनि बन्धनको प्रकृति यस्तै हुन्छ। घरको आँटीमा जान मलाई अहिले पनि डर लाग्छ। आँटी– चिनी, मह, सक्खर, काँक्रो, धान, कोदो, डोका नाङ्ला आदि सञ्चय गरेर राख्ने ग्रामीण भण्डार कक्ष। मलाई चिनी खान मन लाग्थ्यो अनि आँटीमा चढ्न थाल्थेँ। त्यतिबेला तलबाट हजुरआमाले भन्नुहुन्थ्यो– ‘आँटीमा त डरलाग्दी आँटीबुढी बसेकी छ, जानु हुँदैन।’

हजुरआमाको कुरा सुनेपछि शरीरमा काँडा उम्रेर आउँथे। म डराउँदै सिँढीबाट तल झर्थें। आज पनि त्यही घर छ गाउँमा अनि आँटी पनि उही छ। मलाई अहिले पनि आँटीमा जान उत्तिकै डर लाग्छ। सायद यो डरको बन्धनले जीवनभर छोड्ने छैन। हात्तीको बन्धन फलामको हुन्छ तर मान्छेको बन्धन कहिले भयको, कहिले प्रतिष्ठाको, कहिले परम्पराको, कहिले लोभको त कहिले मायाको। मनको सिक्री अमूर्त हुन्छ। अमूर्त चिज सधैं बलवान् महसुस हुन्छ। फलामको सिक्रीभन्दा मनको सिक्री अझै खतरनाक हुन्छ।

मानिसको विचार र लक्ष्य असीमित हुन्छ तर त्यसलाई व्यावहारिक स्वरूप प्रदान गर्ने शरीर सीमित छ। कहिलेकाहीं मनले संसार बदल्न खोजिरहेको हुन्छ तर शरीरलाई एक वाक्य बोल्नसमेत कठिन भइरहेको हुन्छ। जे काम गर्नुछ, हामीले पाएको यही अमूर्त, अपारदर्शी अनि अदृश्य जीवनमै गर्ने हो। हामीलाई थाहा छैन, हाम्रो भौतिक जीवन कहाँसम्म पुग्छ ? त्यही अन्योलता बिच देख्नु छ अमूल्य सपना, विस्तार गर्नुछ क्षमता अनि बनाउनु छ दिव्य आकृति। यसैबिच हामीलाई रोग लाग्छ, थकाइ लाग्छ, सम्बन्ध टुट्छ, पैसा पुग्दैन, समाजले रोक्छ। तैपनि हामी रोकिँदैनौं किनभने अनेक बन्धनबिच हामी त्यहाँ पुग्नु नै छ, जहाँ पुग्ने भनेर हामीलाई खटाइएको छ। हामीले गर्न सक्ने काम र हामीले पाउने समय बराबर हुँदैन। कहिलेकाहीं प्रतिभा बाँकी रहन्छ तर आयु सकिन्छ; विचार बाँकी रहन्छ तर आवाज कमजोर हुन्छ; सपना बाँकी रहन्छ तर शरीर थाक्छ। हामीसँग अझै दिन सक्ने कुरा बाँकी हुन्छ तर संसारमा दिन पाउने समय सकिँदै गएको हुन्छ।

बन्धन मनमा छ, कामनामा छ, वासनामा छ, मोहमा छ र त्यो बन्धन हामी छोड्न चाहँदैनौं। म बाँधिनुको कारण अरू होइन, म आफैं हुँ भन्ने ज्ञान हामीमा हुनुपर्छ। सबैभन्दा पहिला मेरो बन्धन के हो भन्ने कुरा बुझ्नुपर्छ। केही दिन अघि काठमाडौंमा सुगाप्रेमी एक आफन्तको घरमा गएको थिएँ। उहाँले आँगनमा रहेको सुन्दर पिँजडामा एउटा रङ्गीन चरा राख्नुभएको छ। उहाँ चरालाई खुब माया गर्नुहुन्छ। चरालाई पिँजडामा राखेर जंगल जंगल डुलाउनुहुन्छ, मिठो मिठो खान दिनुहुन्छ। दैनिक दाना, सफा पानी दिनुहुन्छ। उहाँ पिँजडानजिकै बसेर चराको आवाज सुन्न खुब मन पराउनुहुन्छ। सुगाको कहानी सुन्दै गर्दा सोधेँ– ‘बुबा, तपाईं चरालाई यति माया गर्नुहुन्छ तर यसलाई किन उड्न दिनु हुन्न ?’

