Trending
Prev Story
Next Story

विचार | बालबालिकामा कसरी बढाउने पठन संस्कार ?

Ekantipur •
November 03, 2026 • 03:31 AM
1
1 reads 0 reactions

बालबालिकाले पाठ्यक्रमबाहिरका किताब पढ्न बिताएको समयलाई नोक्सानीका रूपमा हेरिनु हुँदैन । रुचि र उमेरअनुसारका किताब पढ्ने अवसर दिनु उनीहरूको समग्र विकासमा गरिएको लगानी हो।

विचार | बालबालिकामा कसरी बढाउने पठन संस्कार ?

बालबालिकाले पाठ्यक्रमबाहिरका किताब पढ्न बिताएको समयलाई नोक्सानीका रूपमा हेरिनु हुँदैन । रुचि र उमेरअनुसारका किताब पढ्ने अवसर दिनु उनीहरूको समग्र विकासमा गरिएको लगानी हो।

बेलायतको कुनै सानो नगरमा विद्यालयबाट घर फर्केको ६/७ वर्षे बालक झोला बिसाउन नपाउँदै आमाबुबालाई उत्साहपूर्वक सुनाउँछ, ‘आज त मिसले हामीलाई लाइब्रेरी लैजानुभयो । अब म पनि लाइब्रेरीको सदस्य भएँ नि !’

उसले झोलाबाट सदस्यता कार्ड निकालेर देखाउँछ । कार्डमा आफ्नो नाम देख्दा उसको अनुहारमा छुट्टै खुसी छ । अनि ऊ पुस्तकालयमा देखेका किताबका थाक, आफूलाई मन परेको पुस्तक र घरैमा ल्याएर पढ्न पाउनेबारे सुनाउन थाल्छ ।

यो एउटा सामान्य दृश्य हो । तर यसले बालबालिकाको सिकाइ र पढ्ने संस्कार विकास गर्न विद्यालय, अभिभावक र पुस्तकालयबीच कस्तो सम्बन्ध हुन सक्छ भन्ने देखाउँछ । नेपालमा पनि आफ्ना छोराछोरी सक्षम बनून् र भविष्यमा राम्रो अवसर पाऊन् भन्ने चाहना नराख्ने अभिभावक को होलान् र † तर यही चाहनाका बीच एउटा विरोधाभास देखिन्छ । जेन–एक्स भनिने मेरो पुस्ताका धेरै नेपालीको अनुभवमा पाठ्यपुस्तक बाहिरका कथा, उपन्यास वा अन्य पुस्तक पढ्नुलाई समयको बर्बादी ठानिन्थ्यो । अभिभावकले यस्ता पुस्तक पढ्न निरुत्साहित गर्ने, गाली गर्ने वा पढिरहेको पुस्तक नै खोस्ने, मानसिक ताडना दिने गरेको मेरो आफ्नै भोगाइ छ ।

यो चिन्ता विगतको सम्झनामा सीमित छैन । अहिले पनि कतिपय अभिभावकले बालबालिकालाई पाठ्यपुस्तक र परीक्षासँग सम्बन्धित सामग्रीबाहेक अरू किताब पढ्न समय खर्च नगर्न सल्लाह दिन्छन् । उपन्यास, कथा, जीवनी वा विज्ञानसम्बन्धी पुस्तक पढिरहेको देख्दा ‘यस्ता किताबमा के अलमलिएको † कोर्सका किताब पढ’ भनेको सुनिन्छ ।

काठमाडौं विश्वविद्यालयमा सन् २०२२ मा गरिएको सानो गुणात्मक अध्ययन र बालसाहित्यकार कार्तिकेय घिमिरेसँग द काठमान्डु पोस्टले गरेको अन्तर्वार्ता (९ जुन २०१८) ले पाठ्यपुस्तकबाहिरका पुस्तकले पढाइमा नकारात्मक असर गर्छन् भन्ने अभिभावकीय धारणाबारे चर्चा गरेका छन् । हुन त यस्तो सोचको पछाडि छोराछोरीको पढाइप्रतिको चिन्ता छ । सीमित समय परीक्षाको तयारीमा लगाउनुपर्छ भन्ने अभिभावकको तर्क पनि आफ्नै ठाउँमा छ । तर पाठ्यपुस्तकबाहिरका किताब पढ्नु पढाइबाट भाग्नु हो भन्ने बुझाइ सही हो त ?

