नेपाल–भारत सीमावर्ती सहर वीरगन्ज लागुऔषध तस्करीको मुख्य ‘ट्रान्जिट पोइन्ट’ बन्दै गएको छ । असोजमै दुई दर्जन जना पक्राउ परेका छन् ।
पर्सा — नेपाल–भारत सीमावर्ती सहर वीरगन्ज लागुऔषध तस्करीको मुख्य ‘ट्रान्जिट पोइन्ट’ बन्दै गएको छ । खुला सीमाको फाइदा उठाउँदै भारतीय बजार रक्सौलबाट नेपालतर्फ लागुऔषध भित्र्याउने क्रम वर्षेनी बढ्दो छ । जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको असोज महिनाको तथ्याङ्कले सीमा क्षेत्रमा लागुऔषधको भयावह चित्र उजागर गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको असोज महिनाको तथ्याङ्कअनुसार लागुऔषध ओसारपसार र तस्करीमा संलग्न २४ जना (दुई दर्जन) व्यक्ति पक्राउ परेका छन् । प्रहरीले यस अवधिमा लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले असोज महिनामा ठूलो परिमाणमा विभिन्न प्रकारका लागुऔषधसमेत बरामद गरेको छ । बरामद गरिएका लागुऔषधमा ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम रहेका छन् ।
वीरगन्जसँग जोडिएको भारतीय सहर रक्सौलमा नेपालमा प्रतिबन्धित रहेका विभिन्न किसिमका औषधि, कफ सिरप र ट्याब्लेट सहजै खरिद–बिक्री हुने गरेका छन् । भारतीय बजारमा सहजै उपलब्ध हुने र नेपालमा यसको माग उच्च हुने भएकाले कारोबारीहरूले युवाहरूलाई प्रयोग गरी भन्सार छलेर लागुऔषध भित्र्याउने गरेका छन् ।
प्रहरीले सीमा नाकामा जाँचबुझ कडा पारे पनि चोरबाटो प्रयोग गरी लागुऔषध भित्र्याउने गिरोह सक्रिय छ । पक्राउ परेकामध्ये अधिकांश भरिया मात्र हुने र मुख्य लगानीकर्तासम्म प्रहरी पुग्न नसक्दा यो समस्या नियन्त्रणबाहिर जाँदै गरेको छ । पछिल्लो समय युवा पुस्ता र विद्यालय तहका विद्यार्थीसमेत यसको दुर्व्यसनमा फस्दै गएकाले समाजमा अन्य आपराधिक गतिविधिसमेत बढ्ने खतरा पैदा भएको छ । लागुऔषधको यो बढ्दो जालो तोड्न सीमा नाकामा अत्याधुनिक प्रविधिको प्रयोग र दुवै देशका सुरक्षा निकायबीच थप ठोस समन्वय आवश्यक देखिएको छ ।
पर्सा प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले प्रहरीले आफ्नो साधनस्रोतले भ्याएसम्म लागुऔषध तस्करी नियन्त्रणको प्रयास गरिरहेको बताए ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।