उहाँले भन्नुभयो– ‘यसकै सुरक्षा र मायाको कारण मैले यहाँ राखेको हुँ। यसलाई बाहिर छोडिदिएँ भने यो हराउँछ, बिरालो, चिल आदिले खान सक्छन्, समयमा खान पनि नपाउला।’

हेर्नुस् त बन्धन, मायाको बन्धन हो यो अनि मायाले निम्त्याएको दुःख। चरालाई पनि दुःख, ती बुबालाई पनि दुःख।

यी सबै परिघटना हेर्दा लाग्छ– हरेक कुराको सीमा हुन्छ। सीमाहीन स्वतन्त्रता यहाँ कसैले पाएको छैन। पृथ्वीको उचाइतर्फ जाने हो भने पासाङ ल्हामु पुगेको उच्च बिन्दु नै उचाइको सीमा हो। जति पनि जान्छु भनेर कहाँ पाइन्छ र ? त्यो बिन्दुमा पुगेपछि थप आकाङ्क्षा गर्‍यौं भने वरदान पनि पीडादायी बन्धन बन्न थाल्छ।

पृथ्वी, धर्म, देश, जाति, क्षेत्र, मन, प्रकृति सबै हामीलाई बाँध्ने बन्धन हुन्। यी सबै हामीलाई बाँध्ने साङ्ला हुन्। हामी जीवनरूपी सीमित समयको साङ्लोभित्र यात्रारत छौं। जीवनलाई पलपलमा मृत्युले बाँधेको छ। हरेक ठाउँ अनि समयमा जीवनको अगाडि उभिएको हुन्छ त्यही मृत्यु। मृत्युले जीवनलाई सधैं भनिरहेको हुन्छ– ‘तँ आफ्नो सीमाभन्दा बाहिर नजा है। तेरो सीमाभन्दा बाहिर मेरो संसार छ।’ त्यसैले त हामी पलपलमा डराइराखेका हुन्छौं मृत्युसँग अनि अगाध प्रेम गर्छौं जीवनलाई।

दसैंको माहोल छोपेर यसपालि गाउँ जाने क्रममा गाउँभन्दा पूर्वी भेगमा रहेको गुरुङ गाउँका एक वृद्ध बुबासँग एकछिन गफ भयो। हामी एउटै गाउँका भए पनि अपरिचित थियौं। कुराकानीको उठान चरणमै ती बुबाले मलाई सोध्नुभयो– ‘बाबु, तिम्रो घर कहाँ हो ? तिमी कुन थरका हौ ? बुबाको नाम के हो ?’ बुबाले मलाई भूगोल, जात अनि वंशमा बाँध्न खोज्दै हुनुहुन्छ भन्ने मैले प्रस्ट बुझिहालेँ। मैले उत्तर दिएँ– ‘मेरो घर ढकालथोक, थर पनि ढकाल, बुबा नन्दलाल।’

मेरो परिचय पाएपछि गुरुङबालाई कुरा गर्न सजिलो भयो। गुरुङबाले मलाई पारिगाउँको शिक्षित बाहुनको घेराभित्र थुनेर केही बेर कुराकानी गर्नुभयो।

भूगोल, जातजस्ता सञ्जाल आजको समग्र जगत्कै शक्तिशाली बन्धन बनेका छन्। हिमालको काखमा जन्मिएको मान्छे र समुद्रको किनारमा जन्मिएको मान्छेको जीवन एउटै हुँदैन। अफ्रिकाको कुनै दुर्गम गाउँमा जन्मिएको प्रतिभाशाली बालक र अमेरिकाको सुविधासम्पन्न सहरमा जन्मिएको बालकको सपना समान हुन सक्छ तर ती सपना पूरा गर्ने अवसर समान हुँदैनन्। सबै यही पृथ्वीका बासिन्दा भएपनि देश देशमा छुट्याइएको एउटै भूगोलमा यात्रा गर्न पनि पार्सपोर्ट चाहिन्छ। पृथ्वीको नक्सामा कोरिएका सीमारेखाहरू प्रकृतिले कोरेको होइन, मानिसले आफ्नो राजनीतिक इतिहास, सत्ता र स्वार्थका लागि कोरेका हुन्। हामी सबै यही पृथ्वीका मान्छे हौं तर मेरो राष्ट्रियता नेपाली बन्यो, कसैको भारतीय, कसैको अमेरिकी वा कसैको जापानी। कहिलेकाहीं लाग्छ– यी सबै बन्धन तोडेर निस्फिक्री मान्छे बन्न पाए कति आनन्द हुँदो हो?

प्रकाशित: २८ कार्तिक २०८३ ०७:४४ शनिबार

Prev Swipe Story Next

Related Stories

Science & Climate
Build #2612