विद्यालयको पाठ्यक्रमले विद्यार्थीलाई आवश्यक ज्ञान र सीप दिन्छ । तर संसारका सबै कुरा पाठ्यपुस्तकमा समेटिएका हुँदैनन् । कथा पढ्दा बालबालिकाले पात्रका भावना बुझ्न, फरक परिस्थितिको कल्पना गर्न र अरूको दृष्टिकोणबाट सोच्न सिक्छन् । जीवनीले संघर्ष, साहस र धैर्यका उदाहरण दिन्छन् । विज्ञान, इतिहास र भूगोलसम्बन्धी पुस्तकले कक्षाकोठामा उठेका प्रश्नभन्दा पर पुगेर खोज्न प्रेरित गर्छन् ।

पढ्ने बानीले शब्द भण्डार बढाउन, भाषा बुझ्न, विचारलाई स्पष्ट रूपमा व्यक्त गर्न र एकाग्रता विकास गर्न पनि सहयोग गर्छ । नियमित रूपमा पुस्तक पढ्ने बालबालिकाले नयाँ विषयबारे जिज्ञासा राख्ने र आफूले नबुझेका कुरा खोज्ने अवसरका साथै उत्प्रेरणा पनि पाउँछन् । यी सीपको उपयोग भाषालगायत अन्य विषयको अध्ययन र दैनिक जीवनमा पनि हुन्छ र जीवनपर्यन्त हुन्छ ।

यसको अर्थ, किताब पढ्ने हरेक विद्यार्थीले स्वत: उच्च अंक ल्याउँछ भन्ने होइन । तर अन्तर्राष्ट्रिय अनुसन्धानले पढ्ने रुचि र नियमित पठनको सम्बन्ध राम्रो पठन–सीप तथा शैक्षिक उपलब्धिसँग रहेको देखाएको छ । आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) ले विद्यार्थीको पठनसम्बन्धी गतिविधि र पढ्ने रुचि प्रभावकारी सिकाइ तथा राम्रो परीक्षाफलसँग सम्बन्धित रहेको उल्लेख गरेको छ । स्पेनका विद्यार्थीसम्बन्धी एउटा दीर्घकालीन अध्ययनले पनि पुस्तक पढ्ने आवृत्ति र शैक्षिक उपलब्धिबीच सकारात्मक सम्बन्ध देखाएको छ ।

विद्यार्थीहरूमा ‘रमाइलोका लागि पढ्ने’ बानी विकास गर्न बेलायतका धेरै विद्यालयमा साहित्यिक पुस्तक पढेर शिक्षकसँग नयाँ शब्द, कथाको भाव तथा पात्रका विचारबारे छलफल गर्न बिहानी समयमा दैनिक १५–२० मिनेट छुट्याइन्छ । यो अभ्यासले विद्यार्थीको परीक्षामा समेत सकारात्मक प्रभाव पारेको अनुसन्धानले देखाएको छ ।   त्यसैले बालबालिकाले पाठ्यक्रमबाहिरका किताब पढ्न बिताएको समयलाई पढाइको नोक्सानीका रूपमा हेरिनु हुँदैन । बरु उनीहरूलाई रुचि र उमेरअनुसार पढ्ने अवसर दिनु उनीहरूको समग्र विकासमा गरिएको लगानी हो ।

बालबालिकालाई किताब पढ्न प्रेरित गर्न महँगा पुस्तक वा ठूलो निजी पुस्तकालय आवश्यक पर्दैन । उमेर र रुचिअनुसारका केही किताब, पढ्नका लागि नियमित समय र अभिभावकको प्रोत्साहन पर्याप्त सुरुआत हुन सक्छन् । साना बालबालिकालाई कथा सुनाउने, सँगै किताब हेर्ने र उनीहरूले पढेका विषयमा कुराकानी गर्ने बानीले पुस्तकप्रति आत्मीयता बढाउँछ ।

अभिभावकले पनि किताब पढ्ने बानी देखाउन सक्छन् । छोराछोरीलाई मात्र पढ्न लगाउने तर आफूले कहिल्यै किताब नपढ्ने हो भने पढाइको महत्त्व बुझाउन कठिन हुन्छ । त्यस्तै, बालबालिकाले आफूलाई मन परेको किताब रोज्न पाउनु महत्त्वपूर्ण छ । सबैले एउटै प्रकारका पुस्तक मन पराउँदैनन् । कसैलाई कथा मन पर्छ, कसैलाई जीवनी, कसैलाई विज्ञान वा चित्रकथा । पढाइलाई सजाय वा बाध्यता होइन, रमाइलो र खोजको अवसर बनाउन सक्नुपर्छ ।

