कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनायो, जसमा आरिफुल इस्लामले सर्वाधिक ४४ रन जोडे।
कर्णाली याक्सले नेपाल प्रिमियर लिग क्रिकेटमा सोमबार काठमान्डु गोर्खाजलाई १ सय ८१ रनको लक्ष्य दिएको छ ।
काठमान्डुका कप्तान करण केसीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८० रन बनाएको हो ।
लगातार तेस्रो जितको दाउमा रहेको कर्णालीबाट बंगलादेशी ओपनर आरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बल खेली ५ चौका र ३ छक्का प्रहार गरे । अर्का बंगलादेशी ओपनर जिसन आलम ७ रन बनाई आउट भए ।
मार्क वाटले २० बल खेली २ चौकासहित १७ रन बनाए । दीपक डुम्रे ८ रनमा आउट भए । पाकिस्तानी खेलाडी हुसैन तलात ४० रन बनाई हिट विकेट भए । काठमान्डुबाट खेलिरहेका अर्का पाकिस्तानी खेलाडी जहान्दाद खानले तलातलाई हिट विकेट गराए । तलातले ३० बल खेली १ चौका र २ छक्का प्रहार गरे ।
गुलशन झाले १२ बल खेली २ छक्का प्रहार गर्दै २० रन बनाए । पवन सर्राफ र सोमपाल कामी १–१ रनमा अविजित रहे । पवनले २४ बल खेल्दै २ छक्का प्रहार गरे ।
काठमान्डुबाट करणले २ विकेट लिए । उनले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । त्यस्तै जहान्दाद, शाह आलम, सन्तोष यादव र देव शाहले १–१ विकेट लिए । काठमान्डुको यो दोस्रो खेल हो । टोली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।