Trending
Prev Story
Next Story

शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

Onlinekhabar •
November 14, 2026 • 02:30 AM
2
2 reads 0 reactions

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले गत असोजमा १५ औं महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । उक्त महाधिवेशनमा सहभागी नभएका पूर्वसभापति शेरबहादुर देउवाको समूह भने समानान्तर …

शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले गत असोजमा १५ औं महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । उक्त महाधिवेशनमा सहभागी नभएका पूर्वसभापति शेरबहादुर देउवाको समूह भने समानान्तर महाधिवेशनको तयारीमा छ ।

पार्टीको संस्थापन पक्ष र देउवा समूह आ–आफ्नै ढंगले अघि बढिरहेका बेला १४औं महाधिवेशनमा देउवाका निकटतम प्रतिस्पर्धी रहेका डा. शेखर कोइराला भने दुवै पक्षका महाधिवेशन प्रक्रियामा सहभागी भएका छैनन् ।

दुवै पक्षबाट अलग रहेका कोइरालाले के गरिरहेका छन् ? कोइरालाको थप राजनीतिक भूमिका के हुन्छ भन्ने प्रश्न पनि उठेको छ ।

पार्टीभित्रको यो परिस्थितिमा कोइराला कुन पक्षमा उभिन्छन् वा दुवै पक्षलाई मिलाउन कस्तो भूमिका खेल्छन् भन्ने विषय अहिले कांग्रेस वृत्तमा चासोको विषय बनेको छ ।

तर, संस्थापन र देउवा समूहको महाधिवेशनमा सहभागी नभएका नेता कोइराला भने पार्टी एकताका लागि भन्दै देशव्यापी अभियान चलाउने आन्तरिक तयारीमा देखिएका छन् ।

कांग्रेसभित्र दुईवटा महाधिवेशन र समानान्तर नेतृत्वको अभ्यासले पार्टी विभाजनको जोखिम बढेको भन्दै नेता कोइराला दुवै पक्षबाट अलग रहेर पार्टी एकताको अभियान अघि बढाउने तयारीमा जुटेका हुन् ।

उनीनिकट नेताहरूका अनुसार कोइराला फुटेर अलग भएका दुवै पक्षलाई पुनः एउटै पार्टीमा फर्काउने अभियानको तयारीमा छन् ।

अहिलेको मुख्य आवश्यकता कुनै एउटा पक्षको विजयभन्दा पनि समग्र कांग्रेसको पुनर्निर्माण नै रहेको कोइराला समूहको बुझाइ छ ।

पुराना राजनीतिक शक्तिलाई विस्थापित गर्ने चुनौती बढिरहेका बेला कांग्रेस आफैं विभाजित भएर अलग–अलग कित्तामा उभिनु पार्टीका लागि थप क्षति हुने कोइराला समूहको निष्कर्ष छ ।

‘कांग्रेस आफैं विभाजित भएर अलग–अलग कित्तामा उभिँदा आफ्नो वैचारिकता, सिद्धान्त, निष्ठा, आचरण, आदर्श र इतिहास गुमाउनेबाहेक केही हुँदैन,’ कोइरालानिकट नेता सञ्जयकुमार गौतमले भने, ‘हाम्रो प्रयास समग्र कांग्रेस निर्माणमै केन्द्रित छ ।’

विशेष महाधिवेशनको प्रक्रियाप्रति असहमति राख्दै आएका नेता कोइराला नियमित महाधिवेशनबाटै पार्टीको नेतृत्व चयन हुनुपर्ने पक्षमा थिए । तर, विशेष महाधिवेशन रोक्न र दुवै पक्षबीच सहमति कायम गर्न नसकिएपछि पार्टी विभाजनको अवस्था सिर्जना भएको उनको बुझाइ छ ।

‘हामी नियमित महाधिवेशनकै पक्षमा थियौं । विशेष महाधिवेशन हुनेबित्तिकै पार्टी विभाजनको परिस्थिति आउँछ भन्ने हामीलाई थाहा थियो,’ नेता गौतमले भने, ‘अहिले दुईवटा पार्टी समानान्तर रूपमा बनेका छन् । अदालतले जे फैसला गरे पनि पार्टी विभाजित मानसिकतामा पुगिसकेको छ ।’

नेता कोइरालाले यसअघि पनि पार्टी एकताका लागि दुवै पक्षका नेताहरूसँग संवाद र छलफल गर्दै आएका थिए । अब उनले त्यसलाई व्यक्तिगत संवादमा सीमित नराखी संगठित अभियानका रूपमा अघि बढाउने तयारी गरेका छन् ।

छठ पर्वपछि नेता कोइराला काठमाडौं फर्किएसँगै अभियानबारे थप छलफल हुने नेता गौतमले बताए । उनले अभियानको स्वरूपबारे भने अहिलेसम्म अन्तिम निर्णय भइनसकेको जानकारी दिए ।

