नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनपीएलकी होस्ट हुन् ।
एनपीएलको चर्चासँगै सामाजिक सञ्जालमा येशा सागर पनि छाएकी छन् । त्यसो त उनी आफैं पनि सामाजिक सञ्जालमा सक्रिय छिन् । हिजो मात्र उनले फेसबुकमा एउटा स्टाटस लेखिन्, ‘कृपया काठमाडौंमा माचा पाइने ठाउँ कहाँ होला ? सुझाव दिनुस् न ।’
म्याचालाई अंग्रेजीमा लेख्दा धेरैलाई लागेछ, उनले माछा खोजेकी हुन् । त्यसैले नेपाली प्रशंसकहरूले जवाफमा उनलाई ताजा माछा पाइने ठाउँहरू बताउन थाले । कसैले मलेखुतिर जानु भने त कसैले अन्य ठाउँको सुझाव दिए । तर, उनले माछा खोजेकी थिइनन् । बरु माचा पिउन खोजेकी थिइन् ।
भनिहालौं, यो पेय पदार्थ चियाका पारखीलाई मात्र थाहा हुन सक्छ । यो एक किसिमको हरियो चिया हो, जसको माग नेपाली बजारमा पनि बिस्तारै बढ्न थालेको छ ।
माचा जापानमा प्रचलित हरियो चियाको एक विशेष प्रकार हो । माचामा एन्टिअक्सिडेन्ट पाइन्छ । यसमा पाइने एल-थियानिन नामक तत्त्वले एकाग्रतामा सहयोग गर्न सक्छ ।
माचा अहिले विश्वभर लोकप्रिय पेय बनेको छ । माचा ल्याटे, आइस्ड माचा, माचा आइसक्रिम र म्याचा केक पनि लोकप्रिय छन् । अहिले नेपालका क्याफेहरूमा पनि माचा विभिन्न स्वादमा उपलब्ध हुन थालेको छ ।