मायादेवी मन्दिर परिसरमा आयोजित महोत्सवमा २५० भिक्षुभिक्षुणी र सात देशबाट आएका करिब १०० उपासक–उपासिका सहभागी भए।
लुम्बिनी — विश्वशान्तिको कामना गर्दै लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा ५ दिने ताक्लुङ काग्यु राष्ट्रिय महाप्रार्थना महोत्सव शुक्रबार सम्पन्न भएको छ ।
मानवलगायत सम्पूर्ण जीवजवातको रक्षा, हित, सुख शान्ति र दीर्घायुको कामना गर्दै महोत्सव अन्तर्गत महान् प्रणिधान प्रार्थना गरिएको थियो । यो प्रार्थना महायानी र तिब्बती परम्परामा सबैभन्दा बढी पाठ गरिने प्रणिधान प्रार्थना मध्ये एक हो ।
काठमाडौंस्थित तीन जना प्रतिष्ठित फडो रिम्पोछे, माफ्तो रिम्पोछे र छेम्टो रिम्पोछेले सहस्र बुद्धको अभिषेक तथा प्रबचन दिएका थिए । कार्यक्रममा दुई सय ५० जना भिक्षुभिक्षुणी सहभागी थिए । त्यस्तै अमेरिका, क्यानाडा, मलेसिया, भियतनाम, चीन, हङकङ र थाईल्याण्डबाट एक सय जना उपासक उपासिका सहभागी रहेको कार्यक्रम संयोजक खेम्पो लोप्हेलले बताए ।
यो कार्यक्रम तिब्बती बौद्ध परम्पराको महत्वपूर्ण पर्व ‘ल्हाबाब दुछेन’ को अवसर पारेर आयोजना गरिएको हो । बौद्ध मान्यताअनुसार बुद्धले देवताहरूको लोकमा आफ्नी मातासहित देवगणलाई धर्मोपदेश दिएपछि पुनः पृथ्वीमा अवतरण गरेको घटनाको स्मरणमा यो पर्व मनाइन्छ । तिब्बती पात्रोअनुसार नवौं महिनाको २२ औं दिनमा मनाइने ल्हाबाब दुछेनलाई बौद्ध धर्मका चार प्रमुख पवित्र पर्वमध्ये एक मानिन्छ ।
मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।