संगठन नै बनाएर अघि बढ्ने वा विभिन्न तहका नेता तथा कार्यकर्ताबीच बहस र संवादको अभियान सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको नेता गौतमको भनाइ छ ।

‘छठपछि हामी एकता अभियानलाई अघि बढाउँछौं । त्यसका लागि संगठन बनाएर जाने वा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘विभिन्न तहका साथीहरूसँग सम्पर्क र विचार–विमर्श गरिरहेका छौं । हामी अब एकता अभियान नै सञ्चालन गरेर समग्र कांग्रेस निर्माणको अभियानमा लाग्छौं ।’

कांग्रेसका पुराना शक्तिहरूलाई विस्थापित गर्न ठूलो शक्ति लागिरहेको बेला कांग्रेस आफैं विभाजित भएर अलग–अलग कित्तामा उभिनु उचित नहुने नेता गौतमले बताए ।

‘हामी दुवै पक्षका साथीहरूलाई एकता अधिवेशन नगरी उपाय छैन भनिरहेका छौं, उनले भने, ‘एकअर्काको तेजोवध, मानमर्दन गरेर होइन, समग्र कांग्रेस निर्माणलाई लक्ष्य बनाएर अघि बढ्नुपर्छ । तपाईंहरू जुन बाटोमा हिँडिरहनुभएको छ, त्यो बाटो गलत छ, आफूलाई सच्याउनुस् भनिरहेका छौं ।’

नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पनि पार्टी एकताको अभियानलाई देशव्यापी बनाउने कुरा चलिरहेको बताए । तर, अभियान कहिलेदेखि सुरु गर्ने वा कसरी अघि बढाउने भन्नेबारे अहिले कुनै ठोस निर्णय भने नभएको उनले जानकारी दिए ।

‘पार्टी एकताका लागि डा. शेखर कोइरालाले पहिलेदेखि नै कुरा उठाउँदै आउनुभएको हो । उहाँले पार्टी एकताको अभियानलाई देशव्यापी बनाउने कुरा गर्नुभएको छ,’ थपलियाले भने, ‘तर, अभियान कहिलेदेखि सुरु गर्ने वा कसरी अघि बढाउने भन्नेबारे अहिले कुनै ठोस निर्णय भएको छैन ।’

तिहार मनाउन गृहनगर विराटनगर गएका नेता कोइराला छठ पर्व मनाएर काठमाडौं फर्किएपछि समूहका नेताहरूसँग छलफल अघि बढ्ने स्वकीय सचिव थपलियाले बताए ।

‘अहिले तिहार मनाउन विराटनगर जानुभएको छ । छठ मनाएर काठमाडौं फर्किएपछि आफ्नो समूहका साथीहरूसँग नियमित छलफल र संवाद गर्नुहुन्छ,’ उनले भने, ‘अहिले नै थप केही निर्णय वा कार्यक्रम तय भएको छैन ।’

नेता कोइरालालाई १४औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित नेता बद्री पाण्डेसँगै नेताहरू बलबहादुर केसी, सञ्जयकुमार गौतम, सरिता प्रसाईंले साथ दिएका छन् ।

कोइरालासँगै रहेका अधिकांश नेताहरू संस्थापनको महाधिवेशनमा सहभागी भएका थिए । यस्तै केही नेताहरू देउवा समूहको अधिवेशनमा खुलेका छन् ।

तर, कोइराला र उनलाई साथ दिँदै आएका नेताहरू केही नेताहरू भने दुवै प्रक्रियामा सहभागी भएका छैनन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
20h ago
सरकार कांग्रेसलाई कमजोर बनाउने खेलमा लागेको छ : प्रदीप पौडेल

सरकार कांग्रेसलाई कमजोर बनाउने खेलमा लागेको छ : प्रदीप पौडेल

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप गरी गुटबन्दी बढाउन र पार्टी नेतृत्व कमजोर बनाउ...

#नेतृत्व #कांग्रेस
Compare →
Nagarik News
1d ago
के गर्दैछ कांग्रेस ? एउटै पार्टीमा दुई संगठन, दुई महाधिवेशन र नेतृत्वको दाबी

के गर्दैछ कांग्रेस ? एउटै पार्टीमा दुई संगठन, दुई महाधिवेशन र नेतृत्वको दाबी

देउवा पक्षले वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशनको प्रक्रिया अघि बढाएको छ। समूहले देशभर समानान्तर रूपमा संगठन निर्माण र प्रतिनिधि चयन गरिरहेको छ।

#महाधिवेशन #नेतृत्व #कांग्रेस
Compare →
Ekantipur
18h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612