विद्यालयले बालबालिकालाई पुस्तकालयसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । विद्यालयको पुस्तकालय भए पनि त्यसलाई पाठ्यपुस्तक वा सन्दर्भ सामग्री राख्ने ठाउँमा मात्र सीमित नगरी विद्यार्थीलाई नियमित रूपमा पुस्तकालयमा जाने, किताब छान्ने, घरमा लगेर पढ्ने र आफूले पढेको पुस्तकबारे साथीहरूसँग छलफल गर्ने अवसर दिन सकिन्छ ।

विद्यालय नजिकै सार्वजनिक वा सामुदायिक पुस्तकालय छ भने शिक्षकहरूले विद्यार्थीलाई त्यहाँ लैजाने व्यवस्था गर्न सक्छन् । पहिलो पटक पुस्तकालय पुग्ने बालबालिकालाई सदस्यता लिन, किताब खोज्न र घरमा लगेर पढ्न पाउने प्रक्रियाबारे जानकारी दिन सकिन्छ । पुस्तकालयमा नियमित पठन समूह, पुस्तक परिचर्चा र बिदाको समयमा पढ्ने कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यस्ता गतिविधि बालबालिकालाई किताबसँग परिचित गराउने माध्यम मात्र होइनन्, पुस्तकालयलाई उनीहरूको दैनिक जीवनको स्वाभाविक हिस्सा बनाउने अवसर पनि हुन् ।

नेपालमा सबै विद्यालयसँग पर्याप्त पुस्तकालय वा सबै बालबालिकाको पहुँचमा सार्वजनिक पुस्तकालय नहुन सक्छ । त्यसैले स्थानीय तह, विद्यालय र समुदायले उपलब्ध स्रोत अनुसार सहकार्य गर्न आवश्यक छ । सुरुमा ठूलो भवन वा धेरै पुस्तकको संग्रह नै चाहिन्छ भन्ने छैन । बालबालिकाका लागि उमेर र रुचि अनुसारका उपयुक्त किताब, नियमित खुल्ने व्यवस्था, घरमा किताब लैजान पाउने सुविधा र उनीहरूलाई पुस्तकालयसम्म पुर्‍याउने सक्रिय प्रयासबाट पनि सुरुआत गर्न सकिन्छ ।

हो, बालबालिकाले पाठ्यपुस्तक पढ्नुपर्छ, परीक्षाको तयारी गर्नुपर्छ । तर उनीहरूको सिकाइ त्यतिमै सीमित हुनु हुँदैन । आज उनीहरूले रुचिले पढेको एउटा कथाले भोलि नयाँ प्रश्न सोध्ने, नयाँ विषय खोज्ने वा संसारलाई फरक दृष्टिले हेर्ने आधार बनाउन सक्छ ।

फेरि त्यही बालकको दृश्य सम्झौं, जो विद्यालयबाट फर्केर आफ्नो पुस्तकालय सदस्यता कार्ड आमाबुबालाई देखाउँदै खुसी हुन्छ । त्यो सानो कार्ड केवल पुस्तकालयको सदस्यताको प्रमाण होइन, किताब रोज्ने स्वतन्त्रता, आफ्नो रुचि पछ्याउने अवसर र जीवनभर सिकिरहने यात्राको सुरुआत पनि हो । उसको आत्मविश्वास र जिम्मेवारीबोधतर्फको पाइलासमेत हो ।

हाम्रा बालबालिकाले पनि त्यस्तै उत्साहका साथ भन्न सकून्, ‘आज म पुस्तकालय गएँ, मलाई मन परेको किताब ल्याएँ ।’ त्यसका लागि अभिभावकले पाठ्यपुस्तकबाहिरको पढाइलाई समयको बर्बादी ठान्ने सोच बदल्नुपर्छ, विद्यालयले पठन संस्कारलाई प्रोत्साहन गर्नुपर्छ र पुस्तकालय बालबालिकाको पहुँचमा हुनुपर्छ । पढ्ने बानी परीक्षाका लागि मात्र होइन, जीवनका लागि हो ।

सुदर्शन पौड्याल सामाजिक र शैक्षिक विषयमा रुचि राख्छन् । उनी बेलायतमा अध्यापनरत छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
कथा सुन्दै बालबालिकाले निःशुल्क पढ्न र घर लैजान पाउने पुस्तकालय

कथा सुन्दै बालबालिकाले निःशुल्क पढ्न र घर लैजान पाउने पुस्तकालय

ललितपुर । सहरमा बालबालिकाले खेल्दै, रमाउँदै पढ्न पाउने पुस्तकालयको अभाव छ । उनीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि पाठ्यक्रम बाहिरका पुस्तकको अध्ययन पनि उत्तिकै जरुरी हुन्छ । बालबालिकाको सर्व...

#पढ्न #बालबालिका
Compare →

Related Stories

Opinion & Editorial
Build #2612