रोजगारीका लागि घरबाहिर रहेकाहरू दसैं मनाउन गाउँ फर्किरहेका छन्। तर, बैतडीको मेलौली नगरपालिका–५ का करन भट्ट भने दसैंको टीका नै नलगाई विदेशिएका छन्।
बैतडी — गाउँघरमा दसैंको रौनक छाएको छ। घरआँगनमा लिपपोत भइरहेको छ। बजारमा किनमेल गर्नेको भीडभाड छ। रोजगारीका लागि घरबाहिर रहेकाहरू दसैं मनाउन गाउँ फर्किरहेका छन्। तर, बैतडीको मेलौली नगरपालिका–५ का करन भट्ट भने दसैंको टीका नै नलगाई विदेशिएका छन्।
परिवारसँगै बसेर दसैं मनाउने रहर उनलाई पनि थियो। श्रीमती, दुई छोरा र एक छोरीसँगै बसेर खुसी साट्ने, मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिने चाहना उनको पनि थियो। तर, बेरोजगारी र आर्थिक अभावले उनको रहर पूरा हुन दिएन। परिवारको खर्च धान्नै मुस्किल भएपछि दसैंको मुखमा युरोपका देश जान लागेको उनले न्यास्रो स्वरमा बताए।
करनका लागि दसैं केवल चाडपर्व मात्र होइन, परिवारसँग आत्मीयता साट्ने र खुसी मनाउने अवसर पनि थियो। तर, यसपटक उनको जीवनमा दसैंको उल्लासभन्दा परिवारप्रतिको जिम्मेवारी ठूलो बनेको छ। घरमा रहेका श्रीमती र छोराछोरीको आवश्यकता पूरा गर्ने जिम्मेवारी आफ्नै काँधमा रहेकाले दसैंकै बेला विदेशिनुपरेको उनले बताए।
नेपालमै रोजगारी नपाउँदा परिवारको खर्च जुटाउन धौधौ भएपछि उनी बाध्यताले विदेशिनुपरेको हो। आफ्नै ठाउँमा श्रम गरेर परिवारसँगै बसेर जीवन बिताउने सपना उनको पनि थियो। तर, आफ्नै देशमा श्रम गर्ने अवसर नपाएपछि परिवारबाट टाढा विदेश जानुपर्दा मन अमिलो भएको करनले बताए।
‘आफ्नै देशमा काम गरेर परिवार पाल्न सकिने अवस्था भएको भए दसैंको मुखमा विदेश जाने थिइनँ,’ उनले भने, ‘यी लालाबाला र श्रीमतीलाई छोडेर टाढिनुपर्ने थिएन।’
आर्थिक अभाव र बेरोजगारीले उनलाई आफ्ना रहरभन्दा परिवारको खुसीलाई प्राथमिकता दिँदै विदेश जान बाध्य बनाएको छ।
गाउँघरमा दसैं मनाउन फर्किनेहरूको लर्को लागिरहेका बेला करन भने घर छोडेर युरोपतर्फ लम्किरहेका छन्। गाउँघरमा दसैं मनाउने तयारी भइरहँदा उनी भने नयाँ ठाउँमा पुगेर रोजगारी खोज्ने र परिवारको भविष्यका लागि संघर्ष गर्ने तयारीमा छन्।
अरूका लागि दसैं भेटघाट र खुसीको पर्व बनेको छ भने करनका लागि परिवारको जिम्मेवारी पूरा गर्न आफ्नै खुसी त्याग्नुपर्ने अवस्था बनेको छ। उनको विदेश यात्रा रहरले रोजेको बाटो होइन, बाध्यताले देखाएको विकल्प हो।
आफ्नै देशमा रोजगारी गरेर परिवार पाल्न चाहने उनीजस्ता धेरै युवा अवसरको अभावमा विदेशको बाटो रोज्न बाध्य छन्। देशभित्रै रोजगारीका अवसर र लगानीमैत्री वातावरणको अभाव हुँदा श्रम गर्न सक्ने जनशक्ति विदेश पलायन भइरहेको छ।
करनको अवस्था एउटा परिवारको आर्थिक संकटको कथा मात्र होइन। यो देशमा रोजगारी नपाउँदा सामान्य मजदुरीबाट परिवार पाल्न कठिन हुने र आफ्नै देशमा केही गर्न पुँजी तथा अवसर नहुँदा विदेशिनुपर्ने बाध्यताको प्रतिनिधि उदाहरण पनि हो।